arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मध्यएशिया र यूरोप पहुँचका लागि उत्तरी पारवहन 

चीनको यातायात सञ्जालमा जोडिँदाको उपलब्धि 

Dec 2, 2019  
लेख | दृष्टिकोण
NA
author avatar कृष्णराज बजगाईं

चीन प्रवर्द्धित बेल्ट एन्ड रोड इनिसियटिभका दुईओटा शाखामध्ये एउटा शाखामा नेपाल जोडिइसकेको छ । यसका लागि नेपालले चीनका ६ ओटा बन्दरगाहमा पहुँच प्राप्त गरिसकेको छ । यी बन्दरगाहमार्फत पूर्वी एशियासँग नेपालको पहुँच सहज भएको छ । भारततर्फ पनि कोलकाता र विशाखात्तनम् बन्दरगाहमार्फत नेपाल बाँकी विश्वसँग जोडिएको छ । नेपाललाई पश्चिम भारतको गुजरातमा रहेको मुन्द्रा बन्दरगाह पनि प्राप्त हुने चरणमा छ । उक्त बन्दरगाह प्राप्त भएको खण्डमा अरब सागरसम्म नेपालको सहज पहुँच स्थापित हुनेछ । मुन्द्रा बन्दरगाह प्राप्त भएपछि पश्चिम नेपालको आयातनिर्यात व्यापारमा ढुवानी खर्चमा ठूलो कटौती हुने देखिन्छ । यसरी कोलकाता बन्दरगाह केन्द्रित नेपालको अन्तरराष्ट्रिय व्यापार प्रवाहमा हाल धेरै छनोट नेपाललाई प्राप्त हुने चरणमा छन् । 

अब नेपालले जोडिन बाँकी क्षेत्र भनेको मध्यएशिया हो । मध्यएशिया भनेको चीन प्रवद्र्धित आधुनिक रेशममार्गको मेरूदण्ड हो । तसर्थ नेपालले अब आफ्नो कूटनीतिक पहललाई मध्यएशियासँग जोडिनेतर्फ केन्द्रित गर्नुपर्छ । मध्यएशियासँग नेपाललाई जोड्ने सबैभन्दा उपयुक्त मार्ग भनेको रेशममार्गको पश्चिमी हाँगो नै हो, जो काशगर र उरुम्ची हुँदै पाकिस्तान, अफगानिस्तान, किर्गिजस्तान, उज्वेकिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान, कजाकस्तान र त्यो भन्दा पनि पर यूरोपसँग पुग्छ । यो मार्गमा चीनले बहुविधिक यातायात सञ्जालको विकास तीव्र गतिमा विकास गर्दै छ । 

नेपालको उत्तरी सीमाको समानान्तर हुँदै मध्यएशिया जोड्ने संगमविन्दु काशगरसम्म चीनले सडक सञ्जाल विकास गरिसकेको छ । काशगर र उरुम्ची रेल सञ्जालमा जोडिइसकेका छन् । यी दुईओटा शहरलाई मध्यएशियाको प्रवेशविन्दुका रूपमा विकास गर्न चीनले आर्थिक, प्रशासनिक र भौतिक संचरनाहरूको विकास गरिरहेको छ । काशगरबाट क्वादरसम्मको चीन–पाकिस्तान इकोनोमिक कोरिडोर सञ्चालनमा आइसकेको छ । यसैले मध्यएशिया नेपालका लागि पहुँचका दृष्टिबाट असहज छैन ।

चीन–किर्गिस्तान–उज्वेकिस्तान राजमार्ग, निर्माणाधीन तुर्केमेनिस्तान–ताजकिस्तान–अफगानिस्तान रेलमार्ग, चीन–कजाकस्तान रेल तथा सडक सञ्जाल तथा मध्यएशिया हुँदै एटलान्टिक महासागरका बन्दरगाह जोड्ने ३५ ओटा चिनियाँ रेल सञ्जालको सञ्चालनसँगै यो भूखण्ड विश्व व्यापारको मूलधारमा जोडिसकेको छ । 

मध्यएशिया र युरोप जोड्ने ल्हासा–काशगर–उरुम्ची कोरिडोर 
मध्यएशिया र चीनबीच बढ्दो ऊर्जा सहकार्य र तेल र ग्यासका पाइपलाइन निर्माण हुने क्रमसँगै यो रेशममार्ग ऊर्जा कोरिडोरका रूपमा पनि रूपान्तरण हुन गइरहेको छ । खोरगोसलाई कजाकस्तानसँगको व्यापारको केन्द्र बन्ने गरी सुक्खा बन्दरगाहका रूपमा विकास गरिँदै छ । चिङहाई तिब्बत रेलमार्गलाई विस्तार गरी काशगरसम्म पुर्‍याउने चिनियाँ योजनाले यो क्षेत्रमा थप नयाँ आर्थिक गतिविधिहरूको सृजना हुने देखिन्छ । यसरी काशगर र उरुम्ची चीन र यूरोप जोड्ने मध्यविन्दुका रूपमा विकास भइरहेको छ । 

ऐतिहासिक रूपमा पनि यो मार्ग नेपालले परम्परागत रूपमा प्रयोग गर्दै आएको हो । दार्चुलाको व्यास क्षेत्र र हुम्लाको यारी क्षेत्र हुँदै काशगरसम्म व्यापार हुने गरेको थियो । पृथ्वीनारायण शाहको व्यापार नीतिमा पनि रेशममार्गमार्फत हुने दक्षिण एशियाको व्यापार नेपालमार्फत हुने परिस्थिति सृजना गर्नु नै रहेको थियो जुन रणनीति सन् १९२३ सम्म कायमै थियो । नेपालको भूराजनीतिक उपस्थिति र नेपालको उत्तरतिर चामत्कारिक रूपमा विकास भइरहेका सडक र रेलमार्गको सञ्जालका कारण दक्षिण एशियाको रेशममार्गमार्फत हुने व्यापारमा पुनः नेपालको हात माथि हुने परिस्थिति सृजना भएको छ । 

रेशममार्गलाई आर्थिक गतिविधिहरूको केन्द्र बनाउने चिनियाँ रणनीति रहेको छ । रेशममार्गमा जोडिने गरी नेपालबाट गरिने प्रस्तावमा चीन सकारात्मक हुन्छ नै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको रूस भ्रमणपछि नेपाल र रूसबीच पुनः आर्थिक विषयहरू प्राथमिकतामा पर्ने देखिएको छ । रूससँग नेपाल जोडिने छोटो मार्ग भनेको पनि मध्यएशियाबाट अघि बढेको आधुनिक रेशममार्ग नै हो । 

यो मार्गमा नेपालको पहुँच स्थापना भएको खण्डमा नेपालबाट चीज, चिया, अलैंची, अदुवा, जडीबुटी, फलपूmल आदि वस्तुहरू मध्यएशिया, अफगानिस्तान, पाकिस्तान तथा रूसमा निर्यात गर्न सकिने सम्भावना छ । अर्कोतिर अहिलेको भन्दा सुलभ मूल्यमा छोकडा, अंगुर लगायत ड्राइफ्रुट, चिनी, छालाका उत्पादनहरू, ऊन, कपास, ग्यास, पेटोलियम पदार्थ जस्ता वस्तु ती मुलुकबाट आयात गर्न सकिने सम्भावना छ । 

भारत र पाकिस्तानको तिक्त सम्बन्धका माझ दक्षिण एशियाका उत्पादनहरूलाई यही मार्गमार्फत मध्यएशिया, पाकिस्तान, अफगानिस्तान र रूससम्म पुर्‍याउने र ती देशका उत्पादन दक्षिण एशियासम्म पुर्‍याउने संगमविन्दु पनि नेपाल बन्ने आधारहरू देखिएका छन् । 

मध्यएशिया–उरुम्ची–काशगर–कैलास–मानसरोवर–हिमालय क्षेत्र विश्वकै अद्भुत पर्यटकीय मार्ग हो । यो मार्गमा पर्यटन आवागमन हुने गरी नेपाललाई जोड्न सकेको खण्डमा नेपालको पर्यटनमा आमूल परिवर्तन हुने निश्चित छ ।  

उपर्युक्त परिस्थितिलाई दृष्टिगत गरी काशगर र उरुम्चीमार्फत मध्यएशिया जाने पारवहन मार्गका लागि नेपाल र चीनबीच वार्ता प्रारम्भ हुन जरुरी छ । यसका लागि प्राज्ञिक, आर्थिक, प्रशासनिक, कूटनीतिक र राजनीतिक पहलकदमीको खाँचो छ । यसै गरी काशगर जोड्ने नेपालको सबैभन्दा नजीकका क्षेत्रहरू दार्चुलाको व्यास क्षेत्र र हुम्लाको यारी क्षेत्रमा व्यापारिक सुविधासहितका सुक्खा बन्दरगाहहरूको द्रुत विकास हुन पनि जरुरी छ । 

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्