arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अतिरिक्त कर फिर्ता नगरे व्यापार सम्झौता हुँदैन : चीन

Dec 2, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


पेचिङ (चीन) । चीनले पहिलो चरणको व्यापार सम्झौताका लागि अमेरिकाले आफ्ना सामग्रीमा लगाएको अतिरिक्त भन्सार फिर्ता गर्नुपर्ने अडान लिएको छ । आइतवार चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार डिसेम्बर १५ देखि लागू हुने गरी अमेरिकाले घोषणा गरेको अतिरिक्त भन्सार बढाउने निर्णय फिर्ता लिनुपर्ने अडान चीनले राखेको हो । यससँगै अमेरिका–चीन व्यापार सम्झौताको अन्योल झनै बढेको छ । 

गत मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले अमेरिका १६ महीना लामो व्यापारयुद्ध अन्त्य गर्न अन्तिम झमेलामा रहेको बताएका थिए । चिनियाँ समकक्षी सी चिनफिङले व्यापार सम्झौताको इच्छा रहेको बताएपछि ट्रम्पको यस्तो भनाइ आएको हो । दुवै मुलुकका व्यापार प्रतिनिधिहरूले पनि निरन्तर व्यापार सम्झौताको लागि प्रयास भइरहेको र वार्ता सकारात्मक रहेको बताउँदै आएका छन् । 

गत महीना अमेरिकाका एक विश्लेषकले अमेरिका–चीन व्यापार सम्झौतामा सन् २०२० सम्म हस्ताक्षर हुनसक्ने बताएका थिए । यो सम्झौतामा नोभेम्बरको अन्तिमसम्ममा हस्ताक्षर हुने कार्यतालिका थियो । तर, चीनले अतिरिक्त आयात कर फिर्ता लिनुपर्ने बताएसँगै व्यापार सम्झौताको समय लम्बिएको हो । 

चीनले व्यापार वार्ताका लागि अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटथाइजर र स्टिभिन म्नुशिनलाई बोलाएको थियो । व्यापार सम्झौताको निधो भएको खण्डमा मात्र अमेरिकी प्रतिनिधिले चीनको भ्रमण गर्ने विश्लेषकहरूले बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्