arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्ल्याक फ्राइडेको विक्री अहिलेसम्मकै धेरै

Dec 2, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी उपभोक्ताहरुले ब्ल्याक फ्राइडेमा अहिलेसम्मकै धेरै खर्च गरेका छन् । बजार अनुसन्धाता कम्पनी अडोब एनालिटिक्सले संकलन गरेर राखेको डेटाले यस्तो देखाएको हो । तथ्यांकअनुसार यस वर्षको ब्ल्याक फ्राइडेमा अमेरिकी उपभोक्ताहरूले अनलाइनमार्फत ७ अर्ब ४० करोड डलरको सामग्री किनेका छन् । ब्ल्याक फ्राइडेमा यो अहिलेसम्मकै उच्च विक्री भएको अडोबको तथ्यांकले देखाएको छ । अमेरिकामा अनलाइन शपिङ डेको इतिहासमा यो दोस्रो ठूलो कारोबार हो । गत वर्ष साइबर मन्डेमा ७ अर्ब ९० करोड डलर बराबरको अनलाइन विक्री भएको थियो । यो अहिलेसम्मकै उच्च भएको बताइएको छ । 

ब्ल्याक फ्राइडेमा औसतमा प्रति उपभोक्ता अर्डरको मूल्य १६८ डलर रहेको छ । अर्डरको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत धेरै भएको बताइएको छ । अडोबले अमेरिकाका शीर्ष सय अनलाइन खुद्रा विक्रेतामध्ये ८० ओटामा भएको कारोबारको मापन गरेको थियो । ‘स्मल बिजनेश स्याटर्डे’मा पनि बिहान ९ बजेसम्म ४७ करोड डलर बराबरको अनलाइन खर्च भएको बताइएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत धेरै हो । यस वर्ष ‘स्मल बिजनेश स्याटर्डे’को विक्री समेत ३ अर्ब डलर नाघ्ने अडोबको भनाइ छ । 

‘क्रिसमस नजिकिँदै गरेकोले उपभोक्ताले लाइनमा बसेर खरीदारी गर्नु भन्दा मोबाइलबाटै अर्डर बढाइरहेका छन्,’ अडोब डिजिटल इन्साइट्सका प्रमुख तथा प्रधान विश्लेषक टेलर श्रेनरले एक विज्ञप्तिमा भने । ठूला खुद्रा विक्रेताहरूले दिन नसक्ने अद्वितीय उत्पादन वा सेवा दिने साना खुद्रा विक्रेताहरूले गर्दा स्मल बिजनेश स्याटर्डेको विक्री बढाएको उनको भनाइ छ । अडोबका अनुसार गत वर्षको तुलनामा अनलाइन विक्री २० प्रतिशत बढेको छ । 

अनलाइन कारोबारमा भएको यो वृद्धिले उपभोक्ताहरू स्टोरमा नगइकन अनलाइनबाटै छूटमूल्यमा ठूला वस्तुहरू किन्नेप्रति सहज बन्दै गइरहेको संकेत गरेको छ । यस वर्ष साइबार मन्डेमा उपभोक्ताहरूले ९ अर्ब ४० करोड डलर खर्च गर्ने अपेक्षा अडोबले गरेको छ । यो गत वर्षको तुलनामा १८ दशमलव ९ प्रतिशत धेरै हुनेछ । उपभोक्ताहरूले थ्याङ्क्सगिभिङ डेमा ४ अर्ब २० करोड डलर खर्च गरिसकेका छन् । यो गत वर्षको तुलनामा १४ दशमलव ५ प्रतिशत धेरै हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्