arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पूर्वाधार विकासमा हजार खर्ब भारु लगानी गर्दै भारत

Dec 2, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


नयाँ दिल्ली (भारत) । भारतले आगामी ५ वर्षमा अर्थतन्त्रलाई टेवा दिन एक हजार खर्ब भारतीय रुपया लगानी गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिवार सरकारको उक्त योजना सार्वजनिक गरेकी हुन् । 

भारतको अर्थतन्त्र ६ वर्षकै सबैभन्दा सुस्त बनेको तथ्यांक सार्वजनिक भएको भोलिपल्ट भारतीय अर्थमन्त्रीले यस्तो योजना सार्वजनिक गरेकी हुन् । भारतले शुक्रवार सन् २०१९ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक गरेको थियो । यो तथ्यांक सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आर्थिक सुधारका कार्यक्रम अघि सार्न दबाब बढेको छ । 

भारतले लगानी गर्न लागेको रकममध्ये धेरै रकम पाइपलाइन निर्माणको कार्यमा खर्च हुने सीतारमणले बताएकी छिन् । भारतको मुम्बई शहरमा भएको एक व्यावसायिक सम्मेलनलाई सम्बोधन गर्दै सीतारमणले यस्तो बताएकी हुन् । उनले अहिले भारतको १० ओटा योजनाको अन्य काम सकिएको र अबको दुई साताभित्र १० ठूला परियोजना घोषणा गरिने बताएकी हुन् ।

सन् २०१४ देखि सत्तामा आएका मोदीले विदेशी लगानी बढाउँदै भारतीय अर्थतन्त्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर, भारत उनको घोषणा अनुसारको आर्थिक सुधारको लागि संघर्ष गरिरहेको छ । पूर्वाधारको अभावको कारण पनि भारतमा आशा गरिएअनुसारको प्रतिफल हासिल हुन नसकेको विश्लेषकहरूले बताएका छन् ।  

गत मे महीनामा भएको निर्वाचनमा पुनः ५ वर्षको लागि निर्वाचित भएका मोदीले आर्थिक सुधारका लागि कर्पोरेट कर घटाउने, सरकारी कम्पनीलाई निजीकरण गर्नेलगायतका योजना अघि सारेका थिए । तर, अहिले केही आर्थिक सूचकले भारतको आन्तरिक खपत निकै कमजोर रहेको देखाएको छ । साथै केही अर्थविद्ले अबको दुई वर्षसम्म भारतको अर्थतन्त्रको सुस्ती जारी रहने बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्