arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेल उत्पादन कटौती जारी राख्ने ओपेकको तयारी

Dec 3, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


दुबई (यूएई) । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकले कम्तीमा सन् २०२० को जुनसम्म तेल उत्पादनको कटौतीलाई निरन्तरता दिने भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार साउदी अरेबियाले घरेलु कम्पनी अराम्कोको आईपीओ जारी हुनुभन्दा अघि बजार सकारात्मक होस् भन्नका लागि तेल उत्पादन कटौती गर्नुपर्नेमा जोड दिएको छ । 

ओपेक र उसका सहयोगी मुलुकको बीचमा यस विषयमा आधिकारिक रूपमा कुनै सम्झौता नभए पनि प्रतिदिन ४ लाखदेखि अहिले जारी रहेको १२ लाख ब्यारेलसम्मको तेल उत्पादनमा कटौती हुनसक्ने यसबारे जानकार दुई स्रोतले जानकारी दिएका छन् । ओपेक र उसका सहयोगी मुलुकले कटौती गर्दै आएको तेल विश्वको समग्र आपूर्तिको १ दशमलव २ प्रतिशत हो । तेल उत्पादनमा थप कटौती नगरिए आगामी दिनमा अत्यधिक आपूर्तिको समस्या आउने र यसले बजारमा असन्तुलन आउने विश्लेषकले चेतावनी दिँदै आएका छन् । 

स्रोतका अनुसार अहिले रूस तेल उत्पादनमा कटौती नगर्ने पक्षमा छ भने साउदी उसलाई मनाउन लागिपरेको छ । ओपेकको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदीका लागि तेलको बजार सन्तुलनमा रहनु आवश्यक छ । अराम्कोको आईपीओ जारी हुने समयमा तेल बजार सन्तुलित अवस्थामा राख्ने प्रयासमा साउदी लागेको हो । त्यसैले रूसलाई मनाउने प्रयासमा साउदी देखिएको हो । ओपेक तथा उसका सहयोगी मुलुकले तेल उत्पादनमा कटौती गर्दै आए पनि तेलको भाउमा अनुमान गरिएअनुसारको वृद्धि भने भएको छैन । एजेन्सी

तेलको भाउ बढ्यो
लन्डन (बेलायत) । तेल उत्पादनमा थप कटौती हुनसक्ने समाचार सार्वजनिक भएसँगै सोमवार विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । साथै चीनको म्यानुफ्याक्चरिङ गतिविधिमा सुधारको समाचारले पनि कच्चा तेलको भाउमा टेवा दिएको हो । 

सोमवार यो समाचार तयार पार्दासम्म साँझको साढे ६ बजे ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल १ डलर ५१ सेन्ट बढेर ६२ डलरमा पुगेको थियो । त्यस्तै वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि प्रतिब्यारेल १ डलर ४० सेन्ट बढेर ५६ डलर ५७ सेन्टमा पुगेको थियो । ओपेक र उसका सहयोगी मुलुकले तेल उत्पादनमा ३ वर्षदेखि सहकार्य गर्दै आएका छन् । यसअघि गत शुक्रवार अमेरिका–चीन व्यापार सम्झौता थप अन्योलमा परेको समाचारसँगै तेलको भाउ घटेको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्