arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनको औद्योगिक गतिविधिमा अनपेक्षित वृद्धि

Dec 3, 2019  
अन्तरराष्ट्रिय
Image Not Found


पेचिङ (चीन) । चीनको औद्योगिक क्षेत्रको गतिविधि अपेक्षा गरिएभन्दा धेरै बढेको छ । बजार अनुसन्धाता संस्था खाइसिन र मार्किटले गरेको सर्वेक्षणअनुसार नोभेम्बरमा म्यानुफ्याक्चरिङ क्षेत्रको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ५१ दशमलव ८ अंक रहेको छ । सुधारको यो गति सन् २०१६ को डिसेम्बरयताकै सुदृढ भएको एक संयुक्त विज्ञप्तिमा खाइसिन र आईएचएसले बताएको छ । 

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरूले भने नोभेम्बरमा पीएमआई ५१ दशमलव ४ प्रतिशतमा झर्ने बताएका थिए । अक्टोबरमा भने सूचक ५१ दशमलव ७ अंक थियो । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि झल्काउने सूचक ५० अंक भन्दा माथि रहेमा सो क्षेत्रमा विस्तार भइरहेको भन्ने बुझाउँछ । पीएमआईको तथ्यांकले चीनको म्यानुफ्याक्चरिङ क्षेत्रको स्वास्थ्यमा मध्यम सुधार आइरहेको संकेत गरेको विज्ञप्तिमा बताइएको छ । 

उत्पादन र नयाँ व्यावसायिक अर्डरमा आएको सुदृढ वृद्धिका कारण पीएमआई बढेको हो । औद्योगिक क्षेत्रमा रोजगारी मूलतः स्थीर नै रहेको बताइएको छ । अक्टोबरमा ४९ दशमलव ३ अंक रहेको सरकारी पीएमआई सूचक बढेर नोभेम्बरमा ५० दशमलव २ अंकमा पुगेको शनिवार राष्ट्रिय तथ्यांक कार्यालय (एनबीएस)ले सार्वजनिक गरेको तथ्यांकले देखाएको थियो । सरकारी पीएमआई सर्वेक्षणमा ठूला व्यवसाय र राज्यनियन्त्रित कम्पनीहरू समावेश गरिन्छ । 

खाइसिन सूचकमा भने लघु तथा मझौला आकारको कम्पनीहरू समावेश गरिन्छ । पछिल्लो सर्वेक्षणले गत महीना विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा सुधार आइरहेको संकेत गरेको परामर्शदाता कम्पनी क्यापिटल इकोनोमिक्समा वरिष्ठ चिनियाँ अर्थशास्त्री जुलियान इभान्स प्रिटचार्डले भने । लामो समयदेखि अमेरिका र चीनबीच चलिरहेको व्यापार विवादका कारण हालैका महीनामा चीनको औद्योगिक उत्पादन घटेको थियो । 

नीति र बजारको अवस्थाबारे छाएको अनिश्चयका कारण नोभेम्बरमा पनि व्यावसायिक मनोबल कमजोर नै छ । चीन र अमेरिकाबीचको व्यापार वार्ता आगामी चरणमा पुग्यो भने व्यावसायिक मनोबल, म्यानुफ्याक्चरिङ उत्पादन र लगानीमा समेत उल्लेख्य सुधार आउन सक्ने खाइसिनको सहायक सीईबीएम ग्रूपमा सुक्ष्म आर्थिक विश्लेषण निर्देशक चेङशेङ चोङले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्