arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जीर्ण बन्दै राप्ती लोकमार्ग

Dec 3, 2019  
प्रदेश ०५
Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । सवारीसाधनको चाप बढे पनि स्तरोन्नति नहुँदा दाङ–सल्यान हुँदै रुकुम जोड्ने सडक (राप्ती लोकमार्ग) जीर्ण बनेको छ । सडक जीर्ण बन्दा सवारीचालक र यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

रुकुम २०४९ सालमा राप्ती लोकमार्गमा जोडिएको हो ।  आर्थिक वर्ष २०६९/७० मा विश्व बैंकको ६१ करोड ५० लाख  रुपैयाँ सहयोगमा ओटासिल गरिएको उक्त सडक गुणस्तरहीन भएकाले १ वर्षमै भत्किएको थियो । सडकमा रहेको ओटासिल भत्किएपछि सडक थप जोखिमपूर्ण बनेको हो ।

लामो समय कच्ची सडकमा यात्रा गरेका जिल्लाका बासिन्दाले सडक पक्की हुँदा पनि सजिलै यात्रा गर्न पाएका छैनन् ।  लोकमार्गको अधिकांश ठाउँमा कालोपत्र उप्किएको छ । वर्षामा हिलो र हिउँदमा धूलोले यात्रा कष्टकर बनेको यात्रु निर्मला खड्काले गुनासो गरिन् ।

सल्यानको बागचौर नगरपालिकाको बांगेलाकुरीदेखि सदरमुकाम सल्लेसम्मैको सडक क्षतिग्रस्त बनेको छ । सल्यान र रुकुम पश्चिमको सिमाना खौलादेखि मुसीकोटसम्मको सडक पनि जीर्ण छ । ठाउँ–ठाउँमा सडक चिरिएको छ भने कालोपत्र उप्किएको छ । हरेक वर्ष विभिन्न सडक खण्डमा उप्केको कालोपत्र टाल्ने गरिए पनि लामो खण्ड मर्मतको काम नहुँदा यात्रा असहज बनेको छ । 

उक्त सडकको मर्मत सम्भार पनि मापदण्ड अनुसार हुन गरेको छैन ।

ठेकेदार कम्पनीले असारको अन्तिममा मात्र हतार–हतार काम गर्ने गरेको त्रिवेणी गाउँपालिका–२ का बीरबहादुर ओलीले बताए । गतवर्ष यो सडक मर्मतका लागि बजेट परे पनि कार्यान्वयन हुन सकेन । सल्यानको श्रीनगरदेखि रुकुम पश्चिमको सल्लेसम्म कालोपत्र गर्नेगरी बजेट विनियोजन गरिए पनि काम शुरू हुन सकेन । जीर्ण बनेको सडक मर्मतका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाले अन्तिममा प्राविधिक समस्या देखाउँदै सडक मर्मतको काम रोकेको थियो ।

राप्ती लोकमार्ग अन्तर्गत दाङको अमेलियादेखि मुसीकोट सल्लेसम्म १ सय ६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । भौगोलिक रूपमा कमजोर र भिरोलो जमीन भएकाले वर्षैपिच्छे पहिरो र बाढीले सडकमा क्षति पुर्‍याउने गरेको छ । अन्य वैकल्पिक सडक नहुँदा रुकुम (पूर्व–पश्चिम) र सल्यान स्थानीय बासिन्दा यसै सडक मार्फत ओहोरदोहोर गर्न बाध्य छन् ।  राप्ती लोकमार्ग रुकुम पश्चिम र रुकुम पूर्वलाई प्रदेश तथा संघीय राजधानी जोड्ने मुख्य सडक समेत हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्