arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विराटनगर विमानस्थलको गुरुयोजना तयार : २० वर्षभित्र अन्तरराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल बनाइने

Dec 3, 2019  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता


विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलको विकास र विस्तारका लागि गुरुयोजना तयार गरेको छ । प्राधिकरणले सोमवार विराटनगरमा सार्वजनिक गरेको गुरुयोजनाअनुसार आगामी २० वर्षमा यो विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय स्तरको बनाइने भएको छ । 

प्रस्तावित गुरुयोजनामा सन् २०४० (वि.सं. २०९६) सम्ममा विमानस्थलमा २ हजार ५०० मिटरको मुख्य धावनमार्ग र १५ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण गरिने उल्लेख छ । त्यसका लागि विमानस्थलको धावनमार्ग ३ हजार मिटरको बनाउनुपर्ने र थप ८३ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । यसमा कुल ११ अर्ब ३३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । 

अहिले १२० बिघामा फैलिएको विमानस्थलको धावनमार्गको लम्बाइ १५ सय मिटर छ । थप १४० मिटर लम्बाइ बढाउनका लागि जग्गा अधिग्रहण पूरा भई निर्माणको चरणमा छ । विमानस्थलको पश्चिम बस्ता खोलातर्फको जग्गा अधिग्रहण गर्न सकिने अवस्था छ । 

कार्यक्रममा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०४० सम्मको गुरुयोजना भए पनि आगामी ५ वर्षभित्र नै विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रिपरिषद्ले गुरुयोजना पास गरेपछि प्रदेश सरकारले आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने उनले बताए । 

उनले भने, ‘अब विराटनगर विमानस्थललाई बेस बनाएर अनुमति लिने र काठमाडौं बस्ने छूट कुनै जहाजलाई हुँदैन ।’ साना जहाजलाई काठमाडौंबाहिर बस्ने वातावरण सृजना गरिने उनको भनाइ छ । यसैगरी पूर्वक्षेत्रबाट बंगलादेश सीधा उडानको तयारी भइरहेको उनले जानकारी दिए । 

कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले १ वर्षअघि नै विमानस्थल विस्तारका लागि संघीय सरकारलाई सुझाव पेश गरेको र आज निर्णयमा पुग्ने आधार तयार भएको बताए । यो विमानस्थललाई अन्तरराष्ट्रिय स्तरमा विस्तार गर्न विदेशी लगानीकर्ताले पनि प्रस्ताव गरेको जानकारी दिँदै उनले प्रदेश सरकारले जग्गा अधिग्रहणको मुआब्जा बेहोर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गुरुयोजना तत्काल पास गर्नका लागि केन्द्र सरकारसँग आग्रह गरे ।

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सबैको सहयोग प्राप्त भए गुरुयोजना अनुसार चाँडै काम अगाडि बढाइने बताए । उनले विराटनगर विमानस्थल चाँडै नै भू–उपग्रहमा आधारित उडान अवधारणा प्रणालीमा जोडिने जानकारी दिए । उद्योग संगठन मोरडका अध्यक्ष भीम घिमिरेले यो विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउन २० वर्ष नलाग्ने भन्दै आश्वासन मात्र बाँड्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरे । 

कार्यक्रममा संघीय सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डित, प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेश–१ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियत, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका साथै राजनीतिक तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्