arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर

२०७६ मंसिर, १८  
विकास
NA

पाल्पा । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि कहाँ जाने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरू खुम्चिएर बस्नुपथ्र्यो । तर अहिले त्यो पिरलो छैन ।

पछिल्लो समय प्राविधिक धार अन्तर्गत विभिन्न विषयका कक्षा सञ्चालनमा आएपछि रामपुर यहाँका मात्र नभै अन्यत्रका विद्यार्थीको पनि अध्ययनको थलो भएको छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाइने भएपछि अहिले बाहिरबाट रामपुर पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दो छ । रामपुर नगरपालिकाभित्र चारओटा विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन हुन्छ । सीटीईभीटी मार्फत रामतुलसी माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि बाली विज्ञान, दरैठाँटी माविमा तीनवर्षे सिभिल इन्जिनियरिङ र गंगा माविमा तीनवर्षे पशुविज्ञानका कक्षा सञ्चालित छन् । 

आधारभूत माविमा भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्म पशु विज्ञानको कक्षा सञ्चालन भइरहेको छ । यहाँ पढ्न आउने अधिकांश विद्यार्थी बाहिरी जिल्लाका छन् । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा लिन सकिने भएकाले सिभिल इन्जिनीयरिङ अध्ययनका लागि आपूm हुम्लाबाट रामपुरको दरैठाँटी माविमा आएको सत्यदेवी शाहीले बताइन् । 

सिन्धुलीका मनोज विक पनि रामपुरमै तीनवर्षे सिभिल इन्जिनीयरिङ पढ्न आएका छन् । उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता अधिकांश विद्यार्थी बाहिरी जिल्लाबाट रामपुर आएर आफ्नो भविष्य बनाइरहेका छन् । सिभिल इन्जिनीयरिङमा दरैठाँटी मावि प्रदेश नं ५ मै उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालय पनि हो । विद्यालयले २०७२ सालमा महायज्ञ गरी २०७४ देखि सिभिल इन्जिनीयरिङको कक्षा शुरू गरेको हो । विद्यालयले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेकाले पनि आकर्षण बढ्दो छ । 

रामपुर नगरपालिका–५ बेझाड बजारस्थित रामतुलसी माविमा २०७१ सालदेखि तीनवर्षे डिप्लोमा तहसम्मका लागि कृषिबाली विज्ञान पठनपाठन भइरहेको छ । हाल यहाँ ६३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । ‘कृषिबाली विज्ञानका लागि आवश्यक पर्ने सबै प्रयोगात्मक सामग्रीको बन्दोबस्त विद्यालयले गरेको छ,’ उनले भने । यसैगरी गंगा माविमा तीनवर्षे पशुविज्ञान शिक्षाको कक्षा सञ्चालित छ । २०७५ सालमा विद्यालयमा पशुविज्ञान शिक्षा शुरू भएपछि यस क्षेत्रका विद्यार्थीलाई धेरै सहज भएको प्रधानाध्यापक देवराज देवकोटाले बताए ।

रामपुरकै आधारभूत माविमा कक्षा ९ देखि १२ सम्म पशुविज्ञान पठनपाठन भइरहेको छ । २०७४ सालदेखि शुरू भएको यो विषयमा हाल कक्षा ९ मा २२, कक्षा १० मा १८ र कक्षा ११ मा २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रूपनाथ गौतमले जानकारी दिए । रामपुरबाट अध्ययनका लागि बुटवल, पोखरा, काठमाडौं जाने क्रम अहिले न्यून छ भने अन्यत्रबाट रामपुर आउने क्रम बढ्दो छ । रासस

प्रतिक्रिया [1]
User Image

krishna prasad paudel

[Dec 4, 2019 12:22am]

dherai gaurb x ma rampurkai basindako karnle, school harule sikxama gareko pargatile..


प्रतिक्रिया दिनुहोस्