arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शुक्लाफाँटामा सडक अतिक्रमण हटाइँदै

२०७६ मंसिर, १९  
प्रदेश ०७
NA


महेन्द्रनगर (अस) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गका दायाँ–बायाँ अतिक्रमित संरचना हटाउन थालिएको छ । गत महीना भीमदत्त नगरपालिकाको महेन्द्रनगरबाट सडक अतिक्रण हटाउन शुरू गरेको सडक डिभिजन कार्यालयले यसलाई शुक्लाफाँटामा पनि निरन्तरता दिएको हो । राजमार्गको केन्द्रबाट दाँया–बाँया २५ मिटर क्षेत्रमा बनाइएका अवैध संरचना हटाउने काम अघि बढाइएको कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।

सडक साँघुरो भएर दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक विस्तार गर्न लागिएको जोशीको भनाइ छ । ‘यसमा सडक मिचेर बनाइएका घर, टहरा, पर्खाल लगायत संरचना बाधक बनेपछि हटाउन थालेका हौं,’ उनले भने । नगरपालिका, सुरक्षा निकाय, व्यवसायी, होटल सञ्चालक र राजनीतिक दलको समन्वयमा सडक क्षेत्रको अतिक्रमण हटाउन लागिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले बताएको छ । यसअघि कार्यालयले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सातदिने सूचना जारी गरेको थियो । ‘संरचना हटाउन पूर्वसूचना दिएका थियौं,’ सूचना अधिकारी जोशीले भने, ‘सूचना अटेर गरेर राखिएका मापदण्ड विपरीत संरचना हटाउँदै छौं । यो कार्य निरन्तर अघि बढ्छ, राजमार्गको पूरै अतिक्रमण हटाउँछौं ।’ कार्यालयले पहिलो चरणमा भीमदत्त नगरपालिकाको गड्डाचौकीदेखि शिव मन्दिरसम्मको सडकको अतिक्रमण हटाएको थियो । दोस्रो चरणमा शिव मन्दिरदेखि भाँसी क्षेत्रसम्मको अतिक्रमण हटाइएको थियो । तेस्रो चरण अन्तर्गत शुक्लाफाँटा नगरपालिकाको गर्जमुनी, वन समिति, झलारी हुँदै कलुवापुरसम्म सडक अतिक्रमण हटाइने कार्यालयले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्