arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुर्गमको विद्यालयमा स्मार्ट कक्षा 

२०७६ मंसिर, १९  
प्रदेश ०४
NA


पर्वत (अस) । पर्वतको मोदी–३ देउराली गाउँ दुर्गम क्षेत्रमा पर्छ । समुद्री सतहबाट करीब २२ सय मिटर उचाइमा रहेको यो गाउ“बाट गाउँपालिकाको केन्द्र पुग्न पैदलमा दिनभर लाग्छ । तर भौगोलिक विकटता भए तापनि यहाँका विद्यार्थी भने सुविधासम्पन्न शहरमा जस्तै कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर लगायतको माध्यमबाट पढिरहेका छन् ।

देउरानीको हिमालय माविले विद्यार्थीलाई इन्टरनेट र मल्टिमिडिया मार्फत पढाउँदै आएको हो । विद्यालयले ‘स्मार्ट कक्षा’ शुरू गरेको ३ शैक्षिक सत्र भइसक्यो । शुरूमा एक संस्थाको सहयोगबाट एउटा कक्षाकोठामा शुरू भएको स्मार्ट कक्षा अहिले विद्यालयभर सञ्चालित छ । विद्यालयको कक्षा २ देखि ५ सम्म सबै विषय र ६ देखि ८ सम्म गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयको पढाइ कम्प्युटर तथा प्रोजेक्टरबाट हुँदै आएको छ । स्मार्ट कक्षा सञ्चालनका लागि विद्यालयसँग अहिले १६ ओटा डेस्कटप र दुईओटा ल्यापटप गरी १८ ओटा कम्प्युटर छन् । विद्यालयमा नेपाल टेलिकमको वाईम्याक्स इन्टरनेट जोडिएको छ । डिजिटल माध्यमबाट पढाइने भएकाले विद्यार्थीले झोलामा किताब बोक्नुपर्ने झन्झट पनि छैन । विद्युतीय पुस्तकालयमा विद्यार्थीलाई चाहिने सबै पाठ्यपुस्तक उपलब्ध रहेको प्रधानाध्यापक एकनाथ शर्माले बताए । ‘विषयगत पाठ्यपुस्तक बाहेक करीब १६ हजार अन्य पुस्तक विद्युतीय पुस्तकालयमा छन्,’ उनले भने, ‘इन्टरनेटको माध्यमबाट विद्यार्थीले चाहेको पुस्तक र पाठ पढ्न सक्छन् ।’

विद्यालयमा स्मार्ट कक्षा शुरू भएपछि विद्यार्थीको सिकाइ उपलब्धिमा समेत बढेको प्रअ शर्माले बताए । ‘विद्यार्थीमा हामीले सिकाइ उपलब्धिको तुलनात्मक अध्ययन गरेका थियौं,’ उनले भने, ‘अघिल्लो वर्ष ४६ प्रतिशत नतीजा ल्याएका विद्यार्थीले स्मार्ट कक्षापछि उही विषयमा ७६ प्रतिशत नतीजा ल्याए ।’ प्रोजेक्टरमा देखाइने भिडियो र उदाहरण सहितको पढाइले विद्यार्थीको सिकाइ स्तर बढाएको उनको दाबी छ । श्रव्यदृश्य सामग्री सहितको कक्षाबाट अति कमजोर विद्यार्थीले पनि धेरै राम्रो सिकाइ उपलब्धि हासिल गरेको बताइएको छ ।

‘किताबबाट भन्दा यसरी पढेको सजिलै बुझिन्छ,’ कक्षा ६ की सलिना गुरुङले भनिन्, ‘किताबको कुरा घोक्नुपथ्र्यो । यहाँ हेरेको कुरा छिट्टै सम्झन सकिन्छ । घोक्नुपर्दैन ।’ सृजनात्मक ढंगले र छिटो सिक्न चाहनेहरूका लागि प्रोजेक्टरको पढाइ धेरै सहयोग भएको विद्यार्थी सफल परियारले बताए । गुड नेभर्स नामक संस्थाको सहयोगमा स्थानीय सोडेक नेपालले प्रोजेक्टर, ल्यापटप र डेस्कटप कम्प्युटर सहयोग गरेपछि विद्यालयमा स्मार्ट कक्षा सञ्चालन भएको हो । परीक्षणका  रूपमा केही विद्यालयमा शुरू गरिएको यस्तो कक्षा प्रभावकारी भएपछि जिल्लाका ११ विद्यालयमा विस्तार गरिएको सोडेक नेपालका शिक्षा विकास अधिकृत ऋषिराम भुसालले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्