arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तामाका भाँडा बनाएर लाखौं आम्दानी

२०७६ मंसिर, १९  
प्रदेश ०५
NA


प्यूठान (अस) । रोजगारीका लागि देशबाट दैनिक सयौं युवा विदेशिन्छन् । युवा पलायनले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन बाझिँदै गएका छन् भने परम्परागत पेशा समेत संकटमा परेको छ । तर मेहनती र लगनशील भए सामान्य लाग्ने पेशाबाट पनि गतिलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् तुलसीपुरका लीलाबहादुर टमाटा । तामाका भाँडा बनाएरै उनी वार्षिक ४ लाख रुपैयाँसम्म कमाउँछन् ।

तुलसीपुर उपमहानगरपालिका–८ का टमाटाले प्यूठान नगरपालिका–२ चितीखोलामा तामाका भाँडा बनाउँदै आएका छन् । आफूले तामाका विभिन्न प्रकारका भाँडाकुँडा बनाउनुका साथै पुरामा भाँडा मर्मत गर्ने गरेको उनले सुनाए । ‘१४ वर्षको उमेरदेखि नै तामाका भाँडा बनाउन सिकेको हुँ,’ उनले भने, ‘पुख्र्यौली शीप जोगाउन पनि यो काम गरिरहेको छु ।’

आफूले नेपालगञ्जबाट काँचो तामा ल्याएर यसका भाँडा बनाउने गरेको टमाटाले बताए । उनले तामाका गाग्री, ताउलो, दमाह, भोकर, अम्खोरा, दियो लगायत सामग्री बनाउने गरेका छन् । प्रतिकिलो तामा १ हजार ५० रुपैयाँमा ल्याउने उनी यसबाट निर्मित सामग्री प्रतिकलो १ हजार २५० रुपैयाँको दरले विक्री गर्छन् । 

टमाटाका अनुसार तामाका भाँडाकुँडा प्यूठानका स्थानीय बजार खलंगा, बाग्दुला, भिंग्रीका साथै दाङ र रोल्पासम्म पुग्ने गरेका छन् । उत्पादित सामग्री किन्न ग्राहक तथा व्यापारीहरू घरमै आउने गरेको उनले सुनाए । ‘बजार खोज्दै हिँड्नुपरेको छैन,’ उनले भने, ‘घरबाटै सबै सामान बिक्ने भएकाले सजिलो पनि भएको छ ।’ तामाका भाँडाकुँडा विक्रीबाट भएको आम्दानीले उनले घरव्यवहार, औषधि उपचार र छोराछोरीको पढाइ खर्च चलाउँदै आएका छन् ।

तामाका भाँडा बनाउने पेशा संकटमा पर्दै गएको गुनासो टमाटाले गरेका छन् । यो पेशाको संरक्षणका लागि राज्यले प्रोत्साहन, अनुदान लगायतको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘यस्ता घरेलु उद्योगको विकास र संरक्षणमा राज्यले सघाउनुपर्छ,’ उनले भने । तामाका भाँडा बनाउने घरेलु उद्योगको आधुनिकीकरण र व्यावसायिकता विकास गर्न सके सयौं रोजगारी सृजना हुने यस क्षेत्रका सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्