arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सल्यानमा प्रदेश मातहतका कार्यालयको बजेट खर्च १.१४% मात्र

२०७६ मंसिर, १९  
प्रदेश ०६
NA


सल्यान (अस) । सल्यानमा प्रदेश मातहतका कार्यालयको पहिलो चौमासिकको बजेट खर्च न्यून देखिएको छ । प्रथम चौमासिकमा प्रदेश मातहतका कार्यालयले कुल बजेटको १ दशमलव १४ प्रतिशत मात्र खर्च गर्न सकेका छन् । चालू आर्थिक वर्षमा जिल्लामा पूँजीगत र चालू गरी १ अर्ब ७१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बजेट रहेकोमा उक्त अवधिमा १९ करोड ५६ लाख १ हजार रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानका सूचना अधिकारी बृद्धिमान बस्नेतले जानकारी दिए । 

यसैगरी जिल्लाको डिभिजन वन कार्यालयको बजेट १० करोड ८३ लाख ७८ हजारमध्ये ९६ लाख ५३ हजार, उद्योग तथा उपभोक्ता हित कार्यालयको १ करोड ८६ लाख ७९ हजारमध्ये २ लाख ६२ हजार र प्रदेश लेखा एकाइ कार्यालयको ७ लाख ३७ हजारमध्ये ४ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । यस्तै पशु अस्पताल तथा पशु विकास कार्यालयको ६ करोड २१ लाख १४ हजारमध्ये २१ लाख ३७ हजार, खानेपानी सिचाइँ तथा ऊर्जा विकास कार्यालयको ३० करोड १३ लाख ४८ हजारमध्ये ५२ लाख ७३ हजार र सामाजिक विकास कार्यालयको १० करोड ५० लाख ८० हजारमध्ये १ लाख २५ हजार रुपैयाँ मात्र खर्च भएको सूचना अधिकारी बस्नेतले बताए ।

कृषि विकास कार्यालयको १४ करोड ६८ लाख ५ हजार र पूर्वाधार विकास कार्यालयको ७४ करोड ४० लाख ९ हजार रुपैयाँ विकास बजेटमध्ये खर्च प्रगति शून्य छ । जिल्लाका १० स्थानीय तहले पनि प्रदेशले पठाएको विकास बजेट खर्च गर्न सकेका छैनन् । ३ नगरपालिका र ७ गाउँपालिकाका लागि प्रदेशले १२ करोड ३४ लाख बजेट पठाएको थियो । 

जिल्लाको बागचौर नगरपालिकामा १ करोड ३१ लाख ८ हजार, बनगाड कुपिन्डे नगरपालिकामा १ करोड ५४ लाख ४ हजार, शारदा नगरपालिकामा १ करोड ८३ हजार, कपुरकोट गाउँपालिकामा १ करोड ३४ हजार र कालीमाटी गाउँपालिकामा १ करोड ५१ हजार रुपैयाँ बजेटमध्ये खर्च प्रगति न्यून छ । यस्तै  छत्रेश्वरी गाउँपालिकामा १ करोड ४६ हजार, सिद्ध कुमाख १ करोड ४९ लाख, कुमाख १ करोड १ लाख २३ हजार र दार्मा गाउँपालिकामा ३ करोड २० लाख ९७ हजार रुपैयाँ विनियोजन भएकोमा अहिलेसम्म १ प्रतिशत पनि खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्