arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मापदण्ड विपरीत सडक निर्माण

२०७६ मंसिर, १९  
प्रदेश ०२
NA
author avatar सौरभ यादव


राजविराज । सप्तरीको राजगढ गाउँपालिकाको ९ करोड रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको बनैनियाँ–चपेना सडक खण्डको काम मापदण्ड विपरीत भएको पाइएको छ । ठेकेदार कम्पनीले खर्च कम गर्न इस्टिमेट अनुसार स्तरोन्नति नगरेको स्थानीयको आरोप छ । उक्त सडक १० मिटर चौडा बनाएर ६ मिटर कालोपत्र गर्नुपर्नेमा एकरूपता नभएको पूर्वगाविस अध्यक्ष समेत रहेका मुसहरु यादवले बताए ।

‘कतै ५ मिटर त कतै ७ मिटर मात्र कायम गरी मनपरी ढंगले सडक विस्तार गरिएको छ,’ यादवले भने, ‘कालोपत्रको काममा गुणस्तरलाई ध्यान दिइएको छैन ।’ उक्त कार्यमा प्राविधिकको रेखदेख समेत नभएको उनको गुनासो छ । निर्माण शुरू गर्ने बेला ठेकेदार कम्पनीमा आबद्ध इन्जिनीयर लगायत प्राविधिकले सडकको नापजाँच लिए पनि कालोपत्र गर्दा कोही नदेखिएको उनले बताए ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक मापदण्ड विपरीत बनेको स्थानीय सीताराम सिंहको आरोप छ । सडक निर्माणमा ठेकेदार कम्पनीको अनियमितता रोक्न सरोकारवाला निकायले चासो नदिएको उनको भनाइ छ । ‘सम्झौता गरेपछि डिभिजन सडक कार्यालयले नै बेवास्ता गरेको छ,’ उनले भने, ‘रेखदेख गर्नुपर्ने जिम्मेवारी त उसैको हो नि ।’

राजगढ गाउँपालिका–२ का अध्यक्ष ललितप्रसाद सिंहले इस्टिमेट विपरीत र गुणस्तरहीन निर्माण भइरहेको स्वीकारे । ‘सडकको चौडाइ १० मिटर कायम गरेर कालोपत्र गर्नुपर्ने थियो,’ उनले भने, ‘तर यसको पूर्ण कार्यान्वयन भएको पाइएन ।’ ठेकेदार कम्पनीले सडक स्तरोन्नतिमा अनियमितता गरिरहेको विषयमा ३ महीनाअघि नै सडक डिभिजन कार्यालय, लहान तथा जिल्ला प्रशासन कार्यालय, सप्तरीमा पत्र काटेर जानकारी गराउँदा समेत सुनुवाइ नभएको वडाध्यक्ष सिंहको गुनासो छ । ‘ठेकेदारको मनोमानीबारे भदौ १७ गते वडा कार्यालयबाट डिभिजन कार्यालयका लागि पत्राचार गरेँ । त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय सप्तरीमा पनि पठाएँ,’ उनले भने, ‘त्यसपछि कात्तिक ४ गते पुनः पत्राचार गरिए पनि अझै जवाफ आएको छैन ।’ 

इस्टिमेट अनुसार सडक स्तरोन्नति गर्ने–गराउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले औंल्याए । निर्माण कम्पनीका सौरभ सिंहले भने स्थानीय बासिन्दाको अवरोधले केही ठाउँमा समस्या रहे पनि अन्यत्र मापदण्ड अनुसार नै सडक विस्तार भइरहेको दाबी गरे । ९ दशमलव ९० किलोमिटरको उक्त सडक खण्डको विस्तार तथा स्तरोन्नति कम्पनीले २०७७ वैशाख २४ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्