arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तालतलैया सुक्दै गएपछि कोशीटप्पुमा पाहुना चरा घटे

२०७६ मंसिर, १९  
प्रदेश ०१
Image Not Found


सुनसरी (अस) । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा तालतलैया सुक्नुका साथै चराको आहाराको मुख्य स्रोत मासिँदै गएपछि पछिल्लो समय पाहुना चराको आगमन घटेको छ । आरक्ष प्रशासनका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष अहिले पाहुना चराको संख्या ५० प्रतिशत घटेको छ ।

‘तालतलैया र आहाराका स्रोतहरू मासिँदै गए । बढ्दो मानवीय चापले चराका लागि सुरक्षित वातावरण पनि भएन,’ कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले भने । उनका अनुसार आरक्ष क्षेत्रभित्र माछा मार्न खुला गरिएकाले पनि चराको आहारामा समस्या भएको हो । कोशी टप्पु आरक्ष आसपासका क्षेत्रमा अधिकांश घरपरिवारले माछा मारेरै जीविकोपार्जन गर्छन् ।

आरक्ष क्षेत्रमा कात्तिक पहिलो सातादेखि पुस दोस्रो सातासम्म बाहिरबाट चराहरू आउने गर्छन् । ‘यस वर्ष ढिलो भयो कि भन्ने पनि छ, तर अब आउने सम्भावना देखिँदैन,’ चराविद् डा. हेमसागर बरालले भने । आरक्षमा रैथाने प्रजातिका चराको संख्या समेत घटेको उनको भनाइ छ ।

कोशीटप्पु आरक्ष क्षेत्रमा पाहुना चराको संख्या घटे पनि सुनसरीको दक्षिणवर्ती बर्जुतालमा भने बढ्न थालेको बताइएको छ । २०५२ सालदेखि ताल संरक्षण गर्न थालिएको ताल अहिले व्यवस्थित भइसकेको छ, जसले गर्दा पाहुना चरा बढ्न थालेको स्थानीयले बताएका छन् । ‘नेपालको सन्दर्भमा चराका लागि दोस्रो महत्त्वपूर्ण स्थल बनेको छ बर्जुताल,’ चराविद् बरालले भने, ‘कोशीटप्पुका कतिपय चरा बर्जुमा सरेका छन् ।’ ठूलो जलाशय भएकाले बर्जुतालमा चराको आकर्षण बढेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्