arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकी प्रतिबन्धविरुद्ध हुवावेईको मुद्दा

२०७६ मंसिर, २०  
अन्तरराष्ट्रिय
Image Not Found


वाशिङ्टन डीसी (अमेरिका) । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईले अमेरिकी नियामकले लगाएको प्रतिबन्धको विरुद्धमा नयाँ कानूनी चुनौती पेश गरेको छ । अमेरिकाले गत मे महीनामा हुवावेईका उत्पादनमा राष्ट्रिय सुरक्षाको चुनौती रहेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

अमेरिकाको फेडेरल कम्युनिकेशन कमिसनले हुवावेईका उपकरण खरीदका लागि ग्रामीण मोबाइल प्रदायकलाई दिँदै आएको ८ अर्ब ५० करोड डलरको सरकारी कोष पनि रोक्ने निर्णय गरेको छ । अमेरिकाको यो कदमसँगै हुवावेईले प्रतिबन्धको विरुद्धमा मुद्दा दायर गरेको हो । हुवावेईले अमेरिकाले आरोप लगाएको जस्तो आफ्नो उत्पादनबाट अमेरिकाको राष्ट्रिय सुरक्षालाई कुनै किसिमको जोखिम नरहेको दोहोर्‍याएको छ । हुवावेईले अमेरिकी अदालतलाई यो निर्णय फिर्ता गराउन माग गरेको छ । 

चीनको शन्चनमा रहेको मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कम्पनीका प्रमुख कानूनी अधिकृत सोङ लिउफिङले अमेरिकाले हुवावेईमाथिको आरोपको स्पष्ट प्रमाण दिन नसकेको बताए । आरोप पुष्टि गर्न नसक्नुको कारण आरोप नै गलत रहेको उनको दाबी छ । यो वर्ष मात्र हुवावेईले अमेरिकाको ट्रम्प प्रशासनको नीतिविरुद्ध दायर गरेको यो दोस्रो मुद्दा हो । यसअघि गत मे महीनामा पनि हुवावेईले अमेरिकाको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । यसअघिको मुद्दा सरकारी नियोगलाई हुवावेईका उपकरण खरीदमा लगाइएको रोकमा आधारित थियो । 

अमेरिका–चीनबीच जारी व्यापार युद्धको मारमा हुवावेई परेको छ । त्यसैले व्यापार वार्तामा हुवावेईको विषय मुख्य मुद्दाको रूपमा उठ्ने गरेको छ । हुवावेईले अहिले आगामी पुस्ताको इन्टरनेट फाइभजीको दूरसञ्चार पूर्वाधार निर्माण तथा विक्रीको काम गरिरहेको छ । जसमा हुवावेई अन्य कम्पनीभन्दा अगाडि छ । तर, अमेरिकाले अन्य मुलुकहरूलाई समेत हुवावेईको फाइभजी पूर्वाधार खरीद नगर्न दबाब दिँदै आएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्