ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

काँचुली फेर्दै बीमा संस्थान

२०७६ फागुन, ११  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वमा २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको हो । रू. १ करोड अधिकृत पूँजीमा स्थापित उक्त संस्थानले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गर्‍यो । पछि २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ आएपछि यो संस्थानमा परिवर्तन भयो ।

शुरूमा निर्जीवन बीमा मात्र गर्ने उक्त संस्थानले २०२९ देखि जीवन बीमाको व्यवसायको पनि थालनी गर्‍यो । तर, २०७१ सालदेखि संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ । २०७१ सालमा संस्थानबाट अलग्गिएर राष्ट्रिय बीमा कम्पनीले छुट्टै रूपमा निर्जीवन बीमा व्यवसाय गर्दैै आएको छ । 

संस्थान आउनुअघि नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय शुरू गरेको थियो । हाल त्यो नेपाल इस्योरेन्सको रूपमा सञ्चालित छ । तर, त्यस कम्पनीले नेपाल बैंकसँग सम्बन्धित मात्र बीमा गर्ने गरेको थियो । त्यसैले, राष्ट्रिय बीमा संस्थानलाई नेपालको पहिलो ‘फुल फेज’को बीमा कम्पनीको रूपमा पनि लिइन्छ । 

डा. भेषबहादुर थापाले राष्ट्रिय बीमा संस्थानको पहिलो अध्यक्ष भएर काम गरे । साथै, व्यवस्थापनतर्फ कुवेरप्रसाद शर्मा नायव महाप्रबन्धक भएर यस संस्थानलाई नेतृत्व गरे । तर, संस्थानको पहिलो प्रशासक (व्यवस्थापन प्रमुख) भने जेआर लिन्च हुन् ।

राष्ट्रिय बीमा संस्थान आउनुअघि नेपालमा भारतीय बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका थिए । संस्थान आएपछि  भारतीय कम्पनी फर्किए । त्यसपछि संस्थानलाई नेपाली बीमा बजारमा एक्लै ‘राज’ गर्ने अवसर प्राप्त भयो । तर, अफसोच बीमा संस्थानले त्यसअनुरूप आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउन सकेन ।

बीमा समितिको स्थापना र बीमा सम्बन्धी नीतिगत व्यवस्था भएपछि नेपालमा निजीक्षेत्रका कम्पनीहरू स्थापना हुन थाले  । तर, बीमा संस्थान भने झन् झन् पछि पर्दै गयो । सरकारी संस्थान भएकाले यो आफैमा स्वायत्त पनि थिएन । अधिकांश निर्णय गर्न सरकारमै निर्भर हुनुपर्ने बाध्यता थियो । यसले गर्दा पनि संस्थान व्यावसायिक रूपमा अगाडि बढ्न नसकेको बताइन्छ ।

मुलुकको राजनीति अस्थिरता, १० वर्षे जनयुद्ध, ट्रेड युनियनमा हुने राजनीति लगायतले पनि संस्थानलाई नकारात्मक असर पार्‍यो । साथै, दक्ष जनशक्ति नहुँदा संस्थान आन्तरिक रूपमा कमजोर हुँदै गयो ।

लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा समेत संस्थान पछि पर्दै गयो । संस्थानले १०औं वर्षसम्म पनि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेन । संस्थानले धेरै वर्षहरू ‘पेन्डिङ’मा रहेका काम गरेरै बितायो । परिणामस्वरूप संस्थानले लामो समय व्यावसायिक गतिविधि राम्रो बनाउन सकेन ।

संस्थानले आव २०६४/६५ देखिको साधारणसभा अझै गरेको छैन । २०६४ सालमा पनि आव २०५७/५८ देखिको लेखापरीक्षण र  साधारणसभा हुन सकेको थिएन । पछिल्लो समय संस्थानको अवस्था सुध्रिएको छ । आफूभन्दा कान्छा कम्पनीहरू आएर व्यावसायिक गतिविधि बढाएपछि संस्थान पनि आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा अगाडि बढाउन लागिपरेको छ । 

संस्थानको पछिल्लो ५ आवको वित्तीय विवरण हेर्ने हो भने पनि अधिकांश सूचक राम्रो हुँदै गएका छन् । संस्थानको बीमाशुल्क संकलन, नाफा, जीवन बीमा कोष बढ्दो अवस्थामा छन् । बीमाशुल्क, बीमा कोषको आधारमा संस्थानले बीमा बजारको १२ प्रशित हिस्सा ओगटेको छ ।

संस्थानले हालसम्म रू. ४७ अर्ब ६ करोड कुल बीमाशुल्क संकलन गरेको छ । त्यसमा चालू आवको पहिलो ६ महीनामा मात्र ५ अर्ब ६९ करोड बीमाशुल्क संकलन गरेको छ । बीमाशुल्क संकलन गर्ने मामिलामा १९ कम्पनीमध्ये संस्थान तेस्रो स्थानमा छ । साथै, बीमा कोषमा संस्थानले रू. २५ अर्ब ९६ करोड जम्मा गरिसकेको छ ।

लामो लामो समयदेखि हुन नसकेको लेखापरीक्षण, बीमांकीय मूल्यांकन र साधारणसभा पनि यसै आवभित्र गरिसक्ने संस्थानको योजना छ । संस्थानको आव २०६४/६५ यताको लेखापरीक्षण, बीमांकीय मूल्यांकन र साधारणसभा हुन बाँकी छ । त्यसमध्ये संस्थानले आव २०६९/७० को बीमाकीय मूल्यांकन गरेर स्वीकृतिका लागि बीमा समितिमा पठाइसकेको छ । 

यसैगरी आव २०७०/७१ देखि २०७३/७४ सम्मको लेखापरीक्षण गरेर प्रारम्भिक प्रतिवेदन तयार गरिसकेको छ । हाल त्यसको बीमांकीय मूल्यांकनका लागि सम्बन्धित बीमांकीलाई पठाइएको छ । त्यसपछिका २ आवको पनि लेखापरीक्षण गर्ने काम जारी रहेको संस्थानको भनाइ छ । संस्थानका प्रशासक कविप्रसाद पाठकले भने, ‘अहिले पेन्डिङमा रहेका काम पूरा गर्दै छौं । अर्काे आवदेखि व्यावसायिक योजना सहित अघि बढ्छौं ।’

संस्थानले प्रविधिमा पनि उत्तिकै जोड दिइरहेको छ । पहिले संस्थानको प्रधान कार्यालयबाट मात्र बीमा पोलिसी जारी गर्न मिल्थ्यो । अहिले प्रत्येक शाखाबाट बीमा पोलिसी जारी गर्न सकिन्छ । साथै, मोबाइल एप्स, एसएमएस अलर्ट जस्ता प्रविधि ल्याएर सेवासुविधा सहज बनाउँदै लगेको छ । आगामी आवमा अनलाइन मार्फत बीमाशुल्क र दाबी भुक्तानी गर्ने योजनामा संस्थान छ । 

शाखा बढाउने काममा पनि संस्थानले जोड दिएको छ । गत आवमा संस्थानका ८ शाखा रहेकोमा हालसम्म १४ ओटा पुगिसकेका छन् । काठमाडौं बाहिरका सुर्खेत लगायत जिल्लामा शाखा स्थापना गरिसकेको छ । यो आवभित्र थप १० शाखा स्थापना गर्ने योजना संस्थानको छ । चालू आवमै २ नयाँ बीमा योजना ल्याउने तयारी गरेको छ । हाल यस विषयमा संस्थानको बीमांकीले अध्ययन गरिरहेको बताइएको छ । साथै, अबको १ महीनाभित्र घातक रोगको औषधोउपचार बीमा नीति ल्याउने संस्थानको तयारी छ । यस्तै ५ वर्षमा पुनर्बीमा सेवा शुरू गरिने बताइएको छ । 

५३औं वर्षमा प्रवेश गरिरहँदा संस्थानलाई चुनौती र अवसर पनि उत्तिकै छन् । व्यावसायिक वृद्धिदर कायम गर्नु पनि संस्थानको मुख्य चुनौती हो । साथै, अभिकर्ता र बीमितको संख्या बढाउन पनि चुनौतीपूर्ण देखिन्छ । निजी कम्पनीहरूले धेरै सेवा सुविधा दिएर अभिकर्ता र बीमितलाई आकर्षित गरिरहेका छन् । तर, संस्थानमा बीमित र अभिकर्ताका लागि यस्ता योजना छैनन् । अभिकर्ता र बीमित बीमा व्यवसायका लागि अभिन्न अंग हुन् । त्यसैले, संस्थान यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

संस्थानका बीमा योजनाहरू
–     सावधिक जीवन बीमा योजना र दोहोरो दुर्घटना लाभ सहितको सावधिक जीवन बीमा
–    बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा
–    अग्रिम भुक्तानी जीवन बीमा
–    आजीवन जीवन बीमा
–    बालबच्चाको जीवन बीमालेख ‘वात्सल्य’
–    पति–पत्नीको संयुक्त जीवन बीमा ‘जीवन साथी’ 
–    ‘जीवन सुरक्षा’ सावधिक जीवन बीमा
–    ‘बालउमंग’ जीवन बीमा
–    ‘जीवन बन्धु’ दोहोरो लाभ जीवन बीमा
–    म्यादी जीवन बीमा
–    सामूहिक सावधिक जीवन बीमा
–    राष्ट्र सेवक सावधिक जीवन बीमा
–    लघु जीवन बीमा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्