ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल–बंगलादेश व्यापार वृद्धिका सम्भावना

व्यापार बढाउने सैद्धान्तिक र व्यावहारिक पक्ष

२०७६ फागुन, १२  
लेख | दृष्टिकोण
NA
author avatar कृष्णराज बजगाईं

दूरीका हिसाबले भारत र चीनपछिको नेपालको निकटतम छिमेकी देश बंगलादेश नै हो । तर, नेपाल र र बंगलादेशको व्यापारले अपेक्षित आकार ग्रहण गर्न सकेको छैन । यसो हुनुमा दुईओटा कारणहरू जिम्मेवार छन् । पहिलो, नेपाल र बंगलादेशबीचको व्यापारलाई सैद्धान्तिक आधारमा विश्लेषण गरी निष्कर्षमा पुग्ने अभ्यास नै भएको छैन । दोस्रो सम्भावनाहरूलाई व्यवहारमा उतार्न सम्बोधन नगरी नहुने व्यावहारिक पक्षमा पनि यथेष्ट ध्यान जान सकेको छैन । विशेष नेपाल र बंगलादेशमा विद्यमान भौगोलिक विषमताका कारण दुई देशबीच दीर्घकालीन रूपमा ठूलो परिमाणमा व्यापार सञ्चालन हुन सक्ने सैद्धान्तिक आधारहरू खडा गरेको छ । समुद्री तटीय बंगलादेशको जलवायुमा उपलब्ध उत्पादनहरूका आफ्नै विशेषता छन् जो नेपालमा उत्पादन हुन सम्भव छैन । यसै गरी धु्रवीय र लेकाली नेपाली जलवायुमा उपलब्ध उत्पादनहरूका पनि आफ्नै विशेषता छन् जो बंगलादेशमा उत्पादन गर्न सम्भव छैन । परन्तु यी विषमताभित्र लुकेका व्यापार सम्भावनाहरूलाई दुवै देशका उद्यमी व्यापारी र उपभोक्ताको अधिकतम हित हुने गरी व्यवहारमा उतार्न सक्ने सैद्धान्तिक आधार निर्माण गर्ने विषयमा पनि प्रशासनिक, आर्थिक, प्राविधिक र प्राज्ञिक तथा राजनीतिक तहमा गहन अभ्यासहरू हुन जरुरी छ । 

दुवै देशका सबै पक्ष (सरकार, निजीक्षेत्र र प्राज्ञिक क्षेत्र) सहमत भई सकेपछि बीटुबी र जीटुजी तहमा विशेष सम्झौताहरू गरी द्विपक्षीय व्यापारको बलियो जग बसाल्नुपर्छ ।

हरेक देशमा स्थापित उद्योगहरूका मूल्य शृंखलाहरूले निश्चित सम्भावनाहरूलाई व्यक्त गरिरहेका हुन्छन् । बंगलादेशको विशाल तयारी पोशाक उद्योगका केही मूल्य शृंखलाहरू स्थापित छन् जसका हाँगाबिँगाहरू चीन, भियतनामलगायत देशहरूसँग जोडिएका छन् । नेपाली तयारी पोशाक उद्योगको पनि आफ्नै मूल्य शृंखला रहेको छ । यी उदाहरण अन्य क्षेत्रमा पनि विद्यमान छन् । यी मूल्य शृंखलामा दुवै देशको हित हुने गरी मिलनविन्दु पहिचान गर्ने प्रयासहरूमा गृहकार्य हुन आवश्यक छ ।

नेपालको आयातनिर्यात व्यापार र बंगलादेशको आयातनिर्यात व्यापारका तथ्यांकहरूको समयबद्ध विश्लेषणबाट पनि सम्भावनाका केही संकेतहरू मिल्छन् । एच एसकोडको भाग ४२, ५३, ५४ र ५५ तथा ६१ र ६२ का उत्पादनमा ती सम्भावना उपलब्ध छन् । ती सम्भावनालाई व्यवहारमा उतार्दा दुवै देशलाई नै लाभ हुने खालका स्वरूपहरू तय गर्न पनि दुवैतर्पmको पर्याप्त ध्यान आकृष्ट हुन सकिरहेको छैन । दुवै देशले केही क्षेत्रमा आफूलाई स्थापित गर्ने प्रयासमा छन् । अटोमोबाइल र नौकावहान जस्ता क्षेत्रहरू बंगलादेशमा उदीयमान क्षेत्रहरू हुन् भने नेत्रोपचारका उपकरणहरू विशेष गरी लेन्स उत्पादनमा नेपाल पनि स्थापित हुने जमर्को गरिरहेको छ । यी क्षेत्रहरूमा आपसी विद्यमान अवसरहरूलाई लाभमा परिणत गर्न पनि सोचको विकास हुन जरुरी छ ।    

नेपाल बंगलादेशबीच व्यापार अभिवृद्धिका लागि सिद्धान्तले दर्शाएका सम्भावनाहरूका माझ केही व्यावहारिक व्यवधानहरू पनि विद्यमान छन् । व्यापारमा स्थापित कारोबार र कारोबारी कम्पनीलाई त्यागेर नयाँ कारोबार र कम्पनीसँग कारोबारमा प्रवेश गर्न त्यत्ति सहज हुँदैन । विश्वास, वाचा, गोपनीयता जस्ता पक्षहरूले गर्दा परम्परागतदेखि आपूर्ति गर्ने कम्पनीसँग तुरुन्तै सम्बन्ध तोड्ने जोखिमहरू मोल्न आयातकर्ताहरू तयार हुँदैनन् । आफ्नो आपूर्ति प्रणालीभन्दा बाहिर सस्तोमा वस्तुहरू उपलब्ध हुँदाहुँदै पनि यही जोखिमका कारण नयाँ स्रोततर्फ आयातकर्ताहरू आकर्षिक हुँदैनन् । 

यसैगरी परम्परागत रूपमा कुनै देशबाट आयात गरिरहेको कम्पनीले विकल्पमा अर्को कम्पनीले पृथक् देशबाट आयात गर्दा स्वतः व्यवधानहरू उत्पन्न हुने नै गर्छ । यो नयाँ कम्पनीलाई प्रवेश निषेध गर्ने विश्वव्यापी यो प्रथालाई सबै देशका आयातकर्ताहरूले आत्मसात् गरेकै हुन्छन् । यसरी विश्वास, वाचा, गोपनीयता, एकाधिकारको लालसा, कार्टेल, सिन्डीकेट जस्ता विषय जहाँ पनि आकर्षित हुन्छन् । यस अवस्थामा बंगलादेशमा बजार हुँदाहुँदै पनि नेपालमा उत्पादन हुँदाहुँदै व्यापार सञ्चालन हुन व्यावहारिक रूपमा सम्भव भइरहेको छैन । यस्तै पुरानो आपूर्तिकर्ता गुम्ने र नयाँ आपूर्तिकर्ताको क्षमता पनि अनिश्चित रहँदा पुरानो आपूर्तिकर्तालाई छोडेर क्षणिक लाभमा नयाँ आपूर्तिकर्तासँग आयातकर्ताहरूले सम्बन्ध स्थापना गर्दैनन् । यी व्यावहारिक समस्या नेपाल बंगलादेश बीचको व्यापार सम्बन्धमा पनि आकर्षित हुन्छन् । 

उदाहरणका लागि बंगलादेशले करीब रू ४२ अर्बको दुग्धपदार्थ विशेष गरी धूलो दूधको ठूलो परिमाण न्यूजील्यान्डबाट आयात गर्ने गर्छ । न्यूजील्यान्डको विशाल दुग्ध उत्पादन क्षमता, आपूर्तिको सुनिश्चितता, गुणस्तरको प्रत्याभूति र कारोबारको निरन्तरताले सृजना गरेको व्यावसायिक साखलाई अन्य देशले सजिलै प्रतिस्थापन गर्न सक्ने सम्भावना छैन । 

नेपालले बंगलादेशमा दुग्धपदार्थ, प्याज, लसुन, गोलभेडा, दलहन, सुन्तला, स्याऊ, बेसार, अलैंची, अदुवा, गहुँ, जडीबुटी, अम्रिसोको कुँचो, रिठा, सेन्थेटिक यार्न तथा तयारी पोशाकका एक्सेसरिजहरू तथा नेत्रोपचारका लेन्सहरू निर्यात गर्न सक्ने सम्भावना रहेको छ ।

यी पक्षलाई ध्यान दिँदै नेपाल र बंगलादेशबीचको व्यापारलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ शिराबाट सोच्नु आवश्यक छ । यसका लागि माथि उल्लेख गरिएका सैद्धान्तिक र व्यावहारिक पक्षलाई सम्बोधन गर्ने गरी वस्तु विनिमयको मोडालिटी तयार गरिनुपर्छ । त्यो मोडालिटीमा दुवै देशका सरकार र व्यवसायीहरू सहमत हुनुपर्छ । सो सहमतिलाई आन्तरिकीकरण गर्ने गरी दुवै देशका सररकार र व्यवसायीबीच बीटुबी र जीटुजी सम्झौताहरू पनि हुन आवश्यक छ । ती सम्झौता दीर्घकालीन प्रकृतिका हुनुपर्छ र दुवैपक्षको अधिकतम लाभ हुने गरी जय जय रणनीतिको धरातलमा स्थापित गरिनुपर्छ । यस्ता सम्झौताको उल्लंघनलाई क्षतिपूर्तिका प्रावधानबाट वाध्यकारी बनाइनुपर्छ । सम्झौताहरू व्यष्टि व्यष्टिमा गरिनुपर्छ ताकि उल्लंघनलाई मापनयोग्य बनाइन सकियोस् । 

उपर्युक्त मोडालिटीबाट अघि बढ्ने हो भने नेपालले बंगलादेशबाट सुर्ती, जुट तथा जुटका उत्पादन, सुती कपडा र सुती निर्मित तयारी पोशाक, अटोमोबाइलका पार्टपुर्जा, गाडीका ब्याट्रीहरू, डुंगा, उष्ण जलवायुमा उत्पादन हुने नरिवललगायत कृषिजन्य उत्पादन ठूलो परिमाणमा आयात गर्न सक्छ । यसै गरी नेपालले बंगलादेशमा दुग्धपदार्थ, प्याज, लसुन, गोलभेडा, दलहन, सुन्तला, स्याउ, बेसार, अलैंची, अदुवा, गहुँ, जडीबुटी, अम्रिसोको कुचो, रिठा, सेन्थेटिक यार्न तथा तयारी पोशाकका एक्सेसिरिजहरू तथा नेत्रोपचारका लेन्सहरू निर्यात गर्न सक्ने सम्भावना रहेको छ । 

यी वस्तुको विनिमयको आधारमा गरिने व्यापार सम्झौतापूर्व नेपालले सर्वप्रथम आफ्ना उद्योगी व्यवसायीहरू र सम्बद्ध सरकारी निकायहरूबीच आम सहमति हुन आवश्यक छ । तत्पश्चात् नेपाल सरकार र सम्बद्ध उद्यमीहरूका विज्ञहरू सम्मिलित कार्यदलमार्फत नेपालले बंगलादेशबाट आयात गर्न सक्ने र निर्यात गर्न सक्ने वस्तुहरूको छनोट र सम्झौताका पक्षहरूलाई अन्तिम रूप दिनुपर्छ । तत्पश्चात् दुवै देशबीच सम्झौताका लागि गहन छलफल (निजीक्षेत्रका स्तरमा, प्राज्ञिक स्तर तथा सरकारीस्तरमा ) सञ्चालन गरिनु आवश्यक छ । दुवै देशका सबै पक्ष (सरकार, निजीक्षेत्र र प्राज्ञिक क्षेत्र) सहमत भई सकेपछि बीटुबी र जीटुजी तहमा विशेष सम्झौताहरू गरी द्विपक्षीय व्यापारको बलियो जग बसाल्नुपर्छ । दुई देशको व्यापार सुदृढीकरण गर्न विश्वव्यापी रूपमा प्रचलित यो मोडेल नेपाल बंगलादेश व्यापार अभिवृद्धिमा पनि अपनाइनु आवश्यक देखिन्छ । यसो नगरी शास्त्रीय ढंगबाट नेपाल र बंगलादेशबीच व्यापार अभिवृद्धि गर्ने प्रयासहरूलाई निरन्तरता दिँदा यी अभ्यास प्राज्ञिक आमोदप्रमोदका विषयमा मात्र सीमित रहने खतरा छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्