arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्याउ उत्पादन गर्न कृषकको आकर्षण, ६५ हजार मेट्रिक टन स्याउ निकासी    

२०७६ मंसिर, २०  
प्रदेश गण्डकी
Image Not Found

मंसिर २०,ठिनी(मुस्ताङ) । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रू.६० करोडभन्दा बढी रकम भित्र्याएका छन् ।     
     
जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए ।

‘जिल्लाभर १ हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ७०० हेक्टरमा उत्पादन हुन्छ’, उनले भने, ‘कृषक र व्यापारीबाट संकलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्यांक प्राप्त भएको छ ।’     
     
खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताए ।

उनका अनुसार गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य रू.१२० रहे पनि अधिकांश कृषकले बगैंचा नै ठेक्कामा विक्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ ।     
     
म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौं, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ । स्याउ विक्रीबाट रू. १ लाखदेखि ३ करोडसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरीद गर्न व्यापारी बगैंचामै आउने भएकाले बजारको समस्या नभएको बताए ।

उनीसँग ५० फल दिने र १ हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पुर्‍याउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा १० गुणा बढी आम्दानी हुने उनले बताए ।

स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायत परिकार बनाएर विदेशमा समेत निकासी हुनेगर्छ ।     
     
बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेती गर्ने कम रहेका भए पनि किन्न आउने बढी भएकाले माग पुर्‍याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकालीले बताए । रासस 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्