arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुदूरपश्चिममा वित्तीय सम्मेलन : नयाँ लगानीका संभावना उजागर गर्ने अपेक्षा

२०७६ मंसिर, २०  
प्रदेश ०७
Image Not Found
author avatar वीरेन्द्र भट्ट

मंसिर  २०, धनगढी । नौ जिल्ला, एक उपमहानगरपालिका, ३३ नगरपालिका, ५४ गाउँपालिकासहित ८८ ओटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशभित्र ७३४ वडा छन् । कुल जनसंख्याको १० प्रतिशत जनसंख्या यसै प्रदेशभित्र छ ।

८३ स्थानीयतहमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच पुगिसकेको छ । वित्तीय सुनिश्चितता कायम गर्न पहिलो पटक सुदूरश्चिमको धनगढीमा वित्तीय सम्मेलन शुक्रवार आयोजना गरिएको छ । उक्त सम्मेलनको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।

उनने यो प्रदेशको विकासका लागि संघीय सरकारले घोषणा गरेका आयोजनाहरुको निर्माण तीव्र गतिमा अघि बढाउन लागि परेको उल्लेख गरे । 

विषय विज्ञसहित सम्मेलनमा वाणिज्य बैंक, विकास बैंक, सहकारी, जीवन तथा निर्जीवन बीमा संस्थान र निजी क्षेत्रबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको छ ।बैंक तथा वित्तीय संस्थाका ६४५ शाखा प्रदेशभित्र स्थापना भएका छन् भने २९१ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।
 

कैलाली कञ्चनपुरमा केन्द्रित बैङ्क वित्तीय संस्थालाई ग्रामीण भेगमा विस्तार गर्न सके मात्र वित्तीय पहुँच अझ बढाउन सकिने नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टले बताए । 

‘वित्तीय पहुँचको सुनिश्चिता, प्रदेश सरकारको प्रतिबद्धता’ नेपालमै पहिलो पटक आयोजना गरिएको यसप्रकारको सम्मेलनले सुदूरपश्चिममा नयाँ लगानीका संभावना समेत उजागर गर्ने अपेक्षा आफुले गरेको निर्देशक भट्टले बताए ।

सम्मेलनमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले यसअघि कञ्चनपुरको दोधारा–चाँदनीमा घोषणा गरिएको सुख्खा बन्दरगाह निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि पहल थालिने बताए । 

तुलनात्मक रुपमा उद्योग विकासमा पछाडी परेको क्षेत्रलाई प्राथमिकतामा राखेर सोहि अनुरुपको वातावरण निर्माणमा मन्त्रालय लागेको उनको भनाई थियो । 
वित्तीय पहुँचको सुनिश्चितता गर्दै बिमा कम्पनी, पूँजीबजार, म्युचुअल फन्डहरू, बैंक तथा वित्तीय संस्था र लगानीका दायराहरू बढाउन प्रदेश सरकार अघि बढेको आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव सुमनराज अर्यालले बताए । 

उद्घाटनपछि प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले सुदूरपश्चिमको वित्तीय प्रणाली र वित्तीय पहुँच विषयमा कार्यपत्र प्रस्तुत गरेपछि वाणिज्य बैंकहरूका तर्फबाट वाणिज्य बैंक एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, विकास बैंकहरूका तर्फबाट विकास बैंक एसोसिएनका अध्यक्ष गोविन्द ढकाल, वित्त कम्पनीहरूका तर्फबाट वित्त कम्पनी एसोसिएनका अध्यक्ष सरोजकाजी तुलाधर, लघुवित्तका तर्फबाट विकास लम्साल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी अधिकृत डा. गुणाकरण भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए । 

त्यस्तै सहकारी, जीवन तथा निर्जीवन बिमा संस्थान र निजी क्षेत्रबाट पनि कार्यपत्र प्रस्तुत गरिएको छ । टिप्पणीकारका रूपमा स्वर्णिम वाग्ले, दीपेन्द्रबहादुर क्षेत्री, डाक्टर मीनबहादुर श्रेष्ठ रहेका थिए ।

सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, वित्तीय पहुँच पुग्न नसक्नुका कारण तथा चुनौती, वित्तीय पहुँच बढाउन गर्नुपर्ने कामलगायतको विषयमा समीक्षा गरिएको मन्त्री झपटबहादुर बोहराले बताए । 

सबै जनतामा वित्तीय पहुँचको सुनिश्चितता, कर्जा प्रवाहमा बढोत्तरी, बचतमा वृद्धि र परिचालन, पुँजी निर्माण, अत्याधुनिक बैंकिङ सेवाको दायरामा वृद्धि तथा प्रदेश सरकारले लिने गन्तव्य र लक्ष्य के हो भन्ने विषयलाई पनि यो सम्मेलनले प्रष्ट्याएको मन्त्री बोहराको दावी छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्