ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्थानीय स्रोतसाधनको उपयोगमा जोड दिएका छौं

२०७६ फागुन, १२  
अन्तरवार्ता
Image Not Found

हिमाली जिल्ला म्याग्दीको पश्चिमी भेगमा पर्ने धवलागिरि गाउँपालिकामा पर्यटन, जडीबुटी र कृषि तथा पशुपालनका लागि प्रशस्त सम्भावना छ । साविकका गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविस मिलेर बनेको यो गाउँपालिकाले जिल्लाको झन्डै ४५ प्रतिशत भू–भाग ओगटेको छ । यस गाउँपालिकाको ४ नम्बर वडा मुदीमा संसारको सातौं अग्लो हिमाल (८,१६७ मिटर) धवलागिरि पर्दछ । अल्पसंख्यक छन्त्याल समुदायको समेत बस्ती रहेको यस गाउँपालिकामा पर्यटनको सम्भावना उच्च देखिन्छ । साथै जडीबुटी संकलन तथा प्रशोधन तथा विक्रीबाट गाउँपालिकामा समृद्धि हासिल गर्न सकिने देखिन्छ । यसै सन्दर्भमा गाउँपालिकामा भएका विकास निर्माण, सम्भावना, चुनौती लगायत विषयमा गाउँपालिकाका अध्यक्ष थमसरा पुनसँग आर्थिक अभियान दैनिकका म्याग्दी संवाददाता ध्रुवसागर शर्माको गरेको कुराकानीको सार :

निर्वाचित भएको साढे २ वर्षको अवधिमा गाउँपालिकाको विकास र समृद्धिका लागि के के काम गर्नुभयो ?
हामी गाउँपालिकामा निर्वाचित भएर आएको साढे २ वर्ष बितिसकेको छ । यस अवधिमा खासगरी गाउँपालिकाको केन्द्र कायम गर्नुका साथै कार्यालय व्यवस्थापन, गाउँपालिकाको भवन निर्माणका लागि १० रोपनी जग्गाको व्यवस्थापन, आवधिक योजना बनाउने, गाउँपालिकाको ७ ओटै वडाभित्र हेलिप्याड निर्माण, खेलमैदान व्यवस्थित र निर्माणजस्ता कामहरू सम्पन्न भएका छन् ।

गाउँपालिकाको १ नम्बर वडा गुर्जाबाहेक २, ४, ५ र ६ नम्बर वडालाई कच्ची सडकले जोड्ने काम अगाडि बढेको छ । ७ र ३ नम्बर वडामा सडकको स्तरोन्नतिको काम भएको छ । विद्युत्तर्फ भने केन्द्रीय प्रसारण लाइनबाट ७ र ६ नम्बर वडाको आधा बस्तीमा बिजुली पुर्‍याइएको छ भने लुलाङ, मुदीको बगरा र चेचुङ तथा मराङको बुलमा माइक्रो हाइड्रोको बिजुलीका साथै सोलार बत्ती जडान गरिएको छ । बाँकी १, ३ र ५ नम्बर वडामा लघुजलविद्युत् योजना सञ्चालन गरिएको छ । २ नम्बर वडामा वैकल्पिक ऊर्जा तथा ४ नम्बर वडाको बगरामा गाउँपालिका र गिभ पावरको आर्थिक सहयोगमा सोलार बत्ती जडान गरिएको छ । जनताको आधारभूत आवश्यकतालाई ध्यानमा राखेर तत्काल र क्रमिक रूपमा गर्नुपर्ने कामलाई पालिकामार्फत जोड दिइएको छ ।साथै धवलागिरि गाउँपालिकाको विद्युत् र सडक नपुगेका वडाहरूमा पालिकाको विशेष पहलमा सडकको पहुँच पु¥याउने तथा बिजुली बत्ती बाल्ने योजना जोडतोडका साथ अगाडि बढाइएको छ ।

समृद्ध धवलागिरि गाउँपालिकाका लागि स्थानीयस्तरका स्रोतसाधन र आधार के के हुन् ?
हाम्रो गाउँपालिकाको समृद्धिका प्रमुख आधार जडीबुटी र पर्यटन नै हो । जडीबुटी संकलन तथा प्रशोधन, जलविद्युत् निर्माण, पशुपालन, पर्यटकीय गन्तव्यका क्षेत्रहरू धवलागिरि बेसक्याम्प, गुर्जा हिमाल, ऐतिहासिक ताकमकोत, मुदीको बगरा तथा गुर्जाको तातोपानी कुण्ड, गुर्जा र मल्कबाङका खानी, कृषि तथा पर्यटन नै समृद्धिका आधारहरू हुन् । नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षले पनि धवलागिरि–१, गुर्जालाई समेट्छ भने धवलागिरि हिमालसमेत हाम्रै गाउँपालिकामा पर्ने हुँदा यसबाट आउने रोयल्टीलाई पनि गाउँपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ ।

धवलागिरि हिमालको रोयल्टीलाई पालिकको विकास निर्माणमा लगानी गर्ने कुरा गर्नुभयो । गाउँपालिकालाई अहिले कति आउँछ हिमालको रोयल्टी ?
हाम्रो गाउँपालिकाको समृद्धिका आधारहरूमध्ये एउटा आधार धवलागिरि हिमाल पनि हो । तर, संघीयताको कार्यान्वयन भएको यतिका समयसम्म पनि गाउँपालिकालाई एकदमै नगन्य मात्रामा पर्यटनको अर्थात् धवलागिरि हिमालको रोयल्टी आउने गरेको छ । कुल आम्दानीको ६० प्रतिशत सम्बन्धित स्थानीय तहमा आउनुपर्ने भए पनि अहिले वार्षिक करीब ५ प्रतिशत मात्रै आउँछ ।

यसले गर्दा पर्याप्त सम्भावना र स्रोत हुँदाहुँदै पनि त्यसबाट पाउनुपर्ने हिस्सा नपाउँदा गाउँपालिकामा सोचेअनुसार पर्याप्त बजेट खर्च गरेर काम गर्न सकिएको छैन । अझै पनि पुरानै सोच र प्रणालीका कारण हाम्रो स्थानीय तहले नियमअनुसार पाउनुपर्ने पर्यटन क्षेत्रको रोयल्टी नपाएको यथार्थ हो । ग्रामीण क्षेत्रको विकास र परिवर्तन गर्ने हो भने पुरानो सोच र प्रणाली पनि परिवर्तन हुन जरुरी छ ।

गाउँपालिकामा योजना छनोटका आधारहरू कसरी तय गर्नुभएको छ ?
राज्यको पुनःसंरचना भएसँगै अहिले नेपालमा तीन तहका सरकारहरू क्रियाशील छन् । केन्द्रमा संघीय सरकार, प्रदेशमा प्रदेश र पालिकाहरूमा स्थानीय सरकार रहेका छन् । हामी स्थानीय सरकार भएका नाताले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार पालिकालाई समृद्ध बनाउने अभियानमा लागेका छौं ।

यही ऐनको आधारमा पालिकाको काम अगाडि बढाएका छौं । साथै स्थानीय जनताको मागका आधारमा समेत कतिपय योजनाहरूलाई छनोट गरी प्राथमिकता क्रम तोकेर विकास निर्माणमा जोड दिइएको छ ।

चालू आर्थिक वर्षको ७ महीना बितिसक्यो । हालसम्म लक्ष्यअनुसार कति प्रतिशत हासिल गर्नुभयो ?
७ महीनाको अवधि बितिसक्दा लक्ष्यअनुसारको प्रगति हासिल गर्न सकिएको छैन । तैपनि, अहिलेसम्म समग्रमा करीब २० प्रतिशत मात्रै लक्ष्य हासिल गरेका छौं । भौगोलिक विकटता, प्राकृतिक चुनौती (वर्षा र हिमपात), सडक अवरुद्ध, पदमार्ग निर्माणमा समस्या, कर्मचारी समायोजनले समस्या, स्थानीय उपभोक्तामा पुरानै सोच, बुझाइको कमी, दुर्गममा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुनु जस्ता कारणले सोचेजति काम गर्न नसकिएको हो । अब भने कर्मचारी समायोजन भएर आइसकेको हुँदा प्रगतिको पाइला तीव्र बन्नेछ ।

गाउँपालिकाभित्र आन्तरिक स्रोतहरू के–के छन् ? वार्षिक आम्दानी कति हुन्छ ?
धवलागिरि गाउँपालिकामा आन्तरिक स्रोत भनेका नै मुख्यतया दर्ता र सिफारिश, ढुंगा, गिट्टी, बालुवा, व्यवसाय दर्ता नवीकरण (होटल, पसल, कृषि फार्म) दस्तुर हो । स्थानीयलाई करको दायरामा ल्याउने प्रयत्न भइरहेको छ भने पर्यटन, जडीबुटी र जलविद्युत्बाट पर्याप्त फाइदा लिन सकिएको छैन । आन्तरिक स्रोततर्फ वार्षिक आम्दानी २० लाख रुपैयाँ हुने गरेको छ ।

म्याग्दीका ६ ओटा स्थानीय तहमध्ये एउटा गाउँपालिकाको प्रमुख, त्यसमा पनि महिला हुनुहुन्छ । महिलास“ग सम्बन्धित कस्ता–कस्ता कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ?
म्याग्दी जिल्लाका ६ ओटा स्थानीय तहमध्ये धवलागिरि गाउँपालिकाको प्रमुख, त्यसमा पनि महिला म मात्रै हुँ । मैले खासगरी आफ्नो गाउँपालिकामा महिलाहरूलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रमहरूलाई जोड दिएकी छु । वडामार्फत महिलालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न पहल गर्दै आएकी छु । महिला दिदीबहिनीको स्वास्थ्यमा जोड दिएर ‘सुनौला हजार दिनका आमाहरूसँग अध्यक्ष’ कार्यक्रम सञ्चालनमा छ । चालू आर्थिक वर्षमा पालिकाका सबै वडामा यो कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । योसँगै महीनावारी स्वच्छता, वाशप्लान, लोकल कुखुरा वितरण कार्यक्रम, किशोरीलाई लक्षित गरेर विद्यालयस्तरमा सेनेटरी प्याड निर्माणसम्बन्धी तालीम तथा वितरण, ‘उमेर सान्दर्भिक विवाह उपाध्यक्ष कार्यक्रम’ लगायत सञ्चालनलाई विशेष प्राथमिकतामा राखेका छौं । दुर्गम र ग्रामीण भेगका महिलाको आर्थिक सशक्तीकरणका लागि आय–आर्जन र व्यवसायमूलक कार्यक्रम पनि छन् ।

मोटरबाटोको सम्भावना नरहेको गुर्जालाई जोड्न गाउ“पालिकाको सुरुङमार्ग बनाउने योजना थियो । कार्यान्वयनको अवस्था कस्तो छ ?
गुर्जालाई सुरुङमार्गले जोड्ने योजना बनाइए पनि त्यो स्थानीय सरकारको पहुँचभित्र पर्न सकेको छैन । स्थानीय सरकारको बजेटले भ्याउन नसक्ने भएकाले सुरुङमार्ग बनाउने योजना कार्यान्वयन हुन नसकेको हो । यसका लागि प्रदेश र केन्द्र सरकारले आवश्यक बजेट व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।

गाउँपालिकामार्फत अहिले लुलाङदेखि गुर्जा जाने गोरेटो बाटोलाई पदमार्ग बनाउन लागिएको छ । गोरेटो बाटोको स्तरोन्नति गरी त्यसलाई पदमार्गमा रूपान्तरण गर्न लुलाङ र गुर्जा दुवै तर्फबाट काम भइरहेको छ ।

अबको प्राथमिकतामा के कस्ता विषय छन् ?
गाउँपालिकामार्फत शुरू गरिएका अधुरा कार्यक्रमलाई आगामी दिनमा पूर्णता दिनेछु । गाउँपालिकाको भवन निर्माणको शुरुआती, गौरवका योजनाहरूमध्ये ‘एक घर, एक धारा’को खानेपानी योजना सञ्चालन, सडक तथा विद्युत्, कृषि र पर्यटनलाई जोड, तातोपानीका कुण्डको संरक्षण तथा व्यवस्थापनजस्ता कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइनेछ । खासगरी धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक बाँकी सबै वडामा सडक र विद्युत्को पहुँच पुर्‍याउने योजना कार्यान्वयन गर्नेछौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्