ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंकिङ कानूनमा संशोधनबाट क्षमता बढ्ला ? 

अर्थहीन प्रावधान र यथावत् रहने अन्योल

२०७६ फागुन, १३  
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको पहिलो बजेट (२०७५) मा वित्तीय क्षेत्रका नियामक निकायको क्षमता अभिवृद्धि गर्न तत्तत् क्षेत्रका ऐनमा संशोधन गरिने बताएका थिए । सबैभन्दा ठूलो वित्तीय क्षेत्र मानिने बैंकिङलाई नियमन गर्ने तालुकी अड्डा नेपाल राष्ट्र बैंक ऐन, २०५८ र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता भएको छ । वित्तीय क्षेत्रकै अर्को महŒवपूर्ण अंश मानिने धितोपत्र सम्बन्धी ऐन, २०६३ संसद्मा पुगिसकेको छ । त्यस्तै, बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने नयाँ ऐन पनि संसद्मा विचाराधीन छ । 

आफ्ना संस्था’ भन्ने गरेको व्यवस्था अन्योलयुक्त छ । यसको सट्टा सम्बद्ध विषय वा क्षेत्रमा अध्ययन अनुसन्धान वा कार्य गरेको अनुभवभन्दा केही सान्दर्भिक हुन्थ्यो ।

संशोधनका बुँदा 
नेपाल राष्ट्र बैंक ऐन, २०५८ तेस्रो संशोधन विधेयक २०७६ मा (१) गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने र (२) वित्तीय स्थायित्व कोषको स्थापना गर्ने मुख्य विषय रहेका छन् । त्यस्तै, बाफिया पहिलो संशोधन विधेयक २०७६ मा (१) कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक हटाइएको, (२) लघुवित्तले निर्गमन गर्ने शेयरको बढीमा ५० प्रतिशत सदस्यलाई छुट्ट्याउन सक्ने, (३) सञ्चालक लगातार २ कार्यकालसम्म मात्र निवार्चित वा मनोनीत हुनसक्ने, (४) सम्बद्ध विषयमा स्नातक वा स्नातकोत्तर उपाधि हासिल गरी विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बद्ध क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तीमा क्रमशः ५ वर्ष र ३ वर्ष काम गरेको व्यक्ति मात्र ‘क’ देखि ‘ग’ वर्गसम्मका संस्थामा सञ्चालक हुन पाउने, (५) २५ वर्ष उमेर नपुगेका र ६५ वर्ष उमेर नाघेका सञ्चालक हुन अयोग्य हुने, (६) कार्यकारी प्रमुख नियुक्त र बर्खास्त गर्दा नेपाल राष्ट्र बैंकको सहमति लिनुपर्ने, (७) २ कार्यकाल मात्र कार्यकारी हुन पाइने व्यवस्था तत्काल लागू हुने, (८) ‘घ’ वर्गका लघुवित्त ‘ख’ वर्गको विकास बैंकमा स्तरोन्नति हुनसक्ने जस्ता मुख्यमुख्य विषय संशोधनमा परेका छन् ।

औचित्यहीन व्यवस्था 
संशोधन विधेयकमा परेका अधिकांश बुँदा लगभग कार्यान्वयनमा आइसकेका विषय हुन् । हालको ऐनमा कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालकको व्यवस्था भए पनि व्यवहारमा यस्तो अभ्यास नभएको हुँदा संशोधनले हटाए पनि नहटाए पनि यसको खास अर्थ देखिँदैन । सञ्चालकका लागि ‘सम्बद्ध क्षेत्रका संगठित क्षेत्र’ र ‘नेपाल सरकारको अधिकृतस्तर’ मा काम गरेको हुनुपर्ने योग्यता औचित्यहीन दस्तावेज हो । किनभने बैंकको सञ्चालक बन्नकै लागि कोही पनि नेपाल सरकारको सेवामा प्रवेश गरेको हुन्न र गर्दैन । नेपाल सरकारको अनेकौं सेवा छन् र यिनको प्रत्यक्ष ‘साइनो’ बैंकिङसँग हुँदा पनि हुँदैन । सरकारी सेवाका नेपाल प्रशासन सेवाका सबै (सामान्य प्रशासन, राजस्व र लेखा), नेपाल न्याय सेवाको २ ओटा (कानून र सरकारी वकिल) समूह र नेपाल लेखापरीक्षण सेवा केही हदसम्म सान्दर्भिक हुन सक्छन् । तर, सरकारी सेवामा पर्ने कृषि, वन, परराष्ट्र, संसद्, इन्जिनीयरिङ, स्वास्थ्य, विविधलगायत सेवाका अधिकृतलाई बैंकको सञ्चालक हुनसक्ने योग्यता तोक्नुको अर्थ देखिँदैन । 

नेपालको सन्दर्भमा सञ्चालकको भूमिका गैरकार्यकारी प्रकृतिको हुँदा यिनलाई उमेर हद लगाउनुको औचित्य पनि देखिँदैन । केही समयअघि कार्यकारी प्रमुख र सञ्चालकको उमेरमा हद लगाउने परिपत्र अदालतसम्म पुगेको थियो । संशोधन विधेयकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको उमेर हद तोकिनु तर प्रमुख कार्यकारीको उमेर हद नतोकिनु आश्चर्यलाग्दो बनेको छ । 

स्वतन्त्र सञ्चालक हुन् पनि ‘सम्बद्ध क्षेत्रका संगठित संस्था’ र ‘नेपाल सरकारको सेवामा अधिकृत’ भएको हुनुपर्ने व्यवस्थाले ‘स्वतन्त्र सञ्चालक’ हुन् कि ‘पराधीन सञ्चालक’ हुन् पत्तो पाउन सकिएको छैन र यसले ‘स्वतन्त्र’ शब्दलाई नै संकुचनमा पारेको छ । विषयगत क्षेत्र (कानून, चार्टड एकाउन्टेन्सी) बाट आउने विशेषज्ञलाई व्यावसायिक संस्थाबाट प्रमाणपत्र प्राप्त गरेको यति समय पूरा भएकोसम्म भन्न सकिन्थ्यो । कानूनबाट आउनेलाई ‘नेपाल बार काउन्सिल’बाट अधिवक्ताको प्रमाणपत्रप्राप्त गरी निश्चित वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्दा व्यावसायिक दक्षता हेर्ने मनसाय राखियो भन्न सकिन्थ्यो । कम्पनीको कानूनी पक्षसमेत बुझ्ने स्वतन्त्र सञ्चालक खोजिएको भए ‘कम्पनी कानून’ विषय लिएर अध्ययन गरेको भन्ने व्यवस्था गरेको भए उत्तम हुन्थ्यो ।

लघुवित्तले निर्गमन गर्ने शेयरको बढीमा ५० प्रतिशत सदस्यलाई छुट्ट्याउन सक्ने व्यवस्था के औचित्यको आधारमा राखिएको हो, यसको कारण पनि कतै भेटिँदैन । जलविद्युत्को शेयर स्थानीयलाई आरक्षण गरेर के लाभ भयो अध्ययन गर्नुपर्ने बेलामा फेरि अर्को ‘आरक्षणको गाँड’ थप्ने काम भएको छ । १० कित्ता शेयर कनिकाझैं छरेर ‘समृद्धिको सपना’ फगत कोरा कल्पना मात्र हो । बैंकिङ सेवाको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्ने संस्थाले शेयर ‘यसलाई देऊ, उसलाई नदेऊ’ भन्नु सान्दर्भिक होइन । शेयर व्यक्ति वा संस्था कसलाई कति दिने भन्ने विषयको निर्धारण शेयरबजारको नियमक (धितोपत्र बोर्ड) ले गर्ने हुँदा यसमा केन्द्रीय बैंकको हस्तक्षेप अनुचित छ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधनमार्फत थप गरिएको ‘वित्तीय स्थायित्व कोष’को स्थापनाले बैंक वित्तीय संस्था वित्तीय सङ्कटमा परेको कारणले समग्र वित्तीय प्रणलीमा जोखिम उत्पन्न हुनसक्ने देखिएमा कोषको रकम यस्ता संस्थाको उत्थानमा उपयोग गर्ने व्यवस्थाले सम्भावित बैंकिङ सङ्कट टार्न सक्ने अनुमान गर्न सकिन्छ । संशोधनको यो व्यवस्थाले वित्तीय संकटमोचन गरी वित्तीय स्थायित्व ल्याउन सक्ने हुँदा यसलाई भने उचित मान्न सकिन्छ ।

हालको ऐनमा कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालकको व्यवस्था भए पनि व्यवहारमा यस्तो अभ्यास नभएको हुँदा संशोधनले हटाए पनि नहटाए पनि यसको खास अर्थ देखिँदैन । 

सम्बद्ध क्षेत्रका संस्था
ऐनले योग्यता तोक्ने क्रममा ‘सम्बद्ध क्षेत्रका संगठित संस्था’ भन्ने गरेको व्यवस्था पनि अन्योलयुक्त छ । ‘सम्बद्ध क्षेत्रका संगठित संस्था’ भन्नुको सट्टा सम्बद्ध विषय वा क्षेत्रमा अध्ययन अनुसन्धान वा कार्य गरेको अनुभव भन्दा केही सान्दर्भिक हुन्थ्यो । बरु यसका लागि एउटा स्मरण सूची (चेक लिष्ट) नै बनाइदिएर त्यसको अंकभारसमेत राखेर न्यूनतम यति अंक प्राप्त गरेको व्यक्ति सञ्चालक हुनसक्ने व्यवस्था सान्दर्भिक हुन्थ्यो । ‘सम्बद्ध क्षेत्रका संगठित संस्था’ को परिभाषा गर्ने ‘बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी विनियमावली २०७४’ ले ‘नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, नेपाल सरकारको स्वामित्वप्राप्त कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, कर्जा तथा निक्षेप सुरक्षण कोष, बीमा समिति, बीमा समितिबाट इजाजतप्राप्त बीमा कम्पनीहरू, नेपाल धितोपत्र बोर्ड, बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर्स, धितोपत्र विनिमय बजार (स्टक एक्सचेन्ज), धितोपत्र राफसाफ सम्बन्धी कम्पनी सम्झनुपर्छ’ भनेर गरेको व्यवस्था सक्षम व्यक्ति पन्छाउने दाउपेच र आफ्नै लागि भविष्य सुरक्षित पार्नेबाहेक अर्को आन्तर्य देखिँदैन । परिभाषित संस्थामा काम गर्नेबित्तिकै सञ्चालक हुन् योग्य भइहाल्ने व्यवस्था हास्यास्पद छ । उल्लिखित संस्थामा पनि विभिन्न प्रकारका सेवा हुन्छन् र ती सबै वित्तीय प्रणालीसँग सम्बन्ध राख्ने हुन्छ भन्ने छैन ।

संक्रमणकालीन व्यवस्थाको अभाव
ऐन निर्माण र संशोधन गर्ने प्रक्रिया लामो हुन्छ । ऐनको निर्माण गर्दा तत्कालीन अवस्थाको साथसाथै दीर्घकालमा समेत त्यसको प्रभाव हेरेर निर्माण गर्नुपर्छ । ऐन निर्माणको चरणमा रहँदा साविकको ऐन वा विशेष व्यवस्थाले कार्य सञ्चालन गरिरहेको हुन्छ । ऐन निर्माण भएर लागू हुँदा तत्कालीन रूपमा चलिरहेको व्यवस्था नयाँ व्यवस्थामा एकै पटक फड्को मार्न सक्दैन । यस्तो अवस्थामा ऐनमा संक्रमणकालीन व्यवस्था राख्ने प्रचलन हुन्छ । तर, संशोधन विधेयकमा यस्तो व्यवस्था नराखिनाले साविकको ऐन बमोजिम मनोनयन वा निर्वाचनमार्पmत बनेका सञ्चालकलाई चालू कार्यकाल पूरा गर्न विद्यमान संशोधनले बाधा नपार्ने संक्रमणकालीन व्यवस्था राख्नु अत्यन्त जरुरी छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्