ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हनुमन्ते कोरिडोर निर्माणमा जग्गा विवाद

२०७६ फागुन, १३  
विविध
NA

काठमाडौं । काठमाडौंको व्यस्त सडकको जाम हटाउने उपायका रूपमा हेरिएको हनुमन्ते कोरिडोर निर्माण जग्गा विवादका कारण अपेक्षानुसार अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमवार बसेको बैठकमा हनुमन्ते नदीमा कोरिडोर निर्माण गत वर्षदेखि शुरू भए पनि विभिन्न स्थानमा जग्गाको स्वामित्वको विवादले बाधा पु¥याएको भन्दै समाधान खोज्नुपर्ने विषयमा छलफल भएको छ । 

शहरी विकास मन्त्रालयले व्यक्तिगत जग्गा भएका कारण समस्या भएको बताएको छ । त्यस्तै नेपाल सरकारले निर्माण गरिरहेको सडक, पुल, ढललगायत संरचनासमेत समयमै नसकिँदा कोरिडोर निर्माणमा बाधा पुगेको छ । मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जग्गाका कारण कोरिडोर निर्माणमा ढिलाइ हुन नदिन अवरोध हटाएर अघि बढ्नुपर्ने बताए । दश÷दश मिटर नदीको बहाव क्षेत्र, १०÷१० मिटर हरियाली क्षेत्र र १०÷१० मिटर सडक गरी कोरिडोरका लागि ३०/३० मिटर चौडा जमिन चाहिने उनको भनाइ छ । 

कतिपय स्थानमा यही ३० मिटर क्षेत्रभित्रै घरलगायत संरचना छन् । तिनलाई हटाएर आवश्यक स्थान खाली गराउनसके निर्माण सम्पन्न गराउन सकिने उनले बताए । उनले भने, ‘आवश्यक स्थान खाली भएपछि निर्माण व्यवसायीले समयभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने हामीलाई विश्वास छ ।’ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले नदीको क्षेत्रमा आफ्नो जग्गा पर्नेमध्ये कतिपयले सहजरूपमा लिएको भए पनि कतिले नलिएको बताए । 

कतिपय व्यक्तिको जग्गाको केही भाग मात्रै परे पनि कतिपयको पूरै जग्गा पर्दा उनीहरुले मुआब्जाको माग गरिरहेका छन् । नगरपालिकाले पटकपटक जग्गा विवादका कारण आयोजनालाई निर्माण रोक्न भनिरहेको उनको भनाइ छ । ‘स्थानीय तहले सहजीकरण गर्नुपर्नेमा आफ्नै जग्गा विवाद रहेको छ,’ उनले भने । आयोजनाका वरिष्ठ डिभिजन इञ्जिनीयर योगेन्द्र चित्रकारले यस क्षेत्रमा कोरिडोर निर्माण सम्पन्न हुँदा डुबानको समस्या समेत समाधान हुने बताए । गतवर्ष वर्षात्का समयमा हनुमन्ते नदीका कारण नदी आसपासका बस्ती डुबानमा परेको थियो । नदीको बहाव क्षेत्र कायम हुँदा त्यसले बस्ती प्रवेश नगर्ने उनको भनाइ छ । 

यस कोरिडोरको निर्माण सम्पन्न हुँदा सल्लाघारीबाट खोला किनारैकिनार बल्खुसम्म पुग्न सकिनेछ । उनले भने, ‘अहिले विभिन्न विवादले निर्माणलाई बाधा पुगेकाले त्यसलाई हटाउन लाग्नुपर्छ ।’ समितिकी सभापति कल्याणीकुमारी खड्काले तत्कालका लागि मापदण्डअनुसार २० मिटर चौडाइको सडक निर्माण गर्न नसकिए पनि तत्कालका लागि सवारीसाधन गुडाउन सकिने गरी सडक निर्माण गर्नुपर्ने बताए । कोरिडोर पूर्णरूपले सञ्चालनमा आउँदा उपत्यकाको सबैभन्दा बढी जाम हुने स्थानका रूपमा रहेको जडीबुटी चोकको समस्या केही हदसम्म समाधान हुने उनले बताए । ‘दीर्घकालीन रूपमा यसको समाधान अण्डरपास वा ओभरफ्लाई होला तर तत्कालका लागि सहायक सडकबाट पनि जाम कम गर्न सकिन्छ,’ उनले भने ।

समितिकी सदस्य विनाकुमारी श्रेष्ठले हालका लागि राधेराधेसम्म सडक खुलाउन सकियो भने मुख्य सडकको जाम कम गर्न सकिने बताए । अहिले व्यक्तिगत जग्गा र सार्वजनिक जग्गामा पनि विभिन्न निकायबीच विवाद रहेकाले त्यसको समाधान खोज्नुपर्नेमा उनको जोड छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्