ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मास्कको अभावपछि ३ गुणा मूल्यवृद्धि

२०७६ फागुन, १३  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । बजारमा व्यवसायीले मास्कको आफूखुशी मूल्यवृद्धि गर्न थालेको पाइएको छ । १ महीना अघिसम्म रू. ५०० सम्ममा पाइने मास्कको प्याकेटको मूल्य अहिले रू. १५ सय नाघेको छ । माघ दोस्रो साता बजारमा डोचिम मास्कको प्रतिप्याकेट मूल्य रू. ५०० र साधारण मास्कको मूल्य रू. ३०० थियो । बजारमा मास्कको अभाव भएको भन्दै व्यवसायीले उक्त डोचिम मास्क रू. १५ सयदेखि १७ सयसम्म र साधारण मास्क रू. १ हजारसम्ममा विक्री गर्न थालेका छन् । निम्स फार्मेसी थापाथलीका अनुसार थोक विक्रेताले नै ३ गुणासम्म बढी मूल्यमा मास्क बेचिरहेकाले मेडिकलमा मास्कको मूल्य बढेको हो । 

चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ (कोरोना भाइरस)ले विश्व स्वास्थ्य क्षेत्रमा यतिबेला हलचल ल्याएको छ । नेपालमा पनि मास्कको माग बढ्दै गएपछि त्यसैको फाइदा उठाउँदै व्यवसायीले गैरकानूनी रूपमा मूल्यवृद्धि गर्न थालेका हुन् । 

विकास सर्जिकल कन्सर्न प्रालिका प्रबन्ध निर्देशक एबी भण्डारी बजारमा मास्कको अभाव भएको बताउँछन् । एक महीनादेखि आफूसँग मास्क नभएको बताउँदै उनले थोक विक्रेताले नै पनि ३ गुणा बढी मूल्यमा मास्क खरीद गर्नुपरेको बताए । ‘एक महीनादेखि सर्जिकल पसलमै मास्कको अभाव छ,’ उनले भने ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपालमा पनि मास्कका प्रयोगकर्ता बढेका छन् । मागमा आएको वृद्धि र मास्कको अभावका कारण मूल्य बढ्दै गएको व्यवसायी बताउँछन् । 

हाल नेपालमा तीनओटा मात्र मास्क उत्पादन गर्ने उद्योग छन् । ती उद्योगले मागअनुसार मास्क उत्पादन गर्न नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । ‘हाल नेपालमा भएका तीनओटा उद्योगबाट दैनिक ९ हजार थान मात्र मास्क उत्पादन भइरहेका छन्,’ उनले भने ।

मेडिकल पसलमा मास्कको अभाव देखिए पनि फूटपाथमा भने मास्कको अभाव देखिँदैन । मास्कको माग बढ्दै गएपछि बजारमा यसको कालोबजारी बढ्दै गएको सरोकारवाला बताउँछन् । ‘बजारमा सर्जिकल मास्कको कालोबजारी बढ्दै गएको छ, हामी यसको अनुगमन गर्दै छौं,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । फुटपाथमा मास्क बेच्ने व्यवसायीले मोटरसाइकलमा मास्क बेच्न आउनेसँग प्रतिप्याकेट रू. एक हजारदेखि १२ सयसम्ममा किन्ने गरेको बताए । ‘मोटरसाइकलमा मास्क बेच्न आउनेसँग हामी मास्क खरीद गर्छौं, तर ती मान्छेलाई चिन्दैनौं,’ रत्नपार्कस्थित फुटपाथमा मास्क बेच्दै गरेकी अनिता थापाले भनिन् । वाणिज्य विभागका महानिर्देशक सुवेदीले गैरकानूनी रूपमा मूल्य बढाएर मास्क बेच्नेहरूलाई कारबाही गर्ने बताए । ‘हामी यसको अनुगमन गरिरहेका छौं, मास्कको कालोबजारी गर्नेलाई कानूनी दायरामा ल्याएर कारबाही गर्छौं,’
उनले भने ।

नेपालमा उत्पादित मास्कको गुणस्तर कम
नेपाली उद्योगहरूले उत्पादन गरेको मास्कको गुणस्तर कमसल भएको विक्रेताहरूले बताएका छन् । तर सरकारले न मास्कको गुणस्तरका बारेमा मापदण्ड बनाएको छ न त यसको अनुगमन नै गरेको पाइन्छ ।

धूलो र धूँवा तथा श्वासप्रश्वासबाट सर्ने रोगबाट बच्न मास्कको प्रयोग हुने भए पनि नेपालमा उत्पादन हुने मास्क कम गुणस्तरको भएकाले प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन् । बायोटेक फिजियो एन्ड सर्जिकल इक्वीपमेन्ट हाउस त्रिपुरेश्वरका प्रबन्ध निर्देशक शशिकुमार महतोका अनुसार सर्जिकल मास्क दुई र तीन पत्रका गरी दुई किसिमका हुन्छन् । तर, बजारमा धेरैजसो दुईपत्रे मास्क मात्र पाइने गरेको उनले बताए । ‘चीनबाट आयात हुने मास्कको जस्तो गुणस्तर नेपाली मास्कको छैन,’ उनले भने । निम्स फार्मेसी थापाथलीका सञ्चालकले पनि कारोना भाइरसको त्रासका कारण बजारमा मास्कको अभाव बढ्दै गएपछि कमसल खालका मास्कको व्यापार बढेको बताए । मास्कका प्रयोगकर्ता जनक दर्लामीले अहिले बजारमा पाइने मास्क र महीनादिन अघि पाइने मास्कको गुणस्तर फरक भएको बताए । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कम गुणस्तरका मास्क उत्पादन भएको भनेर अहिलेसम्म विभागमा उजुरी नपरेको बताए । औषधि व्यवस्था विभागका सूचना अधिकृत सन्तोष केसीका अनुसार अनुगमन गर्ने निकायले प्रभावकारी अनुगमन नगर्दा पनि उद्योगीले कम गुणस्तरको मास्क उत्पादन गरेका हुन् ।

कम गुणस्तरका मास्कले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भएको उनले बताए । सर्जिकल मास्कको अभाव दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा धेरैजसो फार्मेसी र सर्जिकल हाउसले आफ्नो पसलको अगाडि नो मास्क लेखिएको बोर्डसमेत राखेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार नेपाल सरकारले हालसम्म मास्कको गुणस्तरका बारेमा कुनै मापदण्ड तोकेको छैन । त्यही भएर अनुगमन गर्न गाह्रो भएको उनको भनाइ छ । मापदण्ड तय भएमा त्यसैको आधारमा गुणस्तर नाप्ने उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्