ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘कोविद–१९’ संक्रमणको जोखिममा विश्व अर्थतन्त्र

बैंकिङ जगत् पनि अछुतो रहन सक्दैन

२०७६ फागुन, १४  
लेख | दृष्टिकोण
NA
author avatar प्रकाश भण्डारी

सन् २०२० संघारमा आएसँगै चीनबाट विश्वमा भित्रिएको ‘कोविद–१९’ भाइरसले समग्र विश्व अर्थतन्त्रमाथि नै नकारात्मक प्रभाव पार्ने अनुमान गरिसकिएको परिप्रेक्ष्यमा त्यसले अर्थतन्त्रको एउटा अवयवका रूपमा रहेको बैंकिङ क्षेत्रचाहिँ निष्प्रभावी रहला भनेर कसैले अनुमान गर्न सक्दैन ।

ऋण असुली हुन नसक्दा चीनमा यो वर्ष ८०० अर्ब डलर बराबर खराब कर्जा बढ्नेछ र राष्ट्रव्यापी रूपमा यस्तो खराब कर्जाको प्रतिशत करीब साढे ६ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ ।

शुरूमा ‘नोबल कोरोना’ भनिएको र पछि विश्व स्वास्थ्य संगठनले ‘कोविद –१९’ नाम दिएको यो भाइरसले यसको उत्पत्ति देश चीनको अर्थतन्त्रमा पार्ने प्रभावहरूका बारेमा त चर्चा गरेर साध्य नै छैन । यही सन्दर्भमा २०२० को पहिलो ३ महीनामा नै चीनको आर्थिक वृद्धिदर पहिले अनुमान गरिएको ६ दशमलव ५ प्रतिशतभन्दा निक्कै कम ४ प्रतिशत जति हुने प्रक्षेपण गर्न थालिएको छ । 

तर, ‘कोविद–१९’ को असर चिनियाँ अर्थतन्त्रमाथि मात्र पर्छ भनेर सोच्नु गलत हुनेछ । चीनसँग उच्चस्तरको व्यापारिक सम्बन्ध भएको अमेरिकादेखि लिएर नगन्य मात्र आर्थिक लेनदेन हुने नेपालमा समेत यसको बहुआयामिक प्रभाव पर्ने कुरामा कुनै शंका छैन । विश्वकै ठूलो बजार भएको तथा पर्यटकका रूपमा पनि राम्रै स्थान जमाइरहेको चीनको अधोगतिले पक्कै पनि अमेरिकी अर्थतन्त्रलाई पनि चोखो रहन दिने छैन । प्रसिद्ध कम्पनी एपलले यही भाइरसका कारण चीनमा परेको उत्पादकीय असरले गर्दा चालू वर्षमा आफ्नो विक्रीमा उल्लेख्य कमी आउने जनाइसकेको छ । यस्तै प्रकारको जनाउ अर्को ठूलो सुपर मार्केट चेन ‘वालमार्ट’ले पनि दिइसकेको छ । स्टारबक्स, म्याक डोनाल्ड जस्ता आम उपभोक्ताले दैनिक उपभोग गर्ने खाद्य आपूर्तिकर्ता अमेरिकी कम्पनीहरूले पनि आफ्नो चीनमा कारोबार बन्द गरिसकेकाले त्यसको सोझो असर अमेरिकी अर्थतन्त्रमा नपर्ने भन्ने हुँदै हुँदैन । 

यति मात्र होइन, अन्य धेरै ठूला यूरोपेली तथा अमेरिकी कम्पनीहरूको आपूर्ति शृंखला (सप्लाइ चेन) चीनमा भएको र त्यहाँ ती कम्पनी धमाधम बन्द हुन थालेको सन्दर्भमा त्यसको सर्वपक्षीय प्रभाव यूरोपेली अर्थतन्त्रसम्म समेत फैलने अवश्यंभावी छ । फोनदेखि लिएर टेलिभिजनसम्म, मोटरदेखि लिएर सियोसम्म उत्पादन गर्ने चीनले कोरोना प्रकोपपछि ती उत्पादनको विश्वव्यापी रूपमा फैलिएको आपूर्ति शृंखलालाई छिन्नभिन्न नै पारेको छ ।

अधिकांश एअरलाइन्स कम्पनीहरूले चीनमा हुने आफ्नो उडान कटौती गरेका छन् । आफ्नो देशमा कोरोना देखा पर्नुअगाडि नै कोरियाको प्रसिद्ध कम्पनी ह्युन्देले चीनमा आफ्नो उत्पादन नै बन्द गरिसकेको छ । विशाल अमेरिकी कम्पनी ‘जनरल मोटर्स’ले पनि चीनमा रहेको कारखाना यसअघि नै बन्द गरिसकेको थियो ।

साथै यसले मालवाहक जहाजहरूको परिवहनदेखि लिएर कच्चा तेलको मूल्यमा पार्ने प्रभाव समेतले विश्व अर्थतन्त्रलाई पिरोल्ने देखिन्छ । समग्रमा भन्नु पर्दा कोविद–१९ ले विश्व अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने गरी संक्रमण गरिसकेको छ र त्यसबाट मुक्ति पाउन अहिले दिग्गज अर्थशास्त्रीहरू ‘आर्थिक एन्टी डट’ बनाउने ध्याउन्नमा लग्नु अबेर भइसकेको छ । 

यिनै अवस्थाको सेरोफेरोमा अन्तरराष्ट्रिय मुद्राकोषले चालू वर्षमा विश्वव्यापी रूपमा औसतमा ३ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि हुने भनेर गरेको प्रक्षेपणलाई पनि यो कोविद १९ ले नराम्रोसँग जोखिमको सँघारमा पुर्‍याएको देखिन्छ । अक्स्फोर्ड विश्वविद्यालयका एक अर्थशास्त्री प्राध्यापकका अनुसार यो वर्ष विश्वको आर्थिक वृद्धिदर केवल २ प्रतिशतको हाराहारीमा मात्र हुने पक्का छ । यो भाइरसको प्रकोपले चीन तथा अन्य विश्वमा भविष्यमा धारण गर्ने रूप र पार्ने प्रभावले समग्र विश्वकै आर्थिक वृद्धिदर निर्धारित हुने कुरा त छर्लंगै छ ।
 
बैंकिङमा कोरोना संक्रमण 
चीनकै कुरा गर्ने हो भने त्यहाँ अहिले आर्थिक गतिविधि निकै तलको प्राथमिकतामा परेको छ । कम्पनीहरू कतिपय बन्द अवस्थामा छन् भने कतिपय गहिरो आर्थिक संकटमा परेका छन् । आफ्नो वासलात बलियो बनाउन अहिले चीनका कम्पनीहरूले ‘कोरोना बन्ड’ जारी गरेर पूँजीको जोहो गरिरहेको पनि समाचारहरू आउन थालेका छन् । 

आफ्नो वासलात बलियो बनाउन अहिले चीनका कम्पनीहरूले ‘कोरोना बन्ड’ जारी गरेर पूँजीको जोहो गरिरहेको पनि समाचारहरू आउन थालेका छन् । 

अहिले चीनमा र विशेष गरी वुहान क्षेत्रमा त जनजीवन ठप्प नै छ । ठप्प जनजीवनका बीच अनगिन्ती व्यवसाय बन्द भएका छन्, ठूलाठूला कारखाना बन्द भएका छन् र करोडौंले रोजगारी गुमाएका छन् । यस्तो अवस्थाको सोझो प्रभाव साना तथा मझौला व्यवसायमाथि तीव्र र नकारात्मक रूपमा पर्ने कुरा पनि त्यत्तिकै स्पष्ट छ । अर्कातिर चीनका अधिकांश बैंकले प्रवाह गरेका ऋणको रकम उल्लेख्य मात्रामा यस्तै साना तथा मझौला व्यवसायमा रहेको बताइन्छ । यसबाट ती व्यवसायमा परेको नकारात्मक प्रभाव स्वरूप बैंकहरूको ऋण असुलीमा उच्चतम गम्भीर प्रभाव पर्ने देखिन्छ । प्रसिद्ध बैंकर्स पत्रिकाका अनुसार ऋण असुली हुन नसक्दा चीनमा यो वर्ष ८०० अर्ब डलर बराबर खराब कर्जा बढ्नेछ र राष्ट्रव्यापी रूपमा यस्तो खराब कर्जाको प्रतिशत करीब साढे ६ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ ।

हुन त सन् २००८–०९ को विश्व वित्तीय संकटमा चिनियाँ बैंकहरूले आफूलाई बचाएर राख्न सफल भएको सम्झेर अहिलेको संकटबाट पनि ती बैंकले अरूले चर्चा गरेजति खराब अवस्थाबाट हिँड्नु पर्दैन भन्नेहरू पनि छन् । तर, २००९ को विश्वव्यापी वित्तीय संकटबाट चिनियाँ बैंकहरू अछुत जस्तै रहनुका पछाडि केही विशिष्ट कारणहरू थिए । यसको खास कारण खराब ऋणको धितो स्वरूप राखिएका कमसल खालका सम्पत्तिहरू यूरोप र अमेरिकाका बैंकहरूले स्वीकारेका थिए । त्यतिखेर एकातिर यूरोप तथा अमेरिकाका अधिकांश बैंकहरू खराब धितो भएका कर्जाको कारण संकटग्रस्त थिए भने त्यसको ठीक विपरीत चिनियाँ बैंकहरू भने पर्याप्त अतिरिक्त पूँजीको उपलब्धतासँगै अर्बाैं डलरको नयाँ ऋण प्रवाह गर्न सक्षम अवस्थामा थिए । त्यसैको प्रतिफल स्वरूप चिनियाँ अर्थतन्त्रले त्यतिबेला उच्च आर्थिक वृद्धिदर कायम गर्न पनि सफल भएको थियो । तर, कोविद १९, चीनको आफ्नो ‘उत्पादन’ भएको र त्यसको असर पनि अरूलाई भन्दा उसैलाई बढी पर्ने भएकाले अहिले चीनका बैंकहरू त्यो बेलाको जस्तो वित्तीय संकटबाट ‘सुरक्षित तथा जोखिम मुक्त’ पक्कै छैनन् ।

नेपाली बजारमा सुनको भाउले आकाश छोएको देखेर नै कोविद १९ को अर्थतन्त्रमाथि पर्ने असरका बारेमा पूर्वानुमान लगाउन सकिन्छ । त्यसमाथि अझ महत्त्वपूर्ण कुरा दैनिक उपभोग्य सामानदेखि लिएर लुगाफाटो, मेशिनरी अनेकथरी इलेक्ट्रोनिक सामानसमेत निकै ठूलो मात्रामा चीनबाट नै आउने परिप्रेक्ष्यमा कोरोनाको प्रभावस्वरूप आर्थिक गतिविधि कम हुने, आपूर्तिमा कमी भई महँगी बढ्ने, आयात र निर्यातबाट सृजना हुने रोजगारीमा कमी आउनेलगायतमा असर निकट भविष्यमा नै नेपाली अर्थतन्त्रमा देखिने कुरामा कुनै शंका छैन । यो लेखको शुरूमै भनिएझैं अर्थतन्त्रमाथि देखिने नकारात्नक असरले त्यसैको एक अवयव बैंकिङ क्षेत्रचाहिँ निष्प्रभावी रहला भनेर कसैले अनुमान गर्न सक्दैन ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्