ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीन तहको सरकारमातालमेल नहुँदा विकास निर्माणमा समस्या

२०७६ फागुन, १५  
अन्तरवार्ता
Image Not Found

बैतडीका दश स्थानीय तहमध्ये पाटन देशकै दशौं नमूना शहर प्रस्तावित भएको नगरपालिका हो । २१९ दशमलव २६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकामा ३० हजारभन्दा बढी जनसंख्या छ । नमूना शहरको रूपमा प्रस्तावित भएपछि नगर क्षेत्रमा अपेक्षित विकास निर्माण हुन सकेको छैन । यद्यपि आफूहरू निर्वाचित भएर आएपछि पूर्वाधारका विभिन्न कामले गति लिएको नगर प्रमुख केशवबहादुर चन्द बताउँछन् । यसै सन्दर्भमा नगरका विकास निर्माण, समस्या तथा चुनौती, भावी योजना लगायत विषयमा आर्थिक अभियानका बैतडी संवाददाता मोहन चन्दले नगर प्रमुख चन्दसँग गरेको कुराकानीको सार :

तपाईं नगरपालिकामा निर्वाचित भएर आएपछि जनतालाई महसूस हुनेगरी के कस्ता काम भएका छन् ?
म निर्वाचित भइसकेपछि स्थानीय तहबाट हुने थुप्रै काम सम्पन्न भएका छन् । यसमा विकास निर्माणका काम धेरै भएका छन् । १ करोड रुपैयाँसम्मका सडक निर्माण गरेका छौं । यस्तै खानेपानी लगायतका गरी दर्जनौं योजना निर्माण गरिएको छ । यसबाट जनतालाई धेरै सुविधा पुगेको छ ।

नगरपालिकाले निर्माण गरेका ठूला योजना के के हुन् ?
ठूला योजना त खासै छैनन् । तर पनि सबै जनताको सहजताका लागि सडक निर्माणलाई प्राथमिकता दिएका छौं । सोही अनुसार काम पनि गरेका छौं । सबै वडामा सडक पुर्‍याउने काम करीब सम्पन्न भएको छ । कतिपय स्थानमा सडकको ट्र्याक खोल्ने काम पनि गरिएको छ ।

नगरपालिकाभित्र खानेपानी समस्या समाधानका लागि के गरिरहनु भएको छ ?
पाटन बजारको हकमा त नगरपालिकाको सहकार्यमा बृहत् खानेपानी योजना सञ्चालन हुँदै छ । करीब १६ करोड रुपैयाँ लागतमा त्यसको काम अघि बढाइएको छ । आयोजना सम्पन्न भएपछि बजारमा खानेपानीको समस्या समाधान हुन्छ । यस्तै वडा नं १ मा पनि खानेपानीको पहल गरिरहेका छौं । यसै वर्ष काम शुरू हुन्छ । अरू वडामा पनि समस्या पहिचान गरेर समाधानको प्रयासमा छौं ।

विकासका पूर्वाधार निर्माणमा देखिएका चुनौती के छन् ?
सबैभन्दा ठूलो चुनौती त देश संविधान अनुसार चल्न सकेको छैन । हिजोका दिनमा जुन केन्द्रीकृत शासन व्यवस्था अनुसार सरकारले काम गरिरहेको थियो, आज पनि अवस्था उही छ । संघमा ‘हामी मात्र सरकार हौं, हामीले भने अनुसार नै सबैथोक हुन्छ’ भन्ने किसिमको सोच छ । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नै छैन । एकअर्को सरकारको अस्तित्व नै स्वीकारेको पाइँदैन । तीनओटा सरकारले कसरी चल्नुपर्छ भन्ने सविधानमा उल्लेख छ । तर व्यवहारमा त्यसको पालना हुन सकेको छैन । जनताको समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको उत्तिकै जिम्मेवारी भए पनि कार्यान्वयनमा त्यो देखिँदैन । यसले गर्दा विकास निर्माणका काम झन् ओझेलमा परेका छन् ।

करको विषयमा जनताको के गुनासो छ ?
करको विषयमा यहाँ जनताको गुनासो आएको छैन । हामीले जनताले धान्नै नसक्ने वा उनीहरूलाई मर्का पर्ने खालको कर लगाएका पनि छैनौं । तैपनि जनतालाई कुनै कर धेरै लगाइयो भन्ने लागेमा बसेर छलफल गरी समाधानको पहल गर्न तयार छौं ।

नगर क्षेत्रमा नमूना शहरको काम कछुवाको गतिमा भइरहेको छ । यसमा नगरपालिकाले के कस्तो पहल गरिरहेको छ ?
नमूना शहरको काम अघि बढाउन एकदमै पहल गरिरहेको छु । काम छिटो अघि बढाउनुपर्छ भनेर शहरी विकास मन्त्रालयसँग सधैं सम्पर्क गरिरहेको छु । नमूना शहरको काम केन्द्रले सञ्चालन गर्ने कि प्रदेशले भन्ने अन्योलले २ वर्ष बितिसक्यो । त्यसैले काममा केही ढिलाइ भएको छ । यो शहरलाई हेर्ने कार्यालय यही ठाउँमा हुनुपर्नेमा एउटा कार्यालयले दुई–तीन जिल्ला हेर्नुपर्ने भएकाले पनि ढिलाइ भएको हुनुपर्छ । तर काम शुरू नै नभएको भने होइन ।
 
नेपाल भ्रमण वर्ष २०२० कसरी मनाइरहनु भएको छ ?
नगरमा धार्मिक स्थल धेरै भएकाले सम्बन्धित स्थलमा पर्यटन प्रवद्र्धनको काम गरेका छौं । यहाँ उदैदेव महारुद्र, कैलापाल लगायत थुप्रै धार्मिक मठमन्दिर छन् । तिनको प्रचार प्रसारका लागि योजना बनाइरहेका छौ । रामेश्वरधाम र वनारसी धाममा दुईओटा ज्योतिर्लिंग स्थापना गरिसकिएको छ । यस्तै पतालभूमेश्वरको पर्यटन विकासका लागि केही बजेट छुट्ट्याएका छौं ।
 
स्थानीय स्तरमा रोजगारी सृजनाका लागि के गरिरहनु भएको छ ?
रोजगारीका लागि यहाँ कृषि र पशुपालन ठूलो सम्भावना भएका क्षेत्र हुन् । यसबाट ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने हाम्रो ठहर छ । सरकारी सेवामा जान चाहनेका लागि लोकसेवाका तयारी कक्षा सञ्चालन गर्छौं । कृषि र पशुपालन व्यवसायसँग सम्बन्धित उद्योग स्थापना गर्न सके स्थानीय युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ । यसका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ । यसै वर्ष कोल्ड स्टोर निर्माण गर्दै छौं ।

नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? यसको विकासका लागि के कस्ता कार्यक्रम छन् ? 
नगरपालिकामा स्वास्थ्य सेवा तथा पूर्वाधारको अवस्था सन्तोषजनक नै छ । ६ ओटा बर्थिङ सेन्टर स्थापना गरेका छौं । नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुन दिएका छैनौं । यसमा पर्याप्त बजेट छुट्ट्याएका छौं । शिक्षाक्षेत्रमा भने लक्ष्य अनुसार काम गर्न सकिएको छैन । शैक्षिक गुणस्तर सुधार चुनौतीको रूपमा छ । यसका लागि विभिन्न ढंगले अघि बढेका छौं । विद्यालयको पूर्वाधार नभएको ठाउँमा पूर्वाधार निर्माण गरिरहेका छौं ।

नगर शिक्षक नियुक्तिबारे बताइदिनुहोस् न ।
नगर शिक्षक आफैले नियुक्त गरेका छैनौं । हिजोको दिनमा जुन विद्यालयमा न्यून तलबभत्तामा निजी शिक्षक भर्ना गरिएका थिए, तिनै शिक्षकको तलबभत्तामा वृद्धि गरेका छौं । शिक्षकलाई न्यून तलब दिएर शोषण गर्ने काम बन्द गर्छौं । अर्को वर्ष एउटा निश्चित मापदण्ड बनाएर, नगरपालिकाबाट बजेट छुट्ट्याएर राहत शिक्षक र निजी शिक्षकको सेवासुविधा समान बनाउने सोच छ ।

विकास निर्माणमा गुणस्तर कामय राख्न के गर्दै हुनुहुन्छ ?
गुणस्तरीय निर्माणमा विशेष जोड दिएका छौं । धेरैजसो विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गराएका छौं । विकास निर्माणमा सबैभन्दा पहिलो दायित्व उपभोक्ताकै हुन्छ । जबसम्म उपभोक्ता सचेत हुँदैनन्, तबसम्म नगरपालिकाको प्रयासले मात्र केही हुँदैन । विकासका काममा गलत भएको छ भन्ने लागेमा हामीलाई उपभोक्ताले सूचना गर्नुपर्छ । त्यसबाट हामीलाई अनुगमन तथा नियमनमा सहज हुन्छ ।

तोकेकै समयमा विकास निर्माणका लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
योजनाहरू हामीले तोकेकै समयमा निर्माण गरेका छौं । करीब ९० प्रतिशत योजना वैशाखभित्र निर्माण सम्पन्न गरिसक्छौं । हामीसँग अहिले जनशक्ति छ । योजना सम्झौता गर्न आउने उपभोक्ता समितिका जिम्मेवार व्यक्तिलाई समयमै गुणस्तरीय ढंगबाट निर्माण सक्न निर्देशन दिएका छौं । समय समयमा अनुगमन पनि गर्छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्