ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुधवार नेप्सेमा ४ अर्ब माथि कारोबार 

२०७६ फागुन, १५  
समाचार
Image Not Found
author avatar सौरभ देवकोटा

काठमाडौं । धितोपत्र बजारमा बुधवार नयाँ कीर्तिमान कायम भएको छ । पछिल्लो १ महीनायता निरन्तर उकालो लागेको बजारमा बुधवार नेप्सेको इतिहासकै सर्वाधिक कित्ता शेयर किनबेच भयो भने कारोबार रकम पनि हालसम्मकै उच्च रह्यो ।

सत्तारूढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा वामदेव गौतमको नाम सिफारिश गरेको समाचारसँगै बजार तीव्र गतिले बढेको थियो । बुधवारको नेप्सेमा १८० कम्पनीको ९९ लाख ६ हजार कित्ताको शेयर कारोबार भएको थियो भने कारोबार रकम ४ अर्ब १५ करोड रुपैयाँ माथि पुगेको थियो । 

कारोबार रकमसँगै नेप्से परिसूचक पनि ५० दशमलव ९३ अंक बढ्यो । यो वृद्धिसँगै नेप्से परिसूचक १ हजार ५९६ दशमलव १३ विन्दुमा पुगेको छ, जुन ३० महीनायताकै उच्च विन्दु हो । यसअघि २०७४ भदौ १४ मा परिसूचक १ हजार ५९८ दशमलव ३६ विन्दुमा थियो ।

बजार पछिल्लो २ सातादेखि बुलिश ट्रेन्डतर्फ उन्मुख देखिन्छ । बुधवार १ हजार ५४७ दशमलव २१ विन्दुबाट शुरू भएको परिसूचक कारोबारको पहिलो आधा घण्टामा सामान्य बढेर १ हजार ५६४ दशमलव शून्य ५ को विन्दुमा पुगेको थियो । नेकपाले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा वामदेव गौतमको नाम सिफारिश गरेको समाचारपछि बजार निरन्तर बढेर बन्द भएको थियो ।

बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेकाले कारोबार रकम र नेप्से पनि उच्च वृद्धि भएको विश्लेषकहरूको भनाइ छ । पूँजीगत लाभकर, तरलताको समस्या, नीतिगत सुधार, धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको सुधारका आश्वासनलगायत पक्षले पनि बजारलाई चलायमान बनाएको उनीहरूको बुझाइ छ । 

बुधवार नेप्सेमा आठ कम्पनीको कारोबार १० करोड रुपैयाँ माथि रह्यो । यसरी १० करोड माथि कारोबार भएका कम्पनीमा नेपाल लाइफ, शिवम् सिमेन्ट, नेपाल बैंक, हिमालयन डिस्टिलरी, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, गुराँस लाइफ र एनआईसी एशिया छन् । शेयरमूल्य धेरै बढ्ने कम्पनीहरूमा एभरेष्ट बैंक कन्भर्टिभल, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपाल रहेका छन्, जसको शेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै बुधवार शेयरमूल्य बढेका कम्पनीहरूमा कालिका पावर, गुराँस लाइफ, राष्ट्रिय बीमा कम्पनी संस्थापक, सिभिल लघुवित्त र जोशी हाइड्रो रहेका छन् । 

बुधवार कारोबारमा आएका १२ समूहकै परिसूचक बढेर बन्द हुँदा समग्र नेप्से परिसूचक सकारात्मक रहेको छ । यस दिन सर्वाधिक बढेर बन्द हुनेमा जीवन बीमा समूहको परिसूचक ६ दशमलव १२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ६३ प्रतिशत बढेको छ । यस्तै बैंकिङ, होटल, निर्जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ भने ‘अन्य’ समूहको परिसूचक २ दशमलव १८ प्रतिशत बढेको छ । त्यसैगरी विकास बैंक समूहको परिसूचक १ दशमलव ५४ प्रतिशत बढेको छ भने व्यापार, जलविद्युत्, वित्त, र लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेर बन्द भएको छ । 

हालसम्मकै उच्च कारोबार
बुधवार रू. ४ अर्ब १५ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ८६ प्रतिशत बढी हो । गत कारोबार दिन मंगलवार रू. २ अर्ब ९९ करोड रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स यस दिन ९ दशमलव ४९ अंक बढेर ३३६ दशमलव शून्य ५ विन्दुमा पुगेर बन्द भएको छ । 

४ कम्पनीको शेयरमूल्यमा सर्किट
बुधवार बढेर बन्द भएको बजारमा ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सर्किट लाग्नेमा एभरेस्ट बैंकको परिवर्तनीय अग्राधिकार शेयर, राष्ट्रिय बीमा कम्पनी, युनिलिभर नेपाल र कालिका पावर कम्पनी रहेका छन् । यस्तै गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापकतर्फको शेयर, सिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, शेयरमूल्य घटेर कारोबार हुनेमा राधी विद्युत् कम्पनीको शेयरमूल्य ८ दशमलव २९ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य रू. १८८ कायम रहेको छ । अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ७ दशमलव ९६ प्रतिशत घटेर अन्तिम शेयरमूल्य रू. १०४ कायम भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार
बुधवार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको १ लाख ५० हजार २८६ कित्ता शेयरको किनबेच हुँदा रू. २१ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४९४ रहेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा शिवम् सिमेन्टको रू. १८ करोड ४९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. ७२६ कायम छ । 

त्यसैगरी, नेपाल बैंकको रू. १७ करोड ९६ लाख र हिमालयन डिस्टिलरीको रू. १६ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । यस्तै, नेको इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको रू. १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्