ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘भारतीय सहयोग कटौतीले नेपालको विकासमा प्रभाव’ 

२०७६ फागुन, १५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । भारतको संघीय बजेटले नेपालको विकास आयामहरू प्रभावित हुने सरोकारवालाले बताएका छन् । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले बुधवार वीरगञ्जमा आयोजना गरेको ‘भारतीय संघीय बजेट २०२०–२०२१ का मुख्य विशेषता र नेपाली आयात निर्यात तथा लगानीकर्ताका लागि अवसर’ विषयक अन्तरक्रियामा सहभागीले नेपालको अर्थतन्त्रमा भारतको बजेटको प्रभाव पर्ने बताएका हुन् ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध एकआपसमा जोडिएकाले भारतीय बजेटबाट प्रत्यक्ष÷परोक्ष प्रभाव रहने बताए । नेपालले भारतीय बजेटका सकारात्मक पक्षबाट लाभ लिन सक्ने दाबी पनि उनले गरे । 

डा. दीपेन्द्रकुमार चौधरी र चार्टर्ड एकाउन्टेन्ट मुकेश साहले संयुक्त कार्यपत्र प्रस्तुत गर्दै भारतको बजेटसँग नेपालमात्र नभएर उसका अन्य छिमेकीको पनि सरोकार जोडिएको बताए । भारतले यस पटक नेपाललाई दिने सहयोगमा ३३ प्रतिशत कटौती गरेकाले त्यसको प्रत्यक्ष प्रभाव विकास निर्माणका काममा पर्ने दाबी उनीहरूको थियो । भारतले २०१९–२०२० को बजेटमा १२ अर्ब भारतीय रुपैयाँ छुट्ट्याएकोमा आगामी बजेटमा यो रकम ८ अर्बमा झारेको छ ।

भारतले आन्तरिक उत्पादनको संरक्षणका लागि लिएको सीमा शुल्क वृद्धिको नीतिका कारण नेपालबाट भारतमा निर्यात घट्न सक्ने बताइएको छ । नेपालबाट सोया तेल, फाइबर, पाम आयल, जुत्ता, चुरोट, कृषिमा आधारित अन्य उत्पादन निकासी हुँदै आएको छ ।

भारतीय महावाणिज्यदूत नितेश कुमारले भारतको रक्सौलमा विमानस्थल सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए । वाणिज्यदूत डा. कोट्रा स्वामी एमले भारतीय संघीय बजेटले नेपालका विकास परियोजनामा लगानी कटौती गरेकाले सहयोग कम देखिएको बताए । भारतले वीरगञ्जस्थित नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी)मा सवारीसाधनका लागि बेग्लै मार्ग सञ्चालनको पहल गरिरहेको जानकारी उनले दिए । नेपालको जैविक कृषि उत्पादनमा भारतले सहयोग गर्ने उनले बताए । 

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले वीरगञ्ज आईसीपीदेखि भारतको लक्ष्मीपुरसम्मको सडक विस्तारमा जोड दिए । नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैदले रक्सौलमा आकाशे पुल निर्माणको माग गरे । भारतले केन्द्रीय बजेटमै रकम छुट्ट्याए पनि निर्माण हुन नसकेको गुनासो उनले गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्