arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुटुको शल्यक्रियामा सरकारी सहुलियत निजी अस्पतालमा पनि लागू हुनुपर्छ

२०७६ मंसिर, २७  
स्वास्थ्य र जीवन शैली
Image Not Found


उच्च रक्तचाप, मधुमेहलगायत रोगका कारण विश्वमा मुटुरोगीहरू बढ्दै गएको विभिन्न तथ्यांकले देखाएका छन् । यसमा मुख्यतः हृदयाघात, भल्भमा प्वाल, बाथ मुटुको रोग, उक्त रक्तचाप, मधुमेह लगायत मुटुसम्बन्धी रोग रहेको डा. विजय गोपाल राजवंशी बताउँछन् । उनका अनुसार कतिपय मुटुका रोग भने जन्मजात हुन्छन् । प्रस्तुत छ, मुटुरोग, यसका प्रकार, उपचार विधि लगायत विषयमा आर्थिक अभियानका काशीराम बजगाईले डा. राजवंशीसँग गरेको कुराकानीको सार :

मुटु रोग कति प्रकारका हुन्छन् ?
मुख्यतः जन्मजात र कालान्तरमा देखिने गरी मुटुरोग दुई प्रकारको हुन्छ । यसमा बाथ मुटुरोग, मुटुको बनावटका कारण हुने मुटुको रोग, मुटुको भल्भमा हुने समस्या, धमनीमा रक्तसञ्चार नहुँदा देखिने मुटुरोग लगायत पर्छन् । मुटुरोगका कारण फरक फरक हुन सक्छन् । 

मुटुमा समस्या किन आउँछ ?
जन्मजात मुटुको रोग लाग्ने त्यस्तो विशेष कारण छैन । वंशाणुगत कारण पनि यो रोग देखा पर्न सक्छ । त्यसबाहेक नेपालमा बाथरोगका कारण मुटुको भल्भमा समस्या हुने गरेको पाइएको छ । उमेर बढ्दै जादा मुटुको समस्या बढ्दै जान्छ । मुटुको रक्तसञ्चारमा अवरोध हुँदा हृदयाघात हुन सक्छ । यस्तै मुटुसम्बन्धी अन्य समस्या पनि देखिने गरेका छन् । 

मुटुरोगका लक्षण के के हुन् ?
जन्मजात मुटुको रोगमा बच्चा नीलो देखिने, श्वास फेर्न गाह्रो हुने, निमोनिया र छातीमा अन्य संक्रमण, मुटुको चालमा गडबढी र कहिलेकाहीँ बेहोश हुने जस्ता लक्षण देखिन्छन् । भल्भको समस्यामा श्वास फुल्ने गर्छ । हृदयाघातका बिरामीमा छाती दुख्ने जस्ता लक्षण देखिन्छन् । मुख्य धमनीमा आएको समस्याले भल्भले राम्रोसँग काम गर्दैन, जसलाई मुटुको एओर्टिक भल्भ डिजिज भनिन्छ । यसमा कुनै पनि लक्षण नै नदेखिन सक्छ, जुन बढी घातक हुन्छ । 

मुटुरोगबाट कसरी बच्न सकिन्छ ?
शारीरिक सक्रियताको कमी र विलासी जीवनशैलीले मधुमेह र रक्तचापको समस्या हुन्छ । यसले कालान्तरमा मुटुसम्बन्धी रोग निम्त्याउन सक्छ । टन्सिलको समस्या भएको बेला उपचार नपाएर पनि मुटुरोग लाग्न सक्छ । मुटुरोगबाट बच्न मोटोपन नियन्त्रण गर्नुपर्छ । धूमपान, कोलेस्टेरोल, मधुमेह र रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । प्रत्येक ६÷६ महीनाको अन्तरालमा मुटुको परीक्षण गर्नु राम्रो हुन्छ । ४० वर्षपछि नियमित विशेषज्ञ डाक्टरसँग परामर्श लिने गर्नुपर्छ । कुनै समस्या देखिए समयमै जाँच गरेर उपचार गराउनुपर्छ । 

कस्तो अवस्थामा मुटुको शल्यक्रिया गरिन्छ ?
विभिन्न कारणले मुटुमा विभिन्न समस्या देखिन सक्छन् । पहिलो त जन्मजात मुटुको रोग नवजात शिशुमा वा उमेर बढ्दै जादा पछि पनि देखिन सक्छ । यसमा यसमा मुटुको बनावटमा खराबी, मुटुको भित्तामा प्वाल, धमनीमा समस्या, मुटुको भल्भमा खराबी जस्ता विभिन्न समस्या हुन सक्छन् । यस्तो समस्यामा शल्यक्रिया गर्नुपर्छ । उमेर बढ्दै जादा देखिने मुटुको समस्या, बाथ मुटुरोग, भल्भमा देखिने समस्या, हृदयाघात, मुटुको झिल्लीको समस्या आदि विभिन्न कारण मुटुको शल्यक्रिया गर्नुपर्ने हुन्छ । 

मुटुरोगको प्रकार अनुसार शल्यक्रिया कुन अवस्थामा र कहिले गर्ने भन्ने निर्भर हुन्छ । एउटै प्रकारको मुटुको रोगमा पनि कुनै बिरामीको मुटुको शल्यक्रिया तत्काल गर्नुपर्ने हुन सक्छ भने केहीकोमा पर्खिन पनि सकिने हुन सक्छ । यसकारण मुटुमा समस्या आउनेबित्तिकै विशेषज्ञ डाक्टरसँग परामर्श गरेर सोअनुसार उपचार गर्नुपर्छ । हृदयाघात, मुटुको प्वाल, मुटु रोगका कारण शरीरमा अक्सिजनको कमी, विष सेवन गरेर मुटुमा समस्या देखिएको बिरामी आदिको मुटुको शल्यक्रिया तुरुन्त गर्नुपर्छ । 

मुटुको शल्यक्रिया कसरी गरिन्छ ?
शुरूमा आमा वा बुवाको मुटुबाट क्रश सक्र्युलेशन गरी पाइपबाट शिशुको शरीरमा रगत सञ्चालन गराएर मुटुको शल्यक्रिया गरिन्थ्यो । ‘हार्ट लङ मेशिन’को विकासपछि मुटुलाई केही समयका लागि बन्द गरी उक्त मेशिनमार्फत मुटुले गर्ने काम गराई मुटुको शल्यक्रिया गरिँदै आएको छ । शल्यक्रिया सकिएपछि पुनः मुटुबाटै रक्त सञ्चार गराइन्छ ।

मुटुको शल्यक्रियाका जटिलता के के हुन् ?
हरेक शल्यक्रियामा केही जटिलता हुन्छन् नै । विभिन्न प्रविधिको विकासले जटिलता धेरै घटेको छ । तर मुटुको शल्यक्रियाको जटिलता शून्य भन्ने हुँदैन । आर्टिफिसियल सक्र्युलेशनमा राखिने भएकाले शरीरमा प्रतिकूल असर देखिन सक्छ । मूल नली फुटेर रगत सञ्चालनमा बाधा पुगेको अवस्थामा उच्च जोखिम हुन्छ ।

नेपालमा बढी शल्यक्रिया हुने मुटुको रोग कुन हो ?
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको तथ्यांक अनुसार नेपालमा मुटुको भल्भका कारण हुने मुटुरोगको शल्यक्रिया बढी हुन्छ । त्यसपछि जन्मजात मुटुरोग र बाईपास मुटुको शल्यक्रिया भएको देखिन्छ ।

नेपालमा मुटुरोगको उपचारको अवस्था कस्तो छ ?
नेपालमा मुटु प्रत्यारोपणको पहुँच कम छ भने मुटु फेल हुँदा प्रयोग गरिने भेन्टिकुलर असिस्ट डिभाइस एकदमै न्यून र निकै महँगो छ । उक्त मेशिनको मूल्य रू. ६० लाखदेखि ७० लाखसम्म छ । यसको मूल्य सस्तो हुँदै गएमा पहुँच बढ्न सक्छ । त्यसबाहेक अन्य सबै मुटुरोगको सहज उपचार नेपालमै हुन्छ ।

मुटुको शल्यक्रिया कत्तिको महँगो छ ?
सरकारले मुटुको शल्यक्रिया र उपचारका लागि सहुलियत दिएको छ । १५ वर्षमुनि र ७५ वर्षमाथिका मानिसको मुटुरोगको उपचार सरकारी अस्पतालमा निःशुल्क हुन्छ । निजी अस्पतालमा पनि त्यति महँगो छैन । अन्य देशमा भन्दा नेपालमा धेरै सस्तो छ । यहाँका निजी अस्पतालमा ३ लाखदेखि ४ लाख रुपैयाँ वा सोभन्दा केही बढी खर्चमा मुटुको शल्यक्रिया हुन्छ । यो त्यति महँगो नभए पनि कतिपय बिरामीले यति पैसा जुटाउन नसक्दा उपचार गराउन सकेका छैनन् । त्यसकारण सरकारी मात्र नभएर निजीक्षेत्रका अस्पतालमा पनि उपचारमा सहुलियत दिनुपर्छ ।

मुटुको शल्यक्रियाका लागि अझै पनि धेरै बिरामी देशबाहिर जाने गरेको पाइन्छ । यसको कारण के होला ?
यो साँचो हो । मुटुको शल्यक्रियाका लागि धेरै मानिस देशबाहिर जाने गरेका छन् । यो अवस्था रहनुमा नेपालमै मुटुको शल्यक्रिया हुन्छ भन्ने जानकारी नभएर हो जस्तो मलाई लाग्छ । तर नेपालमा विकसित देशमा जस्तो स्तरीय शल्यक्रिया हुन्छ, जसको खर्च पनि अन्य देशको भन्दा कम पर्छ । त्यसकारण मुटुको शल्यक्रियाका लागि बाहिर जान आवश्यक छैन । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्