arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनले स्थगित गर्‍यो अमेरिकी वस्तुमा अतिरिक्त महसुल वृद्धि 

२०७६ मंसिर, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ३०, पेचिङ (चीन) । चीनले अमेरिकाबाट आयातित वस्तुमा गर्ने भनिएको अतिरिक्त महसुल वृद्धि स्थगित गरेको छ । डिसेम्बर १५ देखि लागू हुने गरी केही अमेरिकी वस्तुमा गर्ने भनिएको अतिरिक्त कर स्थगित गरिएको ‘स्टेट काउन्सिल’को भन्सार कर आयोगले बताएको हो । 

शुक्रवार दुई पक्षबीच पहिलो चरणको व्यापार सम्झौताका मस्यौदामा सहमति भएपछि चीनले अमेरिकामा बनाइएका सवारी साधन र स्पेयर पार्टसमा अतिरिक्त महसुल थाँती राखेको छ । महसुल बढेको भए मकैदेखि गहुँ अनि अमेरिकामा बनाइएका सवारी साधन र अटोपार्टस् चीनमा महँगो हुने थिए । 

यस अघि अमेरिकी वस्तुमा लाग्दै आएको अतिरिक्त महसुल भने यथावत् राखिएको चीनको सरकारी विभागहरुको वेबसाइटमा जारी विज्ञप्तिमा आयोगले बताएको छ । सहमति अनुसार पेचिङले आगामी २ वर्षमा कम्तिमा पनि २ खर्ब डलर बराबरका अतिरिक्त अमेरिकी वस्तु र सेवा किन्न सहमति गरेको छ । चीनले अमेरिकी कृषि उत्पादन र अन्य वस्तुको खरिद बढाएको बदलामा अमेरिकाले पनि चिनियाँ वस्तुमाथिको महसुल विस्तारै घटाउँदै जाने भएको छ । अमेरिकाले पनि चीनबाट आयातित वस्तुमा गर्न लागेको अतिरिक्त महसुल वृद्धिको योजना भने शुक्रवार नै थाँती राखेको थियो ।

 दुवै पक्षहरुले अहिलेसम्म कुनै पनि व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छैनन् । सम्झौता भयो भने यसले २१ महिनाभन्दा लामो समयदेखि विश्वका २ ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार विवाद सुल्झाउने छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारदेखि लागू हुने गरी स्मार्टफोन, लत्ताकपडा लगायत १ खर्ब ६० अर्ब डलर बराबरका चिनियाँ वस्तुमा १५ प्रतिशत अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । सोको प्रतिउत्तरमा चीनले पनि अमेरिकाबाट आयातित अटोमा २५ प्रतिशत र अटो पार्टसमा ५ प्रतिशत कर लगाउने बताएको थियो । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्