ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गाँजाखेती र बौद्धिक सम्पत्ति

नेपालको कानूनले यसलाई खुला गर्न सक्ला ?

Mar 8, 2020  
लेख | दृष्टिकोण
NA
author avatar मधुसूदन पौड्याल

गाँजाखेती र बेचबिखनको कानूनी बन्देज खुला गर्ने विषयको विधेयक संसद्मा पेश भई छलफलमा आएपछि यो चर्चाको विषय भएको छ । गाँजा नेपालको जैविक विविधताको अभिन्न वनस्पति हो । जैविक विविधता भनेको मुलुकको प्रकृति जगत्मा रहेका विभिन्न प्राणी तथा वनस्पतिको प्रकार अवस्था र सापेक्षित अनुपातको स्थिति हो । प्राणी भन्नाले नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्मजीवदेखि लिएर ह्वेल माछासम्मका सबै खाले प्राणी पर्छन् । त्यस्तै वनस्पति भन्नाले एक कोषीय अल्गीदेखि ठूलाठूला बोटवृक्षसम्मका सबै खाले वनस्पति पर्दछन् । यस्तो जैविक विविधताले पर्यावरणीय अनुकूलता, प्राकृतिक सन्तुलन र मुलुकको आर्थिक विकासको लागि स्रोतसाधनको प्रचुरता निरूपण गर्ने भएकाले मानव समाजको अस्तित्वको जगेर्ना र आर्थिक समृद्धिमा यसले गहन भूमिका निर्वाह गर्छ । 

गाँजा फँडानीबाट जैविक विविधतामा समेत प्रतिकूल असर परेको छ र स्थानीय समुदायको बौद्धिक सम्पत्ति अधिकार कुण्ठित भएको छ ।

जैविक विविधता मुलुकभित्र बसोवास गर्ने स्थानीय समुदायको बौद्धिक सम्पत्ति अधिकारको महत्त्वपूर्ण विषय हो र गाँजा जैविक विविधताको एक अपरिहार्य तŒव हो । विसं २०३३ सालभन्दा पहिले नेपालको धर्म, संस्कृति, जनस्वास्थ्य, जनजीविकामा र राष्ट्रिय अर्थतन्त्रमा गाँजाको महत्तम स्थान रहेको पाइन्छ । यसको बोटको कुनै पनि अङ्ग खेर जाँदैन, यसको बोक्राबाट राम्रो गुणस्तरको रेसा, भाङ्रो, लगायत विभिन्न पोशाक र दाम्लो, नाम्लो, डोरी आदि उत्पादन हुन्छ । यसका मसिना गेडाहरू त्यतिकै भुटेर खान, अचार वा छोप बनाउन प्रयोग गरिन्छ । 

गाँजाका टुप्पाटुप्पामा मसिना उपपत्रसहितका लोला र तिनमा रहेको चोपिलो पदार्थको अंश समेतलाई गाँजा भन्ने गरिन्छ । यसैबाट समग्र बोटको नाम गाँजा रहन गएको हो । सामान्यतया गाँजा तीनदेखि पाँच फीट उचाइको हुन्छ तर यसको अर्को जात पनि हुन्छ, त्यो ६ देखि ९ फीटसम्म अग्लो हुन्छ । यो प्रजातिलाई भाँगो भनिन्छ । यो बढी रेसा र दानाका लागि प्रख्यात छ । तर, यसमा गाँजाको जस्तो चोपिलो पदार्थसहितका उपपत्रहरू भने नगण्य हुन्छन् । गाँजामा मनोविनोदी प्रयोजनभन्दा औषधीय प्रयोजन बढी हुन्छ । यो नेपालको प्राचीनतम बिरुवा भएकाले आयुर्वेदमा पनि यसको बहुउपयोग वर्णन गरिएको छ । आयुर्वेद र जडीबुटीबाट उपचार गरिने पद्धतिअनुसार यसको उपयोग अजीर्ण निवारक, निद्राकारक, पखाला नियन्त्रक, हैजा नियन्त्रक, नसा सम्बन्धी रोग निदान, पीडा हरण, अर्बुदरोग निवारणलगायत धेरै रोगका औषधिमा उपयोगी सिद्ध भएको छ । 

हाम्रो मुलुकमा पौराणिक कालदेखि नै यो बाली गरीब परिवारका लागि रोजगारी दिने र आय आर्जनमा योगदान पु¥याउने तथा थोरै लगानी र मेहनतबाट धेरै लाभ दिने नगदेबालीका रूपमा समाजमा स्थापित हुँदै आएको हो । अन्तरराष्ट्रिय सन्धि र मुलुकको कानूनले वर्जित गर्दा जनजीवनमा अति प्रतिकूल असर परेको छ । वर्षेनि सयौं दुःखी जनता अपराधीकरणमा परेका छन् । जनजीविका र आय आर्जनको विकल्प समाप्त भएको छ । गाँजा फँडानीबाट जैविक विविधतामा समेत प्रतिकूल असर परेको छ र स्थनीय समुदायको बौद्धिक सम्पत्ति अधिकार कुण्ठित भएको छ ।

इसं १९६१ भन्दाअघि लागूपदार्थ सम्बन्धमा विभिन्न मितिमा पारित गरिएका र विभिन्न पक्षमा व्यवस्थित गरिएका करीब नौओटा अन्तरराष्ट्रिय सन्धि र अभिसन्धिहरू सबैजसो अफिमको खेती, ओसारपसार, व्यापार र प्रयोग नियन्त्रणमा केन्द्रित थिए र दुईओटाले मात्र लागू पदार्थका रूपमा गाँजालाई समेटेका थिए । ती १९१९ देखि क्रमिक रूपमा कार्यान्वयन हुँदै गएका थिए । १९६१ मा संयुक्त राष्ट्रसंघको सक्रियतामा सबैलाई एकै ठाउँमा समेटी लागू पदार्थ सम्बन्धमा संयुक्त राष्ट्रसंघीय एकल अभिसन्धि, १९६१ पारित भयो । यो अभिसन्धि १९७५ देखि कार्यान्वयनमा आयो । यसले लागू पदार्थको रूपमा गाँजालाई पनि समावेश गरेको छ । नेपाल पनि यो अभिसन्धिमा सम्मिलित भएको छ । यसैको फलस्वरूप नेपालले २०३३ सालमा यो अभिसन्धि कार्यान्वयन भएको १ वर्षभित्रै लागू पदार्थ नियन्त्रण ऐन २०३३ तुर्जुमा गरी कार्यान्वयनमा ल्याएको हो । 

यो ऐनले लागू पदार्थको खेती, उत्पादन, वितरण र बेचबिखन नियन्त्रण गर्ने एकीकृत प्रणालीको अनुसरण गर्छ । ऐनले यस्ता पदार्थको औषधीय प्रयोग र वैज्ञानिक अनुसन्धानबाहेक उपर्युक्त प्रकारका कार्य गर्न निषेधित काम गर्न बन्देज गरेको छ । परम्परागत रूपमा नगदेबालीका रूपमा उत्पादन र बेचबिखन गर्दै आएका र आर्थिक अवस्था कमजोर रहेका एशियाली, अफ्रिकी र लेटिन अमेरिकी मुलुकमा यी पदार्थको उत्पादनमा लागेको प्रतिबन्धबाट अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्न गएको छ । नेपाल पनि प्रभावित भएको छ । यस अभिसन्धिले करीब १०० ओटा लागू पदार्थलाई तिनको गाम्भीर्यको मात्रा अनुसार चार अनुसूचीमा वर्गीकरण गरेको छ । गाँजालाई अनुसूची चारमा राखिएको छ । अनुसूची एकको तात्पर्य हो, सामान्य रूपमा कुलत सृजना गर्ने हानिकारक वस्तु । अनुसूची चारको तात्पर्य हो, खासै औषधीको प्रयोजन नरहेका खतरनाक वस्तु (चरेश) । 

गाँजाको औषधीय प्रयोजन धेरै भएकाले नेपाल सरकारले चौथो अनूसूचीमा वर्गीकरण गरिएको वस्तुलाई त्यहाँबाट उठाई पहिलो अनुसूचीमा राख्न विश्व स्वास्थ्य संगठनमा पहल गर्दै छ । यसो गर्नुको कारण यस सम्बन्धमा अन्तरराष्ट्रिय विचारधारामा आएको परिवर्तन नै हो । अहिले ठूला औद्योगिक राष्ट्रहरूको आचरण र व्यवहार हेर्ने हो यस सम्बन्धमा बेग्लै परिस्थिति निर्माण भएको छ । संयुक्त राज्य अमेरिकाका ३० राज्यमा गाँजा औषधीका लागि उत्पादन, बेचबिखन र प्रयोग गरिरहेको र २१ राज्यमा प्रौढहरूको मनोरञ्जनका लागि पनि प्रयोगमा ल्याएको अवस्था छ ।

गाँजामा मनोविनोदी प्रयोजनभन्दा औषधीय प्रयोजन बढी हुन्छ । यो नेपालको प्राचीनतम बिरूवा भएकाले आयुर्वेदमा पनि यसको बहु उपयोगको वर्णन गरिएको छ ।

क्यानडाका सबै प्रान्तमा राज्यको सामान्य रेखदेख र निर्देशनमा औषधीका लागि मात्र हैन, प्रौढहरूको मनोरञ्जनको लागि समेत गाँजा प्रयोगको अनुमति दिइएको छ । तर, संघीय कानूनले भने अझै खुल्ला नगरेको बुझिन्छ । विश्वमा यूरोप, एशिया, लेटिन अमेरिका र अफ्रिकाका टाठाबाठा ३० भन्दा बढी मुलुकमा औषधीको प्रयोजनका लागि र थोरै मुलुकमा मनोरञ्जनका लागि समेत राज्यको सामान्य रेखरेख र नियन्त्रणमा उत्पादन बेचबिखन र प्रयोग गर्न दिइएको छ । त्यसो भए के अन्तरराष्ट्रिय सन्धिको प्रवधान र कानूनी प्रतिबन्ध ऐतिहासिक कालखण्डदेखि यस्ता गाँजा, कोकिन र अफिम खेतीलाई जीवन वृत्तिको आधार बनाएका गरीब राष्ट्रका किसानका लागि मात्र हो त ? यस विषयले अहिले तेस्रो विश्वको मानस पटलमा तरङ्ग उत्पन्न गरेको छ । 

यस समस्याको आंशिक समाधानका लागि नेपालले पनि अभिसन्धिको चौथो अनुसूचीमा परेको गाँजालाई पहिलोमा स्थानान्तरण गर्न विश्व स्वास्थ्य संगठनलाई अनुरोध गर्न तयार भएको छ । कानून मंन्त्रालयको एक स्रोत अनुसार संसद्मा यसको निजी विधेयक प्रस्तुत भई छलफलसमेत भएको छ । तर, केही वर्ष यो विधेयक पारित हुन सक्ने देखिँदैन । पहिलो, दुई ठूला औद्योगिक राष्ट्रमा खुकुलो गरिएको कुरा प्रादेशिक कानूनले हो, संघीय कानूनले होइन । दोस्रो, ती मुलुकमा भएका अध्ययनबाट के देखिएको छ भने गाँजाको सेवन गर्ने व्यक्तिले गाडी चलाउँदा बढी दुर्घटना भएका छन् । तेस्रो, गाँजा जुनसुकै अनुसूचीमा परे पनि औषधी र वैज्ञानिक खोजका लागि अध्ययन गर्ने सुविधा पाइहाल्छ र फेरि यसलाई अलि सजिलो पार्न चौथो अनुसूचीमा परेको गाँजालाई पहिलो अनुसूचीमा लैजाने पहल पनि हँुदै छ । यसबाट अध्ययन अनुसन्धानको कार्यलाई थप बल मिल्ने नै छ । 

जे भए तापनि सवारी चलाउँदा, खेलकुद गर्दा, यन्त्रउपकरण चलाउँदा, अफिस जाँदा वा यस्तै निश्चित कार्य गर्दा होइन । व्यक्तिगत पारिवारिक जीवनमा मात्र सेवन गर्न पाउने गरी न्यूनआय भएका परिवारले राज्यको स्वीकृति लिएर सीमित परिमाणमा उत्पादन र बेचबिखन गर्न पाउने व्यवस्था खुला गर्न र कानून र प्रविधिको माध्यमद्वारा प्रयोगकर्तालाई राज्यको सामान्य रेखदेख र नियन्त्रणमा राखी सीमित कार्यका लागि गाँजाको खेती र प्रयोग खुकुलो गर्न अब राज्यलाई समयले घचघच्याउँदै गएको छ । 

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्