ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

काममा एकाग्र रहने तरीका

Mar 8, 2020  
रोजगारी
Image Not Found

आफ्नो समयको व्यवसथापन कसरी गर्दा ठीक हुन्छ भन्ने कुरा हाकिमहरूलाई थाहा हुन्छ । उनीहरू समयलाई व्यर्थमा खर्चिंदैनन् । समयको सही सदुपयोग र व्यवस्थापन कसरी गर्ने भन्नेबारे उनीहरूबाट धेरै कुरा सिक्न सकिन्छ । कहिलेकाहीँ थिचिएको महसूस भएर त कहिले रुचि हराएर हामी आफूले गर्नुपर्ने काममा एकाग्र हुन सक्दैनौं । तर, यसलाई चिरेर अगाडि कसरी बढ्ने अनि आफ्नो भूमिकालाई राम्ररी निर्वाह गर्ने भन्ने कुरा हाकिमहरूले राम्ररी बुझेका हुन्छन् । उनीहरूको कार्यशैली पछ्याएर आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न चाहनुहुन्छ ? हाकिमहरूले समय व्यवस्थापनका लागि अपनाउने ६ तरीका यहाँ दिइएको छ :

आफूले गर्ने कामको सूची बनाउने

कामको सूची बनाउँदा आफूले के गर्नुपर्ने रहेछ, अनि केमा बढी केन्द्रित हुनुपर्छ भन्ने कल्पना गर्न मद्दत मिल्छ । एउटा काम सम्पन्न भएपछि त्यसमा चिह्न लगाएर राख्नुहोस् । अनि अर्को काम थाल्न सकिन्छ । सूची बनाएर राख्दा कुनै काम छुट्ला वा दोहोरिएला भन्ने चिन्ता हुँदैन । 
 

एक पटकमा एउटै काममा ध्यान लगाउने

कसैको बानी नै हुन्छ, एउटा काम गरिरहेको बेलामा अर्कोको बारेमा सोच्ने । यसो गर्दा गरिरहेको काममा ध्यान लगाउन सकिँदैन । काम नै बिग्रने डर हुन्छ । त्यसैले जुनसुकै काम गर्दा पनि एकपटकमा एउटैमा मात्रै ध्यान केन्द्रित गर्नुपर्छ । अनि मात्रै अरू काममा लाग्नुपर्छ । कुनै बेला हाम्रो दिमागमा फ्याट्ट केही विचार आयो भने यसले भुलाउँछ । तर, यस्ता विचारलाई चाहिँ खेर फाल्नु हुँदैन । 

सर्वाधिक उत्पादनशील समय पहिचान गर्ने र त्यसलाई कामका लागि छुट्ट्याउने

कोही मानिस बिहान धेरै उत्पादनशील हुन्छन् अनि कोही साँझमा । तपाईंलाई पनि कार्यालय आउने बित्तिकै उत्पादनशील भएको जस्तो लाग्छ कि साँझमा सहकर्मीहरू घर गइसकेपछि एकान्तमा ? आफू कति बेला सर्वाधिक उत्पादनशील हुन्छु भन्ने थाहा भयो भने महत्त्वपूर्ण काममा एकाग्र भएर काम फत्ते गर्न सकिन्छ । सानातिना अनि पट्यार लाग्दा काम भने अरू समयमा गर्न सकिन्छ । 

आफूले गर्ने सबै काममा रुचि छैन भन्ने कुरा स्वीकार गर्ने
हामी आफूलाई रुचि भएको काम मात्रै गर्दैनौं । कहिलेकाहीँ इच्छै नभएको काम पनि गर्नुपर्ने हुन्छ । रुचि नभएका काम गर्न अलि गाह्रो हुन्छ । काम सधैं रुचिपूर्ण, रमाइलो वा चुनौतीपूर्ण हुँदैन । काम रमाइलो मानेर गरिरहेको भनेर तलब पाइने होइन । वास्तविकता के हो भने आफूले जिम्मा लिएको काम मन लगाएर राम्ररी सम्पन्न गर्नैपर्छ भन्ने कुरा स्वीकार गर्नुहोस् । यो जुनसुकै पेशाको हिस्सा हो । हाकिमहरूले पनि यस्तै गर्छन् । 

आफूलाई रुचि नलाग्ने काम अरूलाई सुम्पने

आफूसँग कामको चाप धेरै भएको बेलामा एक/दुईओटा काम अरूलाई सुम्पन सकिन्छ । कुनै परियोजनामा सीधै रिपोर्ट दिन भन्ने वा कामको कुनै पक्षमा अरूको सहयोग माग्नेबारे सोच्न सकिन्छ । सबै काम आफैले गर्नुपर्दैन । के काममा अरूको मद्दत लिन सकिन्छ, कुन चाहिँ अरूलाई गर्न दिन सकिन्छ सूची बनाउनुहोस् । जस्तै– ‘प्रूफ रिडिङ’ गर्न अल्छी लाग्छ भने केही पेज आफ्ना सहकर्मीलाई हेर भन्न सकिन्छ । बाँकी पेज आफूले हेर्दा पनि हुन्छ । 

अहिले गर्ने कि पछि भनेर आफैलाई प्रश्न गर्ने 

कतिपय मानिसमा जुन काम पनि समय घर्किसकेपछि गर्ने बानी हुन्छ । काम बेलामै सम्पन्न गरिएन भने असहज समय अनि हतारमा गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ यस्तो बानीले व्यक्तिगत समय बर्वाद गरिदिन्छ अनि मानसिक स्वास्थ्यमा पनि असर पु¥याउन सक्छ । काम यस्तो अवस्थामा पूरा गर्नुभन्दा अहिले नै एकाग्र भएर गर्नु नै ठीक हो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्