ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कृत्रिम अभाव रोक्न संयन्त्र बनाएका छौं : आपूर्ति मन्त्री 

Mar 10, 2020  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । कोरोनाको त्रासका कारण बजारमा उपभोग्य वस्तुहरूको माग अत्यधिक बढेपछि कृत्रिम अभाव र कालो बजारी हुनसक्ने आशंकामा सरकारले त्यसलाई रोक्न संयन्त्र बनाएको छ । 

सरकारले कृत्रिम अभाव रोक्न नेपाल प्रहरीसहितको संयन्त्र बनाएको हो । कोरोनाको त्रास देखाउँदै उपभोग्य वस्तुको चर्को मूल्य असुल्न खोज्ने जोकोहीलाई नेपाल प्रहरी सहितको संयन्त्र बनाई कारबाही गर्ने आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन् ।

सोमवार पत्रकारहरूसँग मन्त्री भट्टले मन्त्रालय मातहतको अनुगमन टोलीले प्रहरीसँग मिलेर संयुक्त अनुमगन गर्ने जानकारी दिए । उनले भने, ‘शुरूमा राजधानीमा संयुक्त अनुगमन टोलीले अनुगमन गर्नेछ र क्रमशः प्रदेश र स्थानीय तहसम्म पनि यसैअनुरूप काम गरिनेछ ।’ 

निजीक्षेत्रले नुन, तेल, चिनी र चामल लगायतका दैनिक उपभोग्य वस्तुहरूमा अनावश्यक रूपमा मूल्यवृद्धि गर्न खोजेमा सरकारी संस्थानमार्फत निजीक्षेत्रमाथि हस्तक्षेप गरिने उनले बताए ।

कोरोनाको त्रास फैलिएसँगै उपभोक्ताहरूले उपभोग्य वस्तुहरू थुपार्न थालेकाले माग बढेको छ । जसले गर्दा बजारमा कृत्रिम अभाव सृजना हुने आकलन गरिएको छ । 

नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोेधकुमार गुप्ताका अनुसार हप्ता दिनअघिसम्म बजारमा सामानको विक्री खासै राम्रो थिएन, तर अहिले दिनहुँजस्तो उपभोग्य सामानको विक्री ह्वात्तै बढेको छ । सबै उपभोक्ता एकैपटक बजारमा आएझैँ सामानको विक्री बढेको उनको भनाइ छ । उपभोक्ताको सामान थुपार्ने मानसिकताका कारण बजारमा उपभोग्य वस्तुको कमी हुने भएकाले यस्तो मानसिकतालाई हटाउनुपर्ने गुप्ताको भनाइ छ । 

दाल, चामल, खाने तेल, नुन र चिनी लगायतका उपभोग्य वस्तुको अभाव नरहेको र मागअनुसार उपलब्ध गराउन सक्ने अवस्थामा आफूहरू रहेको भन्दै उनले अनावश्यक हल्लाको पछि नलाग्न उपभोक्तालाई सुझाव  दिएका छन् ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नेपाल आयल निगमको आफ्नै ग्यास भण्डारण नभए पनि निजी कम्पनीसँग भएको हालको भण्डारण ६ हजार मेट्रिक टन छ । भारतबाट मागअनुसार ग्यास आयात भइरहेकोले ग्यास अभाव नहुने उनको भनाइ छ । सामान्य अवस्थामा मासिक ३८ हजार मेट्रिकटन ग्यास खपत हुने गर्दछ । कोरोना भाइरसका कारण अभाव हुन सक्ने आकलन गरेर उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास माग गर्दा अहिले ४५ हजार मेट्रिक टनसम्म खपत हुन सक्ने उनको अनुमान छ । आपूर्ति पर्याप्त भइरहकाले ग्यास नथुपार्न पनि उनले उपभोक्तालाई आग्रह गरेका छन् ।

दाल, चामल लगायतका खाद्यान्नको स्टक ३ महीनाभन्दा बढीलाई पुग्ने रहेको नेपाल खाद्य संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताएका छन् । ‘कोरोनाको त्रासले गर्दा यतिबेला उपभोक्ता आत्तिएर आवश्यकताभन्दा बढी सामान थुपार्न थालेकोले हामीले सूचना र विज्ञप्तिमार्फत उपभोक्तालाई आश्वस्त पार्ने काम गरिरहेका छौं,’ उनले भने । व्यापारीहरूले कृत्रिम अभाव सृजना गर्नसक्ने भएकाले आफूहरूले नियमित रूपमा बिदाको दिनमा समेत बजार अनुगमनलाई तीव्र बनाएको उनले बताए ।

त्यसैगरी नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले विज्ञप्ति निकाल्दै अहिलेलाई १० महीनासम्म पुग्ने नुन स्टक रहको बताएको छ । हाल कर्पोरेशनसँग १ लाख ५८ हजार ५०० मेट्रिकटन नुन मौज्दात रहेको छ । यसले आगामी १० महीनासम्म बजारको माग धान्ने कर्पोरेशनको भनाइ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्