arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आर्किटेक्चर काउन्सिल गठन गर्ने आश्वासन

२०७६ पौष, ७  
विविध
NA


काठमाडौं (अस) । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले छुट्टै आर्किटेक्चरल काउन्सिल गठन गर्ने बताएका छन् । इन्जिनीयरिङ क्षेत्रमा एउटा विधाका रूपमा रहँदै आएको आर्किटेक्चर एक विशेष कला भएकाले यसका लागि काउन्सिल नै आवश्यक रहेको मन्त्री राईको भनाइ छ । 

सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)ले शुक्रवार र शनिवार राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा मन्त्री राईले यस्तो आश्वासन दिएका हुन् । नेपालको परम्परागत शैली र शीप जोगाउँदै आधुनिक सुविधासहितका संरचना निर्माणमा लाग्न उनले आर्किटेक्टहरूलाई आग्रह समेत गरेका छन् । 

शुरू हुनै लागेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टु टुरिजम इन नेपाल’ नाराका साथ आयोजित उक्त सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटकीय संरचना निर्माणका चुनौतीको पहिचान गरी कलात्मक संरचना निर्माणका लागि सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे । 

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट नेपाल आएका सहभागीलाई आ–आफ्ना मुलुकमा नेपाल पर्यटन वर्ष २०२० को प्रचार गर्न अनुरोध गरे । सम्मेलनमा सोनाकी अध्यक्ष अञ्जुमल्ल प्रधान, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फर्मस (स्क्याफ)का अध्यक्ष राजेश थापा लगायतले यसप्रकारको सम्मेलनबाट पर्यटकीय संरचना निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्ग लगायत विषयमा छुट्टा–छुट्टै छलफल 
भएको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्