ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वित्तीय साक्षरतासम्बन्धी अन्तर्क्रिया जनकपुरमा सम्पन्न

२०७६ माघ, २  
बजार
Image Not Found

जनकपुरधाम । वित्तीय साक्षरतासम्बन्धी अन्तर्क्रिया कार्यक्रम बुधवार जनकपुरमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालि र जनकपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वित्तीय साक्षरतासम्बन्धी एक दिवसीय अन्तर्क्रिया भएको हो । कार्यक्रममा महिला उद्यमीलाई वित्तीय साक्षरता, स्वरोजगारका अवसर, रोजगार व्यवस्थापन, ऋण लिने प्रक्रिया र उत्पादनलाई बजारीकरण गर्ने तरिकाबारे जानकारी दिइएको छ ।

कार्यक्रममा महिला उद्यमीहरूले सरोकारवाला निकायहरूबाट सहयोग नपाएकाले व्यवसाय फस्टाउन नसकेको गुनासो गरेका छन् । आर्थिक अभावमा व्यवसाय खस्किँदै गएको उनीहरूको भनाइ छ । बैंकबाट ऋण लिन समस्या भएको र बैंकहरूले बढी ब्याजमा ऋण दिँदा आफूहरूले चाहेअनुरूप व्यवसाय गर्न नसकेको उनीहरूले बताएका छन् ।

आगामी चैतमा हुने वुमन अवार्ड २०२० लाई प्रभावकारी बनाउन नेपाल उद्योग वाणिज्य संघसँगको सहकार्यमा न्यू बिजनेश एजले देशको १० ठूला औद्योगिक शहरमा अन्तर्क्रिया तथा तालीम आयोजना गरिरहेको छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रले महिला उद्यमशीलतालाई नगरपालिकाले प्रोत्साहन गर्ने बताइन् । समूह बनाएर महिलाहरू व्यवसायमा अग्रसर हुनुपर्ने भन्दै उनले  व्यवसाय गर्न इच्छुक महिलालाई सहयोग गर्न तयार रहेको उल्लेख गरिन् ।

महिलाहरू आर्थिक रूपले सबल हुनुपर्ने तर्क गर्दै उनले ‘एक घर एक स्वरोजगार’को शुरुआत गर्नुपर्नेमा जोड दिइन् । व्यवसायमा नाफा घाटा भइरहने भन्दै उनले घाटाबाट उद्यमी निराश हुनुनपर्ने बताइन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले वित्तीय संस्थाबाट ऋण लिने प्रक्रियाबारे जानकारी गराउँदै दर्ता भएको व्यक्तिले सजिलै ऋण पाउने बताए । बैंकले विनाधितो रू. १० लाखसम्म ऋण दिने गरेको भन्दै उनले व्यवसायीले स्पष्ट धारणा नल्याउँदा केही समस्या देखिएको स्विकारे ।

बैंक वित्तीय संस्थाबाट ऋण लिन स्पष्ट प्रस्ताव हुनुपर्छ,’ प्रस्तावबारे उल्लेख गर्दै उनले भने, ‘स्पष्ट धारणा भएन भने ऋण दिन गाह्रो हुन्छ ।’ महिला उद्यमशीलताका लागि ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको भन्दै महिला उद्यमीका लागि देशमा निकै ठूलो सम्भावना रहेको उनले बताए ।

कार्यक्रमको प्रायोजक स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रहेको छ । सहप्रायोजक मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य संघ, विभिन्न जिल्ला चेम्बरहरू, महिला उद्यमी महासंघ, स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रुप (व्यञ्जन), प्रोग्रेसिभ फाइनान्स तथा रिलायबल इन्स्योरेन्सको पनि सहकार्य रहेको उक्त कार्यक्रम बिर्तामोड र विराटनगरमा भइसकेको छ । आगामी कार्यक्रम वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, सुर्खेत र धनगढीमा हुँदैछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement