ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वित्तीय साक्षरतासम्बन्धी अन्तर्क्रिया : महिला उद्यमीलाई कर्जामै झमेला

२०७६ माघ, ३  
बजार
Image Not Found

वीरगञ्ज । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन प्रक्रियागत झमेला हुने गरेको महिला उद्यमीहरूले बताएका छन् । न्यू बिजनेश एज प्रालि र वीरगञ्ज उद्योग वाणिज्य संघले बिहीवार वीरगञ्जमा आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी अन्तर्क्रियाका सहभागी महिला उद्यमीले यस्तो बताएका हुन् ।

महिला उद्यशीलता विकासका लागि सरकारले विनाधितो सहुलियत दरमा कर्जा दिने नीति लिए पनि उद्यमीले सहज रूपमा कर्जा नपाएको गुनासो गरेका छन् । सामूहिक जमानीमा दिइने कर्जाको प्रक्रिया अत्यन्तै झन्झटिलो भएकाले लक्षित उद्देश्य पूरा हुन नसकेको उनीहरूले बताए । आगामी चैतमा आयोजना हुने महिला उद्यमी अवार्डलाई लक्षित गरी न्यू बिजनेश एजले नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा देशका १० मुख्य सहरमा यस्तो अन्तर्क्रिया सञ्चालन गरिरहेको छ । यसै क्रममा वीरगञ्जमा भएको उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पर्साकी प्रमुख रीमा साहले महिलाको नाममा उद्योग दर्ता भए पनि सञ्चालनमा पुरुष नै अग्रसर हुने गरेको बताइन् ।

सहुलियतका लागि महिलाको नाममा दर्ता गराइएका उद्योगमा महिलाको सहभागिता नहुँदा उद्यमशीलताको विकास हुन नसकेको प्रमुख साहको भनाइ थियो । ‘नाममात्रको उद्योग दर्ता गराएर हुँदैन । त्यस्ता उद्योगमा महिलाको सहभागिता र सक्रियताले मात्र महिलामा उद्यमशीलता विकास हुन सक्छ,’ उनले भनिन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिलकुमार अग्रवालले महिला उद्यमशीलता विकासका लागि संघ सधैं प्रयत्नशील रहेको बताए । संघमा महिला उद्यमशीलता विकासका लागि उपसमिति बनाएर विभिन्न शीपमूलक कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो । संघका महासचिव माधव राजपालले महिला उद्यमीका समस्या समाधानमा संघले सक्दो सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । संघका सहसचिव अरबिन्द अमात्यले महिला उद्यमीलाई अघि बढाउनुपर्ने धारणा राखे । महिलालाई शीपमूलक र उद्यमबारे तालीम दिएर दक्ष बनाइनुपर्नेमा अमात्यको जोड थियो ।

त्यस्तै उद्यमी चञ्चला दासले महिला उद्यमीलाई ऋण लिन समस्या हुने गुनासो गरिन् । सहुलियतमा ऋण दिने भनिए पनि वाणिज्य बैंकले प्रक्रियाको बाहानामा झुलाउने गरेको उनको भनाइ छ । महिलाले सानो लगानीमा उत्पादन गरेका वस्तुको बजारीकरणमा समेत अनेक समस्या आउने गरेको उनले बताइन् । स्थानीय उत्पादनको उपाभोगमा जोड दिने हो भने स्थानीय महिलाहरूको उद्यमशीलता प्रवर्द्धन हुने दाबी उनको छ । कार्यक्रममा स्ट्यान्डर्ड चाटर्ड बैंक, वीरगञ्जका प्रबन्धक जयप्रकाश कुमार र नबिल बैंकका शाखा प्रबन्धक नितिन नन्दवानाले प्रक्रिया पूरा गरेर आउने उद्यमीलाई ऋण दिन कुनै समस्या नहुने जिकिर गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्