ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वित्तीय साक्षरतासम्बन्धी अन्तर्क्रिया : महिला उद्यमीका समस्या धेरै

२०७६ माघ, ४  
बजार
Image Not Found

माघ ४, हेटौंडा । महिलाले संचालन गरेको उद्यममा धेरै खालका समस्या रहेको बताइएको छ ।
 

नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र न्यु विजनेश एज प्रालि काठमाडौंको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको संयोजनमा शुक्रवार हेटौंडामा भएको महिला उद्यमसम्बन्धी अन्तर्क्रियामा यस्तो धारणा ब्यक्त गरिएको हो ।
 

संघको महिला उद्यमी विकास समिति सभापति निलम वैद्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर उपप्रमुख मीना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागी महिलाले  व्यवसाय दर्ता गर्ने समयदेखि घरभाडामा समेत समस्या झेल्नु परेको गुनासो गरे । 

छलफलमा संघको महिला उद्यमी विकास समिति पूर्वसभापति सरिद्धी श्रेष्ठ, महिला उद्यमी सीता भेटवाललगायतका महिला उद्यमीले आआफ्ना समस्या राखेका थिए ।

पार्लर व्यवसाय गर्दै आएकी रीना गौतमले पार्लर चल्न थालेपछि घरधनीले भाडा बढाउने वा घर खाली गर्न लगाउने र घरबहाल कर पनि व्यावसायीले नै तिर्न लगाउने समस्या रहेको बताइन् । 

हेटौंडा नगरउपप्रमुख लामाले यस्ता कार्यक्रमले उद्यमशीलतालाई प्रोत्साहन गर्ने आशा व्यक्त गरिन् । हेटौंडा उपमहानगरपालिकाले महिला उद्यमीलाई सघाउने काम गरिरहेको बताउँदै उनले उद्यमशीलता विकासको लागि आफूहरु लागिरहेको बताइन् ।
 

कार्यक्रममा मउवा संघका अध्यक्ष कृष्ण कटुवालले महिला उद्यमीको समस्या रहेका स्वीकार्दै घरबहालको समस्यालाई व्यावसायी र घरधनी बसेर समाधान गर्नुपर्ने बताए । 

उनले कुनै पनि व्यबसाय गर्दा सरकारी अनुदान कुर्नुभन्दा सहज ऋणतर्फ महिला उद्यमी लाग्नुपर्ने बताए । व्यवसाय गर्नेले कर कार्यालयलाई बुझाउने र बैंकमा बुझाउने वित्तीय विवरण एउटै बनाउनु पर्ने धारणा उनको थियो ।
    

संघका उपाध्यक्ष कृष्णकुमार गुप्ताले महिलाहरु उद्यममा लाग्नुपर्नेमा जोड दिंदै संघले महिला उद्यमीलाई सघाउने बताए । 

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख जगन्नाथ दाहालले सरकारले उद्यमीलाई ८० प्रतिशतसम्म अनुदान दिने गरेको बताए । घरेलु कार्यालयमा व्यवसाय दर्ता गर्दा सेवा शुल्क लिने गरिएको र व्यावसायीले यसलाई करको रुपमा नलिन आग्रह गरे ।

 उद्यमीले सहुलियत कर्जा लिएर फिर्ता गर्ने नगरेकाले सरकारी सहयोग पूर्ण सदुपयोग गर्न समस्या भएको बताउँदै उनले घरेलु तथा साना उद्योग कार्यालयले आवश्यक सूचना समयमै उद्योग वाणिज्य संघमार्फत् उपलब्ध गराउने गरेको बताए ।

कार्यक्रममा न्यू बिजनेश एजका तर्फबाट टीपी भुसालले संस्थाले विभिन्न अवार्ड दिंदै आएकोमा हाल महिला उद्यमीलाई पनि सम्मान गर्न सातै प्रदेशबाट १ हजार भन्दा बढी महिला उद्यमीबाट छनोट गरी अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ६ विधामा अवार्ड प्रदान गर्न लागिए बताए । 

न्यू बिजनेश एजका बालसिंह पोखरेलले व्यवसाय दर्ता गर्नुपर्ने लगायत व्यवसाय विस्तारका लागि आवश्यक विभिन्न विषयमा जानकारी दिएका थिए ।
  

 कार्यक्रममा सभापति निलम वैद्यले महिला उद्यमीका समस्या समाधानमा सघाउ पुर्‍याउन सहजीकरण गर्न पाएकोमा खुशी व्यक्त गरिन् । 
बैंकका तर्फबाट मुक्तिनाथ विकास बैंककी मन्दिरा कोइरालाले कागजात पूरा गरे बैंकबाट कर्जा लिन गाह्रो नभएको बताइन् । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठ लगायत विभिन्न क्षेत्रका महिला उद्यमी, विभिन्न बैंक र इन्योरेन्स कम्पनीका प्रतिनिधिको सहभागिता थियो । 

स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल प्रायोजक रहेको उक्त कार्यक्रममा सहप्रायोजक मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघहरू, महिला उद्यमी महासंघ, स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेशिभ फाइनान्स, रिलायबल इन्स्योरेन्सको सहकार्य रहेको छ । 

आगामी कार्यक्रम  नारायणगढ, पोखरा, सुर्खेत र धनगढीमा हुँदैछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्