ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चितवनका महिला उद्यमीको गुनासो : ‘उद्यम गर्ने जाँगर छ, पूँजी छैन’

२०७६ माघ, ६  
बजार
Image Not Found

चितवन । चितवनका महिला उद्यमीले आफूमा उद्यम गर्न प्रशस्त जाँगर र शीप भए पनि पूँजीको अभावमा सोचेजस्तो काम गर्न नपाइएको गुनासो गरेका छन् । पछिल्लो पटक सरकारले महिला उद्यमीका लागि विनाधितो ऋण र अनुदानको व्यवस्था गरे पनि हालसम्म यसको उपभोग गर्न नपाएको गुनासो पनि उनीहरूले गरेका छन् ।

आइतवार न्यू बिजनेश एज प्रालि र उद्योग वाणिज्य संघ, चितवनको संयुक्त आयोजनामा चितवनमा आयोजित महिला वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा स्थानीय सुमित्रा जोशी महर्जनले आफूले २०४३ सालदेखि टेलर पसल सञ्चालनमा ल्याए पनि पूँजी अभावकै कारण व्यवसाय विस्तार गर्न नसकेको बताइन् ।

बैंकको ऋण लिन पटक–पटक बैंक धाउँदा पनि बैंकले ऋण नपत्याएको उनको गुनासो छ । सिलाइकटाइ मेशिन तथा उपकरणका लागि साना तथा घरेलु उद्योगले समेत सहयोग नगरेको गुनासो उनले पोखिन् ।

अर्की महिला उद्यमी कमला श्रेष्ठले पनि बैंकले ऋण नपत्याएकोमा गुनासो व्यक्त गरिन् । आफ्नो ब्याग उद्योगको विस्तारका लागि ऋण अनुदान लिन जाँदा रित्तो हात फर्किएको अनुभव उनले सुनाइन् । ‘व्यवसाय शुरू गर्यो, कहिले लगानी अभाव हुन्छ, कहिले ऋण पाइँदैन,’ उनले भनिन् । महिलाले गरेको उद्यममा बैंकले विश्वास गर्न नसकेको उनको बुझाइ छ ।

उनीजस्तै पूर्वी चितवन, बैरहनीकी रोजिना चौधरीको पनि गुनासो उस्तै छ । आफूले केही वर्षदेखि ब्युटिसियन तथा खेलौना बनाउने तालीम लिएर दक्ष बने पनि पूँजीको अभावमा व्यवसाय गर्न नसकेको पीडा व्यक्त गरिन् ।

महिला उद्यमीले घर र श्रीमानबाट साथ र सहयोग पाए पनि उद्यम गर्न पूँजी, प्राविधिक सहयोग, तालीमको अभाव लगायतका कारण आफूले चाहेजस्तो उद्यम गरी अगाडि बढ्न नसकेको अन्तरक्रियामा सहभागी महिलाहरूको निष्कर्ष छ ।

कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नारायणगढ शाखाका प्रबन्धक निमेष श्रेष्ठले प्रक्रिया पुर्याएर आउने कसैलाई पनि रित्तो हात नफर्काएको दाबी गरे । आवश्यक कागजपत्र पु¥याएर आउँदा सरकारले लागू गरेको नीतिअनुसार विनाधितो ऋण तथा अनुदान दिन बैंकलाई समस्या नरहेको जिकिर गरे । यस्तै मुक्तिनाथ विकास बैंककी नारायणगढ प्रतिनिधि निर्मला आचार्यले त्यस्ता उद्यमशील महिलालाई ऋण दिन बैंक तयार रहेको बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुनाकुमारी श्रेष्ठले कतिपय महिलाहरू रोजगारीका लागि विदेश गइरहेको भन्दै विदेशमा गरिने श्रमभन्दा सानै भए पनि स्वदेशमै उद्यम गर्नु लाभदायी हुने बताइन् । आफूलाई आत्मनिर्भर, सबल र सक्षम बन्न पनि हरेक महिला उद्यमी नै बन्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले संघले महिलालाई उद्यमतर्फ आकर्षित गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि त्यस्ता कार्यक्रमलाई संघले प्राथमिकता दिने उनको भनाइ छ ।

महिलाहरूकै लागि हालै महिला उद्यमी मेला पनि गर्यौं,’ उनले भने, ‘उत्पादनको बजारीकरणका लागि पनि कोसेली घर सञ्चालनमा ल्याएका छौं, महिलाले अब चुलोचौका मात्र होइन उद्यमशील पनि बन्नुपर्छ ।’

कार्यक्रममा न्यू बिजनेश एजका तर्फबाट अभियान दैनिकका प्रमुख सम्वाददाता टीपी भुसालले यस अघि पनि विभिन्न अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको न्यू बिजनेश एजले यसपटक महिला उद्यमीलाई सम्मान गर्न लागेको जानकारी दिए । सातै प्रदेशबाट १ हजारभन्दा बढी महिला उद्यमीबाट छनोट गरी अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ६ ओटा  विधामा अवार्ड प्रदान गरिने उनले बताए । यस्तै न्यू बिजनेश एजका बजार प्रबन्धक बालसिंह पोखरेलले व्यवसाय दर्ता, लगानी, बीमा तथा पूँजीको सदुपयोग र बचतबारे आफ्नो प्रस्तुति दिएका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रायोजक रहेको उक्त कार्यक्रममा सहप्रायोजक मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघहरू, महिला उद्यमी महासंघ, स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेशिभ फाइनान्स तथा रिलायबल इन्स्योरेन्सको सहकार्य छ ।

देशका मुख्य १० शहरमा आयोजना गर्ने लक्ष्यसहित विर्तामोडबाट शुरू भएको अन्तरक्रिया अब पोखरा, बुटवल, सुर्खेत र धनगढीमा हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्