रूपन्देही । महिला उद्यमीहरूले सहुलियतपूर्ण कर्जा पाउन नसकिएको गुनासो गरेका छन् । न्यू बिजनेश एज प्रालि र बुटवल उद्योग वाणिज्य संघले शुक्रवार बुटवलमा आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रियामा सहभागी महिला उद्यमीहरूले सहुलियतपूर्ण कर्जा पाउन निकै मुस्किल रहेको गुनासो गरेका हुन् । नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जा प्रवाह कार्यविधिमा तोकिएबमोजिम महिला उद्यमी कर्जाको ब्याजमा ६ प्रतिशत अनुदान प्राप्त हुने उल्लेख छ । सरकारी नीति राम्रो रहे पनि त्यसको लाभ आफूहरूले नपाएको अधिकांश महिला उद्यमीको गुनासो छ ।
सहुलियतपूर्ण कर्जालाई सबैको पहुँचमा पुर्याइनुपर्नेमा उनीहरूको जोड छ ।
प्रशोधित पानी उद्यमी सुनिता शर्मा बञ्जाडेले आफूले धेरै प्रयास गर्दा पनि सहुलियत कर्जा पाउन नसकेको बताइन् । महिलाले सञ्चालन गरेको उद्यमलाई प्रोत्साहन गर्ने सरकारी नीति भए पनि त्यसको लाभ सबै महिलाले लिन नसकेको उनको भनाइ छ ।
त्यस्तै पशुपालन व्यवसायमा संलग्न उद्यमी लीलादेवी गिरिले सहुलियतपूर्ण कर्जामा टाठाबाठाको मात्र पहुँच पुग्दा सामान्य उद्यमी मर्कामा परेको बताइन् । लघुवित्तीय संस्थाले दिने कर्जाको ब्याजदर निकै चर्को रहेको उनको गुनासो छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन प्रक्रियागत झमेला हुने गरेको महिला उद्यमी नमकला बेल्बासेको भनाइ छ । महिला उद्यमशीलता विकासका लागि सरकारले विनाधितो सहुलियत दरमा कर्जा दिने नीति लिए पनि उद्यमीले सहज रूपमा कर्जा नपाएको गुनासो उनले गरिन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक राजेन्द्र भट्टराईले विभिन्न ९ शीर्षकमा बैंकहरूले सहुलियतपूर्ण कर्जा दिने बताए । उनका अनुसार महिला उद्यमशील कर्जाको ब्याजमा ६ प्रतिशत अनुदानको व्यवस्था छ । कर्जाको दुरुपयोग गरिए कर्जा लिनेलाई कारबाही हुने पनि उनले स्पष्ट पारे । कुनै पनि व्यावसायिक कर्जा लिनुअघि वित्तीय रूपमा साक्षर हुनुपर्नेमा उनको जोड छ ।
प्रदेश ५ की उपसभामुख कृष्णी थारूले महिला उद्यमीहरूको गुनासो सम्बोधन हुनुपर्ने बताइन् । प्रदेश सरकारले पनि महिला उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम अघि सारेको बताउँदै उनले महिलाहरू कुनै न कुनै काममा आबद्ध भई उद्यमी बन्दा समाजले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने धारणा व्यक्त गरिन् ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य संघ प्रदेश ५ महिला समिति सभापति तारा आचार्यले महिला उद्यमीले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्न संघ तयार रहेको बताइन् । ग्लोबल आईएमई बैंक, राममन्दिर शाखा प्रमुख जोगलाल भुसालले बैंकहरू नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले सहुलितपूर्ण कर्जा सजिलो तरिकाले दिनुपर्ने बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमलाई न्यू बिजनेश एजले प्रकाशन गर्ने आर्थिक अभियान दैनिकका प्रमुख सम्वाददाता टीपी भुसाल र कम्पनीका बजार प्रबन्धक बालसिंह पोखरेलले सहजीकरण गरेका थिए । आगामी चैतमा आयोजना हुने महिला उद्यमी अवार्डलाई लक्षित गरी न्यू बिजनेश एजले नेपाल उद्योग वाणिज्य संघको सहकार्यमा देशका १० मुख्य शहरमा अन्तरक्रिया गरिरहेको छ । बिर्तामोडबाट शुरू भएको अन्तरक्रिया कार्यक्रम अब पोखरामा गरिनेछ ।
न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड तथा न्यूबिज वी–स्कूल्स् रेटिङ, र्याङ्किङ एण्ड अवार्ड जस्ता कार्यक्रम गर्दै आएको न्यूबिजनेश एजले पहिलोपटक आगामी मार्चमा ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड एक्सिलेन्स अवार्ड–२०२०’ आयोजना गर्दैछ । सात ओटै प्रदेशका २ हजारभन्दा बढी महिला उद्यमीबाट छनोट गरी अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ६ ओटा विधामा अवार्ड प्रदान गर्ने कम्पनीको तयारी छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रायोजक रहेको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघहरू, नेपाल राष्ट्र बैंक, महिला उद्यमी महासंघ, स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेशिभ फाइनान्स, रिलायबल लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी र अग्नि गू्रपको सहकार्य छ ।