चैत ३, पेचिङ । अलिबाबाका संस्थापक ज्याक माले कोरोना भाइरसको संक्रमणबाट बच्न अमेरिकालाई १० लाख मास्क र ५ लाख टेस्टिङ किट सहयोग गरेका छन् ।
सोमवार बिहान चीनको सांङहाईबाट उनले अमेरिका पठाएका हुन् । उनले ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमा राख्न लागिएको तस्वीर पनि सोमवार पहिलो पटक खोलेको ट्वीटर एकाउन्टमा पोष्ट गरेका छन् ।
ट्विटरमा खाता खोल्नेबित्तिकै उनलाई करीब ९० हजारले फलो गरेका थिए । आफ्नो खाताबाट गरेको उक्त ट्विटलाई पछि उनले ज्याक मा फाउन्डेसनबाट रिट्विट गर्दै कठीन समयमा अमेरिकीहरूसँग हातेमालो गरेको बताएका थिए ।
उनको ट्वीटलाई ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सेले रिट्विट गर्दै उनलाई नयाँ प्लेटफर्ममा स्वागत पनि गरेका छन् । ज्याक मा फाउन्डेसनले कोरोना भाइरससँग लडिरहेका अरू मुलुकलाई पनि सहयोग गर्ने बताएको छ । एजेन्सी