ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयर कारोबारमा थपिएको समय अनुचित

२०७६ चैत, ४  
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

शेयर कारोबार समय बढाउने अप्रत्याशित निर्णय आएपछि एकादुईबाहेक अधिकांशले यसको विपक्षमा मत जाहेर गरे । शेयरबजारमा अन्य धेरै सुधारका विषय उठिरहेका बेला अचानक समय बढाउने निर्णय हुनु ‘कामका लागि काम देखाएको’ जस्तो मात्र देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले फागुन ३० गतेको नेपाल धितोपत्र बोर्डबाट निर्देशनबमोजिम २०७६ चैत २ गते आइतवारबाट थप १ घण्टा (३ बजेदेखि ४ बजेसम्म) परीक्षण कारोबार गरिने गरी समय बढाएको जानकारी सार्वजनिक गरेको थियो । 

कारोबार समय बढाउनेभन्दा थप वित्तीय उपकरण ल्याएर बजारलाई बढी चलायमान बनाउने अहिलेको मुख्य विषय हो । यसका अतिरिक्त शुद्ध सूचना प्रवाह पनि बजारको आवश्यकता हो ।

कारोबार समयको सारांश 
व्यवस्थित रूपमा शेयर कारोबार शुरू भएको २५ वर्षभन्दा बढीको अवधिमा पटकपटक कारोबार समय थपिँदै आएको छ । विक्रम संवत् २०४९ सालमा शुरूमा २ घण्टा चिच्याएर (ओपन क्राइङ) भाउ लगाउँदै शुरू भएको शेयर कारोबार अहिले स्वचालित विद्युतीय अनलाइन प्रणालीमार्फत हातहातको मोबाइल फोनबाट पनि कारोबार गर्न सकिनेसम्मको स्थितिमा आइपुगेको छ । पहुँच बढेसँगै समय होइन, लग इन थप्दै जानुपर्नेमा समय नै बढाउने कार्य हुँदै आएको छ । २०६३ सालमा २ घण्टाबाट ३ घन्टा पुर्‍याइएको कारोबार समय २०७३ साल साउन २ गतेदेखि ३ बाट ४ घण्टा पुर्‍याइएको थियो । त्यसको करीब ४ वर्ष पुग्न लाग्दा फेरि कारोबार समय बढाएर ५ घण्टा पुर्‍याइएको छ । 

तुलनात्मक स्थिति 
शेयर कारोबार समय बढाउने निर्णयको औचित्य के हो भन्ने कुराको पुष्टि हुने कुनै दस्तावेज सार्वजनिक भएको देखिँदैन । समय बढाउनुपर्ने आवश्यकताका लागि विगतका कारोबारको तथ्यांक एउटा आधार हुनसक्ने भए पनि त्यसको तुलनात्मक अध्ययन भएको देखिएन । नेप्सेले प्रकाशन गर्ने वार्षिक कारोबार विवरणको अध्ययन गर्दा अहिले कारोबार बढाउनुपर्ने आवश्यकता देखिँदैन । ३/४ घण्टाको कारोबार समयमा तात्त्विक अन्तर केही पनि देखिँदैन भन्ने तथ्य २०६७/६८ देखि २०७५/७६ सम्मको कारोबार संख्याले स्पष्ट पार्छ ।

२०६७/६८ देखि २०६९/७० को अवधिमा औसत ८ सेकेन्डमा एउटा कारोबार भएको देखिन्छ । सबैभन्दा थोरै ३ सेकेन्डमा २०७२/७३ मा एउटा कारोबार भएको देखिन्छ । यो अवधिमा कारोबार समय दैनिक ३ घण्टा थियो । कारोबार समय थपिएको २०७३/७४ देखि २०७५/७६ सम्म औसत २ दशमलव ५ सेकेण्डमा एउटा कारोबार सम्पन्न भएको देख्न सकिन्छ । शेयर कारोबार मापन सूचक १,८८१ को उच्च विन्दुमा पुगेको वर्ष २०७३ सालमा समेत प्रतिकारोबार समय घट्न सकेको देखिँदैन । यदि कारोबार समय थप नभएको भए प्रति २ सेकेन्डमा कारोबार हुने तथ्यांकले पुष्टि गर्छ । १ घण्टा थपिएको ३ वर्षको अवधिमा प्रतिकारोबार समय २ दशमलव ५ सेकेन्ड कायम रहेको छ । अझ आर्थिक वर्ष २०७५/७६ मा कारोबार दिन औसत २ सय ३० लाई मान्ने हो भने यस वर्ष १६ दिन थप भएको छ । दिन बढेको हुँदा कारोबार बढ्दा पनि प्रतिकारोबार समय भने उही नै छ । 

शेयरबजारमा प्रतिसेकेन्ड होइन, मिलिसेकेन्डभन्दा पनि कम समयमा कारोबार सम्पन्न हुनुपर्छ । नेपालको शेयरबजारमा १ मिनेटमा अधिकतम २४ ओटा र न्यूनतम ७ ओटा कारोबार भएको अभिलेख पाइन्छ । विगत ९ वर्षको तालिका हेर्दा प्रतिसेकेन्ड एउटा कारोबार हुन सकेको देखिँदैन ।

पछिल्लो समय शेयरबजारमा वृद्धि देखिँदा लगभग प्रतिसेकेन्ड एउटा कारोबार भएको देखिन्छ । गत फागुन महीनामा ३ लाख २१ हजार ३ सय १ ओटा कारोबार भएको नेप्सेको प्रतिवेदनमा उल्लेख छ । यस हिसाबले १ मिनेटमा ६३ ओटासम्म कारोबार भएको देखिएको छ । यो संख्या भनेको शेयरबजार बढेको बेलाको हो । सामान्य अवस्थामा भने यति कारोबार हुनसक्ने अनुमान गर्न सकिँदैन । संसारका ठूला स्टक एक्सचेन्जको प्रतिमिनेट कारोबार क्षमता हजारौं हुन्छ । बिहान ९ बजेर १५ मिनेटबाट दिउँसो ३ बजेर ३० मिनेटसम्म कारोबार हुने बीएसई (बम्बे स्टक एक्सचेन्ज) को स्वचालित विद्युतीय कारोबार प्रणाली (बीएसई अनलाइन ट्रेडिङ) को प्रतिदिन कारोबार क्षमता ८० लाख रहेको छ । 

शेयरबजारमा प्रतिसेकेन्ड होइन, मिलिसेकेन्डभन्दा पनि कम समयमा कारोबार सम्पन्न हुनुपर्छ । नेपालको शेयरबजारमा १ मिनेटमा अधिकतम २४ ओटा र न्यूनतम ७ ओटा कारोबार भएको अभिलेख पाइन्छ ।

अध्ययन विनाको निर्णय 
कारोबार समय कम भयो बढाउनुपर्छ भन्ने गुनासो र आवश्यकताको महसूस शायद कसैले पनि नगरेको हुँदा यस बारेमा कुरो उठेन । बरु यदाकदा रात्रीकालीन कारोबार समय भए हुन्थ्यो भन्नेसम्मको कुरो उठेको सुनिएको हो । रात्रिकालीन कारोबार कतिपय देशमा नभएको पनि होइन । तर, नेपालको सन्दर्भमा आवश्यक देखिएको छैन । हिताग्राही खाताधारक (डिम्याट) खोलेकै आधारमा नेपालमा १५ लाख शेयर कारोबारी छन् भन्ने तथ्यांक सरकारीस्तरबाट पेश हुने गरे पनि यसलाई तथ्ययुक्त मान्न सकिँदैन । यसमा एकै व्यक्तिका बहुखाता छन् । बहुखाताको आवश्यकता पनि हुने हुँदा यस्ता बहुखाता एकै व्यक्तिको हो भन्ने संयन्त्रको विकास गर्न सकिने हुँदाहुँदै पनि नगरेर ‘संख्याको खेलमा’ नियामक र सरकार रमाएका छन् । अर्कातर्फ आरक्षण शेयर आवेदन गर्न मात्र खोलिएका थुप्रै खाता छन् ।

शेयरबजारमा विविध उपकरण (वित्तीय डेरीभेटिभ जस्ता) नहुँदा यहाँ नियमित कारोबार गर्नेको संख्या दैनिक २ हजार हाराहारीमा रहेको अनुमान छ । शेयरबजारमा उपकरणको विविधता ल्याउनुपर्नेमा समय बढाउने कुरो कहाँबाट किन उब्जियो यसको उत्तर अनुत्तरित नै छ । २ बाट ३ घण्टा बनाउँदा होस् वा ३ बाट ४ घण्टा बनाउँदा हो वा अहिले ५ घण्टा बनाउँदा होस् कुनै पनि बेला यसको आवश्यकताको विषयमा कुनै छलफल र अध्ययन भएको देखिँदैन । कारोबार समय बढाउने वा आवश्यक परेमा घटाउने निर्णय साझेदारको सहभागितामा छलफल गरी निर्धारण गर्दा त्यसको प्रभावकारिता र अपनत्व हुन्छ । 

सिद्धान्ततः कारोबारसँग सम्बद्ध विषयमा अन्तिम निर्णय गर्ने अधिकर बजार सञ्चालक (स्टक एक्सचेन्ज) लाई हुनुपर्ने हुन्छ । तर, कारोबार समय बढाउने निर्णय बजारको सर्वोच्च नियमक नेपाल धितोपत्र बोर्डले एकलौटी पाराले गरेको छ । यसो हेर्दा बजार सञ्चालक ‘स्टक एक्सचेन्ज हो कि’ ‘नियामक हो’ प्रश्न उठेको छ । नियामकले निर्णय लिँदा साझेदारसँग छलफल गर्नुपर्ने हो तर, एक्लै दौडेर ‘प्रथम’ हुने प्रयास गरेको छ । ३ बाट ४ वा ४ बाट ५ घण्टा समय बढाउने प्रवृत्ति हेर्दा धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउनासाथ कारोबार समय बढाउने ‘रोगै’ लागेको जस्तो देखिन्छ । 

कारोबार समय बढाउनेभन्दा थप वित्तीय उपकरण ल्याएर बजारलाई बढी चलायमान बनाउने अहिलेको मुख्य विषय हो । यसका अतिरिक्त शुद्ध सूचना प्रवाह पनि बजारको आवश्यकता हो । कारोबार समय बढ्दैमा कारोबार बढ्दैन । लग इन र अन्य वित्तीय उपकरण थप गरेर १२ देखि ३ बजेसम्म ३ घण्टा मात्र समय कारोबारका लागि उपयुक्त हुनेहुँदा यसतर्फ ध्यान आकृष्ट होस् । 

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्