arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सडक कि धराप ?

२०७६ पौष, ११  
पाठक विचार
NA


सडक दुर्घटनामा मारिने संख्या बढ्दो छ । राजधानी काठमाडौंमै दुर्घटना बढिरहेको छ । तर, विगतका सरकारलाई अलच्छिना भनेर खुलेआम भन्ने वर्तमान सरकारका प्रमुखले दुर्घटना न्यून गर्न कुनै नीति बनाएको पाइँदैन । निर्देशन दिएर ठूलो काम गरेँ भन्ने सोच प्रधानमन्त्रीमा पाइन्छ जुन गलत हो । यस्तो निर्देशनले काम गर्ने भए त देश उहिल्यै सिंगापुर जस्तै बनिसक्ने थियो । 

काठमाडौं उपत्यकाका अधिकांश सडक दयनीय अवस्थामा छन् । सडक विस्तारको नाममा वर्षाैंदेखि खनिएर छोडिएको छ जसका कारण दिन प्रतिदिन सडक दुर्घटना बढेको छ । सडकमा असरल्ल तार र पोल ठडिएका छन् । काठमाडौंका अधिकांश सडक साँघुरा छन् । सडकको क्षमताभन्दा धेरै सवारीसाधन चलेका छन् । यस्तोमा पैदल यात्रुको सुरक्षा बढी प्राथमिकतमा पनुपर्ने हो । तर, यात्रु हिँड्ने फूटपाथ नै अतिक्रमणमा परेको छ । सडक व्यापारी र सवारी पार्किङले पैदल यात्रु फूटपाथबाट हिँड्न पाउँदैनन् । अझ सडकछेउमा निर्माण सामग्री थुपार्ने चलन बढी नै छ । यी सबैले सडक अव्यवस्थित र असुरक्षित बनेका हुन् । यिनमा सुधार ल्याउन पैदल यात्रुलाई पहिलो प्राथमिकतामा राखेर पूर्वाधार बनाउनुपर्ने हो । तर, दुर्भाग्य यहाँका इन्जिनीयरहरू फूटपाथ हटाएर सडक फराकिलो पार्छन् अनि त्यहाँ पार्किङ गर्न दिन्छन् । यस्तो विडम्बना दुनियाँमा कहीँ पनि देखिँदैन । 

उपत्यकामा सबैभन्दा दुरवस्था छ : सार्वजनिक यातायातको । सार्वजनिक बसले निश्चित ठाउँमा यात्रु चढाउने र ओराल्ने गर्नुपर्ने हो । तर, जहाँ यात्रु भेन्टिछ त्यही बस स्टप बन्छ । यसले गर्दा दुर्घटनाको जोखिम निकै बढेको छ । अर्को काठमाडौंका सवारी चालकले लेन अनुशासन पाला गर्दैनन् । मोटरसाइकल त फूटपाथबाट कुदाइरहेका हुन्छन्, उल्टै पैदल यात्रुलाई हर्काछन् । यसले गर्दा समस्या भयावह नै बनिसकेको छ । 

सडक यातायातको व्यवस्थापनका लागि प्रहरी परिचालनमात्र पर्याप्त हुँदैन । प्रविधिको प्रयोग अनिवार्य हुन्छ । यसका लागि मूल सडकको निश्चित दूरीमा सीसी क्यामेरा राख्नुपर्ने हुन्छ तर राखिएको छैन । राखिएकाले पनि प्रभावकारी रूपमा काम गरेका छैनन् । त्यस्तै ट्राफिक चिह्नको प्रयोग अनिवार्य हुनुपर्छ । तर, ट्राफिक आफैलाई यसको नियमबारे थाहा छैन । आफ्नो सजिलोका लागि प्रहरीको मुखमा नै कानून बसेजस्तो देखिन्छ । यसले ट्राफिक नियम उल्लंघन गर्न प्रोत्साहन गरेको छ । यही कारण दुर्घटना बढ्दो छ । नियमप्रति सम्मानको भाव नभएसम्म दुर्घटना न्यून गर्न सहज हुँदैन । 

वैभव श्रेष्ठ
चाबहिल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्