ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पूँजीबजारको विकास र स्थायित्वका लागि स्टक डिलर कम्पनी खोल्यौं

२०७६ चैत, ४  
अन्तरवार्ता अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

नागरिक लगानी कोष (सीआईटी) ३०औं वर्षमा प्रवेश गरेसँगै स्टक डिलर खोल्ने योजना पनि सफल भएको छ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी (दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’ हालै संशोधन गर्दै विशेष ऐनद्वारा स्थापित कम्पनीलाई स्टक डिलर सञ्चालन गर्न अधिकार दिएपछि कोषले सहायक कम्पनीको रूपमा नागरिक स्टक डिलर कम्पनी स्थापना गरिसकेको छ ।

उक्त कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब र अधिकृत पूँजी १० अर्ब छ । यस कम्पनीमा कोषको रू. २ अर्ब ५५ करोड, नेपाल टेलिकमको रू. ४५ करोड र नेपाल पुनर्बीमा कम्पनीको रू. ५० करोड लगानी छ । बाँकी रहेको ३० प्रतिशत शेयर भने प्रारम्भिक साधारण शेयर (आईपीओ)मार्फत जुटाउने भनिएको छ । प्रस्तुत छ, कोषको ३०औं वार्षिकोत्सवको अवसरमा कोषकाका कार्यकारी निर्देशक रमण नेपालसँग यस्तै समसामयिक विषयमा आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानी :

लामो समयको प्रयासपछि नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न सहायक कम्पनी स्थापना गरिसकेको छ । कोषको ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी स्थापना गरिएको कम्पनीले कारोबार थाल्न के कस्तो तयारी गरेको छ ?
स्टक डिलरको काम अगाडि बढाउन कम्पनीको सञ्चालक समिति चयन गरिसकेका छौं । कोषको सहायक कम्पनी भएकाले नाताले यसको सबै काम सञ्चालक समितिले नै गर्छ । समितिले नै कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार, कम्प्युटर, सफ्टवेयर लगायतको व्यवस्था गर्नेछ । त्यसपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिफारिशमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र लिएपछि मात्र स्टक डिलरले काम शुरू गर्छ ।

अब कसरी काम गर्ने भन्ने प्रक्रियाबारे भने कम्पनीको सञ्चालक तथा व्यवस्थापनले बनाएको कार्यविधिले तय गर्नेछ । साझेदारी संस्थाबाट प्रतिनिधिको नामावली आइसकेको छ । अब सञ्चालक समितिको बैठक बसेर आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । कम्पनीको पहिलो काम भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने हो । त्यसपछि सीईओको कार्ययोजना अनुसार कर्मचारी व्यवस्थापन लगायत विषयमा काम हुनेछ ।

नागरिक स्टक डिलर कम्पनी ठ्याक्कै कहिलेदेखि सञ्चालनमा ल्याउने योजनामा हुनुहुन्छ ?
आगामी वैशाख २ गतेदेखि स्टक डिलर कम्पनी सञ्चालन गर्ने योजना थियो । तर, अझै आवश्यक नीति बनाउन, सफ्टवेयर जडान गर्न र सफ्टवेयर चलाउने कर्मचारीलाई तालीम दिनुपर्ने लगायत काम गर्न बाँकी छ । त्यसैले २ महीनाभित्र स्टक डिलरको काम गर्न सकिन्छ जस्तो लाग्छ ।

स्टक डिलरले शेयर बजारको माग/आपूर्तिलाई सन्तुलनमा राख्न शेयर खरीद तथा विक्री गर्ने हो । यो संस्थाले पूँजीबजारको स्थायित्वलाई हेर्दछ । लगानीकर्ताहरू कुनै बेला एकदमै निराशाजनक र कुनै बेला धेरै उत्साहजनक भएको देखिन्छ । अहिले शेयर बजार एकैचोटि धेरै बढ्ने र धेरै घट्ने भएकाले बजार ‘भोलाटाइल’ अवस्थामा देखिएको छ । अब यसलाई सन्तुलनमा राख्न कम्पनीले निरन्तर बजारको विश्लेषण गर्नेछ ।

लगानी गर्ने संस्थाको नाफामूलक अवस्था हेरेर कम्पनीले पूँजी बजारको विकासका लागि कारोबार गर्छ । यसको चुक्तापूँजी ५ अर्ब रुपैयाँको भए पनि अन्य संस्थाबाट सापटीको रूपमा लिएर काम गर्न सक्छ । तीनओटै सबल संस्थाहरूको सहकार्यमा कम्पनी दर्ता भएको छ । डिलरलाई अघि बढाउन साझेदारी संस्थाबीच छलफल भइरहेको छ । यसले आगामी दिनमा शेयर बजारलाई राम्रै योगदान पुर्‍याउने आशा छ ।

नागरिक स्टक डिलर कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणको समेत काम गर्ने भनिएको छ । त्यसका अवसर तथा चुनौतीलाई कसरी हेर्नुभएको छ ?
नेपालको सन्दर्भमा स्टक डिलर वा मार्केट मेकरको रूपमा आएको यो पहिलो कम्पनी हो । पहिला कम्पनीले आफ्ना आवश्यक प्रणालीहरू तयार गर्नुपर्‍यो । अन्तरराष्ट्रिय स्तरमा भएका राम्रा अभ्यास अनुसरण गर्दै जानुपर्नेछ । अरू देशमा स्टक डिलरले गरेका कामको नतीजा कस्तो आएको छ, त्यो हेर्नु छ । समग्रमा यो कम्पनीले पूँजीबजारका उत्पादनमूलक क्षेत्रलाई पनि सहयोग गरोस् भन्ने हाम्रो सोच हो ।

पूँजीबजारले अर्थतन्त्र तथा आर्थिक वृद्धिमा योगदान पुर्‍याएको हुन्छ । शेयर बजारको आधारमा नै मुुलुकको अर्थतन्त्र तथा सरकारको मूल्यांकन गरिन्छ । नेपालका शेयर बजार एकदम ‘भोलाटाइल’ देखिन्छ । विशेषतः छोटो अवधिको लगानीकर्ताले पूँजीबजारलाई भोलाटाइल बनाएका छन् । अहिले बजारमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन लगानीकर्ताभन्दा पनि छोटो अवधिको कारोबार गर्ने लगानीकर्ताको बाहुल्य छ । यस अवस्थामा स्टक डिलर ल्याउन लागेका छौं ।

शेयर बजारलाई सन्तुलनमा राख्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागेको स्टक डिलरले शेयर बजारमा स्थायित्व ल्याउन कस्तो भूमिका निर्वाह गर्ला ?
स्टक डिलर कम्पनीले शेयर बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर खरीद गर्ने जस्ता काम गर्ने हो । बजारमा विक्री गर्नेको संख्या बढ्यो । तर, खरीद गर्नेहरू भएनन् भने कम्पनीले आफ्नो क्षमता, कारोबारको अवस्था, मूल्यको उतारचढाव हेरेर त्यो शेयर खरीद गर्दछ । किन्ने भन्दैमा जुन पायो त्यही मूल्यमा किन्ने पनि होइन, मूल्यको विश्लेषण गरेर शेयर किनिन्छ ।

बजारमा माग एकदमै बढ्न थालेपछि विक्रीकर्ताले मूल्य बढाउन थाल्छन् । त्यो अवस्थामा कम्पनीले आपूर्ति बढाउन मद्दत गर्दछ । बजारमा अप्रत्याशित मूल्यको उतारचढाव नआओस् भन्ने उद्देश्य राखेर काम गर्छ । तर पूँजी र कारोबार सानो भएकाले कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने सञ्चालन भएपछि मात्र थाहा हुन्छ । 

साथै, नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरूले पनि रू. २० करोडसम्मको पूँजी भएमा स्टक डिलर खोल्न पाउने व्यवस्था गरेको छ । यो नीतिले गर्दा क्रमशः अरू कम्पनी पनि आउलान्, त्यहाँ पनि प्रतिस्पर्धा होला । त्यसैले, कम्पनीले पूँजीबजार विकाससँगै स्थायित्व पनि कायम गर्न मद्दत पुग्छ ।

सहायक कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब र अधिकृत पू“जी १० अर्ब भनिएको छ । साझेदारीको रूपमा नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी पनि सहभागी छन् । कोष र यी २ कम्पनीको साझेदारीले करीब रू. १७ खर्बभन्दा बढीको बजार पूँजीकरणलाई कसरी सन्तुलनमा राख्ला ?
हाम्रो स्टक डिलर पहिलो संस्थाको रूपमा दर्ता भयो । धितोपत्र बोर्डले अन्य बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्थालाई पनि सहायक कम्पनी खोलेर स्टक डिलरको काम गर्न पाउने भनेकोले अरू पनि आउन सक्छन् । कर्मचारी सञ्चय कोषले पनि स्टक डिलर खोल्ने भनिरहेको छ । यसरी अरू कम्पनी पनि आएपछि भोल्युम ठूलो हुन्छ । धेरै संस्थाले डिलरको काम गरेपछि पूँजी बजारमा प्रतिस्पर्धा मात्र नभई सहकार्य समेत काम गर्न सकिन्छ । कम्पनी कम्पनीबीच बजारको अवस्थाअनुसार कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल गर्न सक्छौं । फलस्वरूप अप्रत्याशित पूँजी बजारलाई केही मात्रामा भए पनि सन्तुलन ल्याउन सकिन्छ ।

पहिला कोषका बचत योजनाहरू कर्मचारी लक्षित थिए । अहिले अन्य सार्वसाधारणलाई पनि कोषमा आबद्ध हुनेगरी विभिन्न योजनाहरू ल्याइएको छ । ती योजना कत्तिको प्रभावकारी भएका छन् ?
कोषले विशेषगरी गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, श्रमिक, स्वरोजगार सर्वसाधारणलाई लक्षित गरी सामाजिक सुरक्षाको सुविधा सहित ‘नागरिक बचत वृद्धि कार्यक्रम’ सञ्चालनमा ल्याएको हो । तर, त्यसको कार्यान्वयन भने भइसकको छैन । त्यसको कार्यविधि भर्खरै पास गरेका छौं ।

आम नागरिकले आफूले जम्मा गरेको पैसाबाटै पछि पेन्सनको रूपमा पाउनेगरी उक्त योजना ल्याएका हौं । यस योजनामा नागरिकले वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा निरन्तर १५ वर्षसम्म आवश्यक रकम जम्मा गरे भने ६० वर्षपछि मासिक रूपमा पेन्सन पाउनेछन् । तर, यसमा सरकारले कुनै पनि प्रकारको सहुलियत दिँदैन । काम गर्ने उमेरमा कमाएको केही रकम कोषमा जम्मा गर्दै गएपछि कमाउन नसक्ने उमेरमा मासिक रूपमा पेन्सन पाउने व्यवस्था गरेका छौं । बीमांकीबाट बीमांकीय मूल्यांकन गरेर यो कार्यक्रम ल्याएका हौं । अब काम शुरू गरेपछि कस्तो परिणाम आउँछ, त्यो भने हेर्न बाँकी छ ।

अनिवार्य रूपमा सामाजिक सुरक्षा कोष सञ्चालनमा आएपछि कोषले ल्याएको यो योजना सफल होला त ?
यो कोषले ल्याएको ल्याएको ऐच्छिक योजना हो । यस योजनालाई कुनै पनि ऐनले नियन्त्रण गर्दैन । सामाजिक सुरक्षा कोषले समेट्ने भनेको श्रम ऐनअनुसार रोजगारी पाएका, ज्यालामा काम गर्ने कामदार हुन् । तर स्वरोजगार, वैदेशिक रोजगारमा गएकालाई सामाजिक सुरक्षाले समेट्दैन । यसकारण कोषले अरूले नसमेटेको योजनालाई पृथक् ढंगबाट समेटेर यो कार्यक्रम ल्याएको हो । यो योजना मन पराउनेले व्यक्तिले स्वतः स्फूर्त रूपमा लिन सक्छन् ।

डाक्टर, इन्जिनीयर, वकिल, बीमा अभिकर्ताहरू जस्ता स्वरोजगार तथा व्यवसाय गरेका व्यक्तिहरू पनि यस योजनामा सहभागी हुन्छु भन्नेहरू छन् । बीमा अभिकर्ताले काम गरुन्जेल पैसा आउँछ । तर, काम नभए पैसा आउँदैन । अहिले उनीहरूले पाएको कमिशनबाट केही छुट्ट्याएर जम्मा गरे भने निकट भविष्यमा पेन्सनमार्फत आर्थिक समस्या समाधान गर्न सकिन्छ । 

यो योजनामा आबद्ध हुन कस्तो प्रक्रिया अपनाउनु पर्छ ?
यस योजनामा सहभागी हुन मासिक रूपमा न्यूनतम रू. ५०० जम्मा गर्नुपर्ने हुन्छ । बचतकर्ताले आफ्नो क्षमताअनुसार त्यो भन्दामाथि जति पनि रकम जम्मा गर्न सक्नेछन् । बचतकर्ताले एकमुष्ट वा अनुकूलता अनुसार पटक–पटक गरेर पनि बचत गर्न सक्नेछन् । उनीहरूले वार्षिक ८ प्रतिशत ब्याज पनि पाउँछन् । यसरी बचतकर्ताले निरन्तर १५ वर्षसम्म रकम जम्मा गरेमा तोकिएको मापदण्डमा रहेर पेन्सन दिइन्छ । साथै, तोकिएको प्रक्रिया पु¥याएर एकमुष्ट रकम पनि लिन सक्छन् ।

बचतकर्ताले यस योजनामा रू. १ लाखसम्मको दुर्घटना बीमा, औषधोपचार बीमा, मृत्यु संस्कार खर्च, सुत्केरी खर्च लगायत सामाजिक सुरक्षाको सुविधा पनि पाउनेछन् । यद्यपि, यसमा विभिन्न मापदण्ड पूरा गर्नुपर्नेछ । यसका अलावा बचतकर्ताले २ वर्षसम्म निरन्तर बचत गरेमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म सापटी लिन पनि पाउनेछन् । साथै, त्यस्ता बचतकर्ताले धितोमा आधारित आवास, शैक्षिक कर्जा जस्ता सुविधाहरू पनि पाउनेछन् । यसैगरी कोषले समय समयमा निर्धारण गरेको ब्याजको अलावा थप प्रतिफल पनि पाइन्छ । 

कोषले काठमाडौंको बानेश्वरमा आफ्नै भवन बनाउँदै छ । त्यो कहिलेसम्म सम्पन्न हुन्छ ?
नयाँ बानेश्वरस्थित आफ्नै जग्गामा कोषको भवन बनाउने काम भइरहेको छ । भवन निर्माणका लागि ठेक्का लगाउने काम भवन विभाग मार्फत भएको हो । २ वर्षमा भवन बनाएर दिने सम्झौता भएको थियो । तर, ठेकेदारले भने अबको १८ महीनामै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना बनाएको छ । ठेकेदार कम्पनीले भवन बनाएपछि भवन विभागलाई सुम्पिन्छ, त्यसपछि विभागले हामीलाई हस्तान्तरण गर्दछ ।

कोषले प्रतिस्पर्धी बजारमा आफ्ना लगानीलाई कसरी विविधीकरण गरेको छ ?
कोषले लगानी विविधीकरण गर्दै सम्भाव्य परियोजनामा लगानी गरेको छ । कोषले पूँजी बजारसम्बन्धी मर्चेन्ट बैंकरको रूपमा धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको कार्य, शेयर रजिस्ट्रारको कार्य र धितोपत्र प्रत्याभूतिको कार्य गर्दै आएको छ । साथै, विदेशस्थित नेपाली नागरिकबाट समेत विविध प्रकारका बचत कार्यक्रममार्फत बचत संकलन गर्न सक्नेगरी सेवा विस्तार गरिसकेको छ । कोषलाई सक्षम र विश्वासिलो संस्थाको रूपमा स्थापित गराउने, पूँजी बजारको विकास तथा विस्तारका लागि कोषको नीति तथा संरचनागत सुधार गर्ने, स्वीकृत अवकाश कोष, उपदान तथा पेन्सन कोष, बीमा कोष लगायत कार्यक्रमको दायरा विस्तार गर्नेतर्फ कोष कार्यरत रहेको छ । कोषको सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन कोषको वर्तमान संगठनात्मक संरचनालाई पुनःसंरचना गर्ने कार्य कोषले गरेको छ । 

यसैगरी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, पूँजीबजार सेवा, धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सेवा, शेयर रजिस्ट्रार, धितोपत्र प्रत्याभूति, परामर्श सेवा, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, सरकारी ऋणपत्र तथा धितोपत्रमा लगानी लगायत कारोबार गरिरहेको छ । कोषले प्रभावकारी सेवा प्रदान गर्ने, दिगो प्रतिफल प्रदान गर्ने, सामाजिक सुरक्षणको दायरा फराकिलो बनाउने, बचत संकलनमा प्रतिस्पर्धात्मक क्षमता क्रमशः विकास गराउने जस्ता कार्य गर्दै आएकोले सहभागीको संख्या बढ्ने क्रम जारी छ । 

आम कर्मचारीको संकलित रकमलाई कोषले विशेष बैंकको निक्षेप, ऋणपत्र जस्ता क्षेत्रमा गरेको लगानी सुरक्षित नै देखिन्छ । तर नेपाल वायुसेवा निगमको वाइड बडीमा गरेको लगानी भने विवादास्पद छ । वाइड बडीको लगानीबाट घाटा हुन सक्ने टिप्पणी पनि गरेका छन् । यसमा तपाईं के भन्नुहुन्छ ? 
यसलाई धेरैले राष्ट्रिय विषय बनाए । नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक हो । हामीले सरकारको ग्यारेन्टीमा लगानी गरेका हौं । त्यसैले, आत्तिहाल्नुपर्ने अवस्था छैन । हामीले त्यसको भाडाबाट घाटा वा नाफा भयो भन्दा पनि त्यसले पर्यटक कति भित्र्याउँछ र पर्यटन उद्योगलाई कस्तो फाइदा बनाएको छ, त्यो हेर्नुपर्छ । अहिले पो कोरोनाका कारणले प्रभावित भएको छ । निगमको व्यवस्थापन राम्रो भयो भने हाम्रो लगानी शतप्रतिशत सुरक्षित हुन्छ । त्यसमाथि एयरलाइन्सको व्यवसायले नाफा नै हुन्छ । हामीले यसमा ऋण लगानी गर्ने बेला विज्ञबाट विश्लेषण गरेर लगानी गरेका हौं । यसलाई कतिपयले राजनीतिक विषय पनि बनाउँछन् । यसमा कमिशन खाए, भ्रष्टाचार गरे भनेर हेर्ने हाम्रो पाटो होइन । यसमा लगानी गर्दा तिर्छ कि तिर्दैन भनेर विज्ञबाट विश्लेषण लिइएको थियो । विज्ञहरूले प्रपोजलअनुसार काम ग¥यो भने फाइदा हुन्छ भनिएको छ । तर, बीचमा व्यवस्थापन परिवर्तन भएका कारणले केही रूटहरूमा विमान उडाउन सकिएन, नत्र राम्रो गथ्र्यो । यद्यपि, निगमले पुससम्मको किस्ता तिरिसकेको अवस्था छ । यसअघि बीचमा केही समय तिरेको थिएन । समग्रमा मैले वायुसेवा निगममा गरेको लगानी शतप्रतिशत सुरक्षित भएको दाबी गर्छु ।

अबको भावी योजना केही छन् कि ?
नागरिक पेन्सन योजनालाई नागरिकले कत्तिको रुचाउँछन् भनेर अध्ययन गरेर ल्याएको योजना हो । त्यसलाई सार्वजनिक गरेपछिका नतीजा हेर्न बाँकी छ । त्यस कार्यक्रमको सफल कार्यान्वयन गर्ने योजना छ ।

सरकारले कृषक पेन्सन योजना ल्याउने भनेको छ । यो सत्तापक्ष पार्टीले आफ्नो घोषणापत्रमा ल्याएको योजना हो । यदि सरकारले यो योजना सञ्चालन गर्न हामीलाई दिन्छ भने हामी तयार छौं । समयअनुरूप कुन प्रडक्टलाई बजारमा ल्याउन आवश्यक छ भनेर पनि अनुसन्धान गर्छौं । पहिलो कुरा त, कोषको पुरानो भवनभन्दा अब नयाँ भवनमा काम गर्ने वातावरण बनाउनु छ । त्यसपछि कम्प्युटर सफ्टवेयर, कर्मचारी व्यवस्थापन लगायतमा काम गर्ने वातावरण भएपछि समयअनुकूल प्रडक्टमा समेत केन्द्रित हुन सक्छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्