arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उड्डयन प्राधिकरणको २१औं वर्ष : हवाई सुरक्षा सुदृढीकरण र पूर्वाधार विकासमा केन्द्रित

२०७६ पौष, १५  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण २१औं वर्षमा प्रवेश गरेको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले डिसेम्बर ७ मा वार्षिकोत्सव मनाउँछ भने त्यसको २४ दिनपछि डिसेम्बर ३१ तारिखका दिन प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।

प्राधिकरणले उड्डयन क्षेत्र सुरक्षित, विश्वसनीय र स्तरीय बनाउन नेपाल पूर्वाधार विकास र हवाई सुरक्षामा जोड दिँदै आएको छ । हरेक १५ देखि २० वर्षमा विश्वभर हवाई यात्रुको संख्या दोब्बर हुने गरेको पाइन्छ । फ्लाइट राडार २४ डटकमका अनुसार अहिले विश्वभर दैनिक १ लाख ७५ हजारदेखि २ लाख ओटासम्म उडान हुने गर्दछन् । आईकाओको प्रक्षेपण अनुसार अबको १५ वर्षमा हवाई यात्रुको आवागमन दोब्बर हुनेछ । यो अवस्थामा हरेक देशले आफ्नो देशको उड्डयन क्षेत्र थप सुरक्षित बनाउनुपर्ने आवश्यकता देखिएको छ । नेपाल पनि आईकाओको मापदण्ड अनुरूप आफूलाई सबल र सक्षम बनाउने कार्यमा निरन्तर लागिपरेको प्राधिकरणको भनाइ छ ।   

नेपालको अवस्था र योजना
२००६ सालदेखि हवाई सेवा शुरू भएको नेपालमा २०१४ सालमा नागरिक उड्डयन विभागको रूपमा हालको प्राधिकरण  स्थापना भएको हो । सहज यात्रा, सुरक्षा, गुणस्तरीय सेवा र नियमन तथा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको हवाई क्षेत्र र विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । नेपालमा उड्डयन क्षेत्रको विकासमा क्रमिक सुधार हुँदै गए पनि थप भौतिक पूर्वाधार विकासको आवश्यकता रहेको र सरकारले त्यसका लागि काम गरिरहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । बढ्दो एयर ट्राफिक व्यवस्थापन तथा नेपालको आर्थिक विकासका लागि पनि हवाई पूर्वाधारको विकासमा जोड दिनपुर्ने उनको धारणा छ । 

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ४० वर्षपछि स्तरोन्नति गरिएको छ । यससँगै यो विमानस्थलबाट चौबीसै घण्टा उडान गर्न सकिने भएको छ । यस्तै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अबको केही महीनामै उक्त विमानस्थलबाट उडान सेवा शुरू गर्न सकिनेछ । यस्तै सन् २०२१ भित्रै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यअनुरूप काम भइरहेको छ । ‘प्रस्तावित निजगढ विमानस्थलको निर्माणलाई अघि बढाउनेगरी काम भइरहेको छ,’ मन्त्री भट्टराईले भने, ‘यसले नेपालको हवाई पूर्वाधारमा नयाँ आयाम थप्नेछ ।’

हवाई पूर्वाधारका यी विकासले नेपालको उड्डयन क्षेत्र थप विकसित हुने अपेक्षा गर्न सकिन्छ । नेपालमा अहिले हवाई मार्गबाट आउने पर्यटकको संख्या बढिरहेका सन्दर्भमा हवाई सुरक्षामा विशेष ध्यान दिनु आवश्यक रहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलको धारणा छ । नेपालको भौगोलिक अवस्थाका कारण हवाई दुर्घटनाका सम्भावना रहेको भन्दै नेपाली आकाश थप सुरक्षित बनाउन उड्डयन क्षेत्रका पछिल्ला प्रविधि आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

उड्डयन क्षेत्रमा नयाँ प्रविधिको विकास र विस्तार अत्यन्त द्रुत गतिमा भइरहेकाले यसको सुधार र स्तरोन्नति सधैं आवश्यक हुने प्राधिकरणका महानिर्देशक पोखरेलले उल्लेख गरे । प्राधिकरणले आईकाओको मापदण्ड अनुरूप सबै खालका सुधारका काम अघि बढाएको उनको भनाइ छ । ‘हामीले आईकाओको मापदण्डलाई अनुसरण गरेका छौं । साथै आन्तरिक रूपमा हवाई सुरक्षा रणनीति २०१८/२२ लागू गरी सुधारको काम पनि अघि बढाइरहेका छौं,’ उनले भने ।

नेपालको उड्डयन क्षेत्रको सुधारमा आईकाओले औंल्याएका पक्षमा सुधार भएपछि आईकाओबाट नेपालले प्रमाणपत्र समेत प्राप्त गरेको छ । यो सन्दर्भमा युरोपेली संघले नेपाललाई कालोसूचीमा रािखरहनुको औचित्य नभएको यस क्षेत्रका विज्ञहरूको बुझाइ छ । यद्यपि यूरोपेली संघले नेपालाई पछिल्लो पटक पनि कालोसूचीबाट नहटाएको सन्दर्भमा सरकार यूरोपेली संघसँग निरन्तर संवादमा रहेको र सूचीबाट हटाउन लबिङ भइरहेको महानिर्देशक पाखेरेल बताउँछन् । 

प्राधिकरणका अनुसार अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सहित राष्ट्रिय र अन्तरराष्ट्रिय गरी दैनिक साढे ४०० देखि ५०० सम्म हवाई उडान तथा अवतरण (मुभमेन्ट) हुने गर्छन् । अहिले नेपालमा ३ दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनीका जहाज उडान अवतरण हुने गरेका छन् । नेपालको लुक्ला विमानस्थल संसारकै धेरै खतरनाक विमानस्थलको सूचीमा छ । जटिल भौगोलिक बनोट तथा प्रतिकूल मौसमको अवस्थालाई ध्यानमा राख्दै नेपालले थप उड्डयन सुरक्षा र आधुनिक प्रविधि अवलम्बनमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ । जटिल भू–बनोट भएका कारणले पनि नेपालमा सडक, रेल र जलमार्गभन्दा हवाई मार्गको भूमिका महत्त्वपूर्ण देखिएको छ । विश्वमा हवाई सेवा शुरू भएको १०० वर्ष नाघेको छ । तर नेपालमा हवाई सेवा सञ्चालन भएको भर्खर ६९ वर्ष पुगेको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वभरका पर्यटकमध्ये ५६ प्रतिशतभन्दा बढीले हवाई यात्रा गर्छन् । संस्थाको तथ्यांक अनुसार ३७ प्रतिशतले सडकबाट, ४ प्रतिशतले जलमार्गबाट र २ प्रतिशतले रेलबाट यात्रा गर्छन् । यसबाट पनि विश्वव्यापी रूपमा बढ्दै गएको हवाई यात्रा र यसको सुरक्षा तथा संवेदनशीलतालाई महत्त्व दिनुपर्ने अवस्था छ । नेपालमा २००६ सालमा बेलायतका एच वेडलर्नले पहिलोपटक चारसीटे विमान गौचरनमा सफलतापूर्वक अवतरण गरेपछि हवाई सेवाको यात्रा आरम्भ भएको हो । त्यसपछि गौचरनमा ड्याकोटाका तीन वायुयान अवतरित भएका थिए । २००७ सालमा भारतको पटनाबाट इन्डियन नेशनल एयरवेजले पहिलो वाणिज्य उडान चार्टर्ड गरेको थियो । त्यसयता शाही नेपाल वायुसेवा निगमको स्थापना र हवाई उडान ऐन २०१५ लागू गर्ने काम भएको हो । २०१४ सालमा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत हवाई विभाग गठन गर्ने र अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्यता लिने काम भए । २०४९ सालमा पर्यटन मन्त्रालय स्थापना भएपछि भने यसअन्तर्गत हवाई विभाग र पछि नेपाल नागरिक उड्डयन प्राधिकरण समेतलाई नियामक निकायका रूपमा विस्तार गरियो । अहिले सरकार युरोपेली संघको चासो र अन्तरराष्ट्रिय मान्यतालाई समेत दृष्टिगत गर्दै नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरणका रूपमा दुईओटा निकाय बनाउने तयारीमा छ, जसका लागि कानून मन्त्रिपरिषद्मा पुगिसकेको छ । चालू अधिवेशनबाटै यो कानून पारित हुने र नियामक निकाय र सेवा प्रदायक अलगअलग हुने देखिएको छ । यसबाट येरोपेली संघको चासो पनि सम्बोधन हुने र नेपाल उसको कालोसूचीबाट पनि हट्ने उड्डयन अधिकारीहरूको धारणा छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्