arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सन् २०१९ मा बीमा क्षेत्रलाई फर्केर हेर्दा

नीतिगत सुधारसँगै नयाँ अभ्यासको थालनी

२०७६ पौष, १५  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
NA
author avatar मिलन विश्वकर्मा

सात दशकभन्दा लामो इतिहास बोकेको नेपालको बीमाक्षेत्रका लागि सन् १०१९ उपलब्धिमूलक देखिन्छ । केही वर्ष अघिसम्म बीमा क्षेत्र सुस्त देखिए पनि विगत केही वर्ष यतादेखि यसले चुस्त गति लिन थालेको छ । 

विशेषगरी यस वर्ष बीमा क्षेत्रमा केही नीतिगत व्यवस्थासँगै नयाँ अभ्यासको थालनी भएको छ । बीमा समितिले बीमक लगानी निर्देशिका जारी गर्दै यसै वर्षदेखि कम्पनीलाई घरजग्गा, कृषि, पर्यटन र जलस्रोतजस्ता क्षेत्रमा लगानी गर्न बाटो खुला गरिदिएको छ । साथै, पब्लिक कम्पनीको ऋणपत्रमा पनि लगानी गर्न उक्त निर्देशिकाले बाटो खोलिदिएको छ । बीमा कम्पनीसँग झण्डै ३ खर्ब रुपैयाँबराबरको लगानीयोग्य पूँजी भए पनि लगानीसम्बन्धी उचित नीति नहुँदा रकम परिचालन हुन सकेको थिएन । तर, नयाँ निर्देशिका आएपछि उक्त रकम महŒवपूर्ण क्षेत्रमा परिचालन हुने अपेक्षा गरिएको छ ।

समितिले यसै वर्ष बीमा कम्पनीलाई मर्जरमा जान प्रोत्साहन गर्दै बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६ जारी गरेको छ । नेपालमा बीमा कम्पनीहरूको संख्या धेरै भएको भन्दै टिकाटिप्पणी भइरहेको बेला विभिन्न सुविधासहितको मर्जरसम्बन्धी निर्देशका ल्याउनुलाई सकरात्मक मानिएको छ । 

समितिले यसै वर्षदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालाई पनि पुल अर्थात् एकीकृत रूपमा सञ्चालनमा ल्याएको छ, जसले गर्दा वैदेशिक रोजगार बीमाका विकृति नियन्त्रण हुँदै गएका छन् । हाल नेशनल लाइफ, सूर्या लाइफ, युनियन लाइफ र रिलायबल नेपाल लाइफ इस्योरेन्स कम्पनीले उक्त पुल सञ्चालन गरेका छन्, तर त्यहाँबाट हुने व्यवसाय भने तोकिएको अनुपातमा सबै बीमा कम्पनीले पाउनेछन् ।
 
यसै वर्षदेखि समितिले जीवन बीमा कम्पनीहरूको बीमांकीय मूल्यांकनमा पनि कडाइ गरेको छ । पहिले आर्थिक वर्ष सकिएको १० महीनाभित्र अर्थात् वैशाखभित्र कम्पनीहरूले बीमांकीय मूल्यांकन गनुपर्ने व्यवस्था थियो । तर, अहिले नयाँ निर्देशिका जारी भएपछि मंसिरभित्र नै बीमांकीय मूल्यांकन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, समितिले यो वर्षदेखि बैंकासुरेन्स व्यवसायलाई पनि व्यवस्थित गरेको छ । नेपालमा बैंकासुरेन्ससम्बन्धी नीतिगत व्यवस्था नहुँदा बैंकले मनपरी रूपमा ग्राहकको बीमा गर्र्दै आएका थिए । त्यस्ता विषयमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै बैंकासुरेन्समार्फत दिइने सेवासुविधामा सीमा तोकेको छ ।

समितिले यसै वर्षदेखि बीमा कम्पनीहरूलाई शाखारहित बीमा सेवा सञ्चालन गर्न पनि बाटो खुला गरिदिएको छ । समितिले हालै ‘शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन, २०७६’ जारी गर्दै उक्त व्यवस्था गरेको थियो । नयाँ व्यवस्थाअनुसार अब बीमा कम्पनीले नजिकको शाखा कार्यलयसँगको समन्वयमा बीमितको घरमा नै पुगेर बीमालेख विक्री गर्न सक्ने नयाँ अभ्यासको थालनी गरेको छ ।

निर्जीवन बीमा कम्पनीले शहीद परिवारका सदस्यको ५० प्रतिशतसम्म छूटमा १० लाखसम्मको दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था पनि यस वर्षदेशि शुरू गरिएको छ । यसका अलावा समितिले विभिन्न परिपत्र जारी गर्दै अभिकर्ताको विदेश भ्रमण, उपहार वितरण लगायतमा अंकुश लगाएको छ । यसैगरी समितिले बीमांकीको रोस्टर बनाउने काम पनि यो वर्ष गरेको छ ।  त्यस्तै, कृषि बीमाअन्तर्गत यो कफी, चिया, सुन्तला, जुनार, कागती लगायतका कृषि बालीको बीमा गर्न नयाँ सकिने व्यवस्था ल्याइएको छ । बीमा क्षेत्रमा निजीक्षेत्रतर्फ यसै वर्षदेखि महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यावसायिक कारोबार शुरू गरेको छ । साथै, समग्र बीमा बजारको व्यवसाय पनि यो वर्ष उलेख्य रूपमा बढेको छ, जसको फलस्वरूप २०१८ को अन्त्यमा १४ प्रतिशत नेपालीमा पुगेको जीवन बीमाको पहुँच २०१९ को अन्त्यसम्म आउँदा २२ प्रतिशत नेपालीमा पुगेको छ । यस्तै, विभिन्न बीमा कम्पनीले जीवनसाथी बीमा, फिल्म प्रोजेक्ट बीमा, धन वृष्टि बीमा लगायतका बीमा योजना बजारमा ल्याएका छन् । सरकारले पनि यस वर्ष बीमासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरेको छ । कणाली प्रदेशले आफ्ना प्रदेशका पौने १८ लाख जनताको दुर्घटना बीमा र १० हजार घरको बीमा गरिदिएको छ । बीमा विज्ञहरूले यो काम निकै महत्त्वपूर्ण भएको बताएका छन् । 

यी विभिन्न उपलब्धिबीच पनि यो वर्ष केही काम भने पूरा हुन सकेनन् । २०७५ असार २८ गते संसद्मा दर्ता भएको बीमा विधेयक २०७५ अझै लागू हुन सकेको छैन । साथै, समितिले बीमा कम्पनीका कर्मचारीको सेवा तथा सुविधासम्बन्धी ल्याउने भनेको एकीकृत मार्गदर्शन अझै ल्याउन सकेको छैन । नयाँ मृत्युदर तालिका बनाउने विषय पनि अझै समितिमा नै अल्झिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्