arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अंग्रेजी नयाँ वर्षको इतिहास

२०७६ पौष, १५  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar काशीराम बजगाईं

नेपालमा विक्रम संवत्का आधारमा वैशाख १ गते नयाँ वर्ष मनाउने गरिए पनि पछिल्लो समय ईस्वी संवत्मा आधारित नयाँ वर्ष पनि व्यापक रूपमा मनाउन थालिएको छ । विश्वका थुप्रै देशमा स्थान र सम्प्रदाय अनुसार फरकफरक समयमा नयाँ वर्ष मनाइन्छ । नेपालमै पनि थारू जातिले माघ १ गते, गुरुङ जातिले तमु ल्होसार दिन, नेवार समुदायले नेपाल संवत्को दिन आदि फरक फरक दिनलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । यसबाहेक नेपालमा किरात संवत्, बुद्ध संवत्, हिजरी संवत्, अंशुवर्मा संवत् आदिलाई नेपालमा नयाँ वर्षका रूपमा मनाइन्छ । 

ईस्वी संवत् ग्रेगोरियन पात्रोमा आधारित छ । यही संवत्को जनवरी १ तारिखलाई नयाँ वर्षको रूपमा मनाइन्छ । शुरूमा मार्च १८ मा मनाइने यो संवत् समयक्रममा १ मार्च, २५ मार्च, १ सेप्टेम्बर र २५ सेप्टेम्बर हुँदै १ जनवरीमा मनाउन थालिएको हो । ईश्वी संवत् विक्रम संवत्भन्दा ५७ वर्ष ८ महीना १५ दिन पछाडि छ । 

इसाई धर्मका प्रवर्तक जिजस क्राइस्ट झुन्ड्याएर मारिएपछि उनैको सम्झनामा उनका अनुयायी प्रोप ग्रेगोरीले यो संवत् प्रचलनमा ल्याएका हुन् । जुलियस सिजरले प्रचलनमा ल्याएको जुलियस पात्रोलाई प्रतिस्थापित गर्दै ग्रेगोरियन पात्रो प्रचलनमा ल्याइएको थियो । जुलियस पात्रोमा भएको कमजोरीलाई सच्च्याउँदै ग्रेगोरियन पात्रो प्रचलनमा ल्याइएकाले कतिपयले यसलाई जुलियस पात्रोकै संस्करणको रूपमा पनि व्याख्या गर्ने गरेका छन् । सर्वप्रथम ग्रेगोरियनले १६औं शताब्दीमा ग्रेगोरियन पात्रो प्रयोगमा ल्याए । जुलियस सिजरले प्रत्येक ४ वर्षमा ३६६ दिनको १ वर्ष हुने र तीबाहेक अन्य ३ वर्ष ३६५ दिनको हुने व्याख्या जुलियस पात्रोमा गरेका थिए । ग्रेगोरियनले यसलाई संस्करण गर्दै ३ वर्ष फेब्रुअरी महीना २८ दिनको र चौथो वर्षमा २९ दिनको हुनेगरी ग्रेगोरियन पात्रो बनाएका थिए ।

यद्यपि नयाँ वर्षको अवधारणा भने जुलियस पात्रोको प्रचलनभन्दा धेरै अघिदेखि विकास भइसकेको थियो । मेसोपोटामिया (इराक)ले २००० इसापूर्व (ईपू)मा प्रारम्भिक रोमन पात्रोको शुरुआती दिन १ मार्च राखेको थियो । १५३ ईपूमा १ जनवरीलाई नै नयाँ वर्षको रूपमा मनाउन थालियो । धेरैले यसको विरोध गर्दै त्यसको लामो समयसम्म १ मार्चलाई नै नयाँ वर्षका रूपमा मनाइरहे । पछि क्राइस्टको जन्मदिवसको अवसरमा २५ डिसेम्बरलाई नयाँ वर्षका रूपमा मनाउन थालिएको थियो ।

हाल यो संवत्  विश्वका अधिकांश देशमा मनाउन थालिएको छ । भोलिदेखि शुरू हुने वर्ष २०२० नेपालका लागि महŒवपूर्ण हुने देखिन्छ । नेपालमा यस वर्षलाई ‘पर्यटन वर्ष’का रूपमा उत्साहका साथ मनाउन लागिएकोमा अंग्रेजी नयाँ वर्ष २०२० अझ विशेष बनेको  छ । यसअघिका नयाँ वर्षमा पनि पर्यटकको आगमनले विभिन्न शहर गुल्जार बन्ने गरेकोमा यो वर्ष अझ विशेष हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्