ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संकटबाट अर्थतन्त्र कसरी जोगाउने ? 

चीनमा परेको असरबाट नेपाल पनि प्रभावित हुन्छ 

२०७६ चैत, ७  
लेख | दृष्टिकोण
NA
author avatar उमेशचन्द्र ठाकुर

चीनबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । यो आलेख तयार पार्दासम्म २ लाख २० हजार जना संक्रमित भएकोमा ८५ हजार ७७० जना उपचारपछि निको भइसकेको र करीब ९ हजार जनाले ज्यान गुमाएका समाचार सञ्चारमाध्यममा आएका छन् । चीनसँग सिमाना जोडिनुका कारण विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणका दृष्टिले अति जोखिमको सूचीमा राखे पनि हामीकहाँ अहिलेसम्म एक जनामा मात्र संक्रमण पुष्टि भएको र ती बिरामी पनि उपचारपछि घर फर्किएको अवस्था छ । सरकारका पछिल्ला निर्णय र आग्रह हेर्दा यसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाएको देखिन्छ । सरकारले कोरोना संक्रमण फैलिएका ५० भन्दा बढी देशका नागरिकलाई आगमनमा रोकदेखि २५ जनाभन्दा बढीको संख्यामा भेला हुन नपाइने, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह, एसईई परीक्षा स्थगन गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि यो सकारात्मक काम हो । कोरोनाको संक्रमणबाट हुने प्रत्यक्ष क्षतिबाट नेपाल अहिलेसम्म सुरक्षित रहेको छ । सतर्कता र संक्रमण भइहालेमा त्यसको नियन्त्रणको पूर्वतयारीका बारेमा भने पर्याप्त आशंका नभएका होइनन् । 

अहिलेको समय भनेको सम्भावित संक्रमणविरुद्ध सतर्कता र पूर्वतयारीको हो । साथै अर्थतन्त्रमा पर्न सक्ने जोखिम समाधानलाई पनि प्राथमिकताको सूचीमा राखिनुपर्छ ।

कोरोना भाइरस संक्रमणबारे सतर्कता र संक्रमण भएमा त्यसबाट कसरी मानवीय क्षति नियन्त्रणमा राख्ने भन्ने प्राथमिक दायित्व हो । विश्वव्यापी संकटको सामना सरकारको एकल प्रयासबाट मात्रै पर्याप्त हुँदैन । नेपालजस्तो सीमित स्रोतसाधन र न्यून प्रविधिमा चलेको देशका निम्ति यो झनै चुनौती हुन सक्छ । यस अर्थमा यो संकटको सम्भावित जोखिमको प्रतिकार गर्न सरकारसँगै आम जनस्तरबाट पनि सहकार्यको खाँचो छ । अहिलेसम्म संक्रमण नफैलिनु हाम्रा लागि सुखद विषय मान्नुपर्छ । विश्वभर महामारीका रूपमा फैलिएको भाइरसबाट प्रत्यक्ष रूपमा मानवीय क्षति बढी देखिए पनि यसका आर्थिक आयाम पनि छन् । मानवीय गतिविधि नै अस्तव्यस्त हुने गरी फैलिएको कोरोनाका कारण विश्व अर्थतन्त्र खुम्चिने अनुमान सार्वजनिक भइसकेका छन् । यस्तो अवस्थामा कोरोनाको उद्गम चीन र अहिले संक्रमण फैलिँदै गरेको भारतजस्ता अर्थतन्त्रको बीचमा रहेको नेपालको अर्थतन्त्रमा यसको प्रभाव नपर्ने कुरै छैन । त्यतिमात्र होइन, अर्थतन्त्रमा वैदेशिक रोजगारीको आयको योगदान मुख्य रहेको अवस्थामा मुख्य श्रम गन्तव्यमै कोरोना फैलिएकाले नेपालको अर्थतन्त्र समस्यामा पर्ने देखिन्छ । 

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो । बितेको वर्ष चीनसँग २ खर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । २ तिहाइ व्यापार र ९० प्रतिशत पारवहनमा हामी भारतको भरमा छौं । भारत हाम्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो । चीन र भारतमा फैलिएको संक्रमणबाट नेपालको अर्थतन्त्र सबैभन्दा बढी प्रभावित हुन्छ । चीनमा संक्रमण नियन्त्रणको क्रममा देखिए पनि आर्थिक गतिविधिहरू स्वाभाविक तरीकाले सुचारु भइसकेका छैनन् । 

कोरोना संक्रमण शुरू भएको साढे २ महीना भए पनि यसको प्रभाव अहिले आंशिकमात्र देखिएको छ । चीनमा प्रत्येक वर्ष जनवरीमा पर्ने बिदाका बेला संक्रमण पैmलिएकाले आर्थिक गतिविधिमा खासै प्रभाव नदेखिए पनि त्यसयता डेढ महीनाको उत्पादन र व्यापारमा आएको रोकावटको असर नेपालको अर्थतन्त्रमा पनि पर्ने निश्चित छ । अहिले भन्सार नाकामा चिनियाँ वस्तुको आयात र यसबाट उठ्ने राजस्वमा खासै प्रभाव नदेखिए पनि अब विस्तारै यसको असर देखिनेछ । अहिलेसम्म एक÷डेढ महीनाअघिको प्रतीतपत्रमा मगाइएको मालसामान आइरहेको भए पनि यो अन्तरको असर कुनै न कुनै बेला भन्सारमै पनि देखिनेछ । यो महीनाको अन्त्यसम्ममा असर प्रकट हुन सक्छ । 

अहिले नै क्वारेन्टाइनमा गरिएको कडाइले कृषिजन्य उत्पादनमा आधारित औद्योगिक प्रतिष्ठानमा कच्चा पदार्थको अभाव भएका समाचार आएका छन् । चीनलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थको आपूर्तिमा असर देखिन थालेको छ । पछिल्लो समय चीनबाट वस्तु आयात लगभग रोकिएको छ । यसको असर देखिन अझै केही समय लागे पनि उपभोगमा कमी आउने र मूल्य वृद्धि यसका असर हुनेछन् । चिनियाँ ठेकेदार संलग्न रहेका नेपालका ठूला विकास आयोजना गएको अहिले ठप्प छन् । कयौं जलविद्युत् आयोजना प्रभावित छन् । विमानस्थल, सडक, पुल, सिँचाइ, खानेपानी, दूरसञ्चार, सरकारी र निजीक्षेत्रका जलविद्युत् आयोजनामा चिनियाँ निर्माण कम्पनी सहभागी छन् ।

कोरोना संक्रमण कहिले र कसरी नियन्त्रणमा आउँछ भन्ने अनिश्चित भएकाले यो असहजता बढ्दै जाने सम्भावना नै बलियो देखिन्छ । भारतमा अहिलेसम्म उत्पादनमा यसको गम्भीर प्रभाव देखिएका छैन । त्यहाँको उत्पादनमा असर पुग्नेबित्तिकै नेपालको उद्यम व्यापारमा त्यसको मार पर्ने निश्चित छ । कोरोनाको संक्रमणबाट हुन सक्ने अभावलाई लक्षित गर्दै भारतले केही दिनअघि औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएपछि देखिएको असहजता नै यसको अनुमानका निम्ति पर्याप्त हुन्छ । 

संक्रमणले विश्व अर्थतन्त्रलाई धक्का दिन थालेको समाचारहरू आएका छन् । विश्व बैंकले कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । चीनले विश्वको अर्थतन्त्रमा आफ्नो अंश विस्तार गर्दै लगेको छ । आजका दिनमा चीन विश्वका ६० देशको व्यापार साझेदार हो । वैदेशिक लगानी भित्र्याउने र बाह्य लगानी गर्ने मुलुकका रूपमा पनि चीनले आप्mनो पहिचान बनाएको छ । नेपालमा लगानी गर्छु भन्ने प्रतिबद्धता पनि चीन अग्रस्थानमा छ । चीनले लगानीको आकार र परियोजना संख्यामा भारतलाई उछिनेको छ । कोरोना प्रभावले यसमा असर नपार्ने भन्ने हुँदैन । 

१५ वर्षअघिसम्म विश्वको अर्थतन्त्रमा चीनको अंश ४ प्रतिशत भएकोमा अहिले यो १५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । चीन आजको दिनमा विद्युतीय सामग्री र प्राविधिक वस्तुको सबभन्दा ठूलो आपूर्तिकर्ता मानिएको छ । चिनियाँ उपभोक्ताले विश्व उत्पादनको ठूलो अंश खपत गर्छन् । यो अन्य देशका लागि ठूलो बजार पनि हो । अहिले विश्वका अधिकांश देशको मानवीय र आर्थिक गतिविधि नै तहसनहस बनाउने गरी फैलिएको संक्रमणको असर अझ बढी हुनेमा आशंका छैन । 

नेपाल सरकारले यसबाट अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा अध्ययन थालेको छ । सरकारले कोरोना भाइरसका कारण आपूर्तिमा पार्ने प्रभाव र त्यसले समग्र उपभोगमा कति प्रभाव पार्छ भनेर अध्ययनको थालनी गरे पनि यसका दीर्घकालीन असर र समाधानमा खासै चासो नराखेको देखिएको छ । संक्रमणबारे सतर्कता, भित्रिएमा त्यसको नियन्त्रणको पूर्वतयारीसँगै विश्व अर्थतन्त्रमा परेको असरबाट नेपालको अर्थ व्यवस्थामा पर्ने प्रभाव न्यूनीकरणका लागि पनि प्रभावकारी पहल कदमीको खाँचो छ । सरकारले यो काम अपेक्षित प्रभावकारी बनाउन सकेको छैन । 

अहिले भन्सार नाकामा चिनियाँ वस्तुको आयात र यसबाट उठ्ने राजस्वमा खासै प्रभाव नदेखिए पनि अब विस्तारै यसको असर देखिनेछ । अहिलेसम्म एक/डेढ महीनाअघिको प्रतीतपत्रमा मगाइएको मालसामान आइरहेको भए पनि यो अन्तरको असर कुनै न कुनै बेला भन्सारमै पनि देखिनेछ । यो महीनाको अन्त्यसम्ममा असर प्रकट हुन सक्छ । 

अन्तरराष्ट्रिय मुद्राकोषले कोरोनका कारण विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने बताएको छ । भाइरस नफैलिएका देशमा पनि आर्थिक वृद्धि प्रभावित हुने, रोजगारी गुम्ने तथा ठूला कम्पनीको नाफामा कमी आउने प्रक्षेपण अन्य अन्तरराष्ट्रिय निकायले गरेका छन् । यो प्रकोपले विकासशील एशियाली अर्थतन्त्रलाई प्रभावित पार्ने देखिएको छ । कोरोनाको सबैभन्दा ठूलो र प्रत्यक्ष आपत् त नेपालको पर्यटनले भोगेको छ । कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगितसरह भएको छ । यस वर्ष चिनियाँ पर्यटकको संख्या ५ लाख पुग्छ भन्ने अपेक्षा थियो । नेपालमा धेरै पर्यटक आउने स्रोत मुलुकमात्र नभएर तेस्रो मुलुकबाट आउने ट्रान्जिटका रूपमा पनि रहेको चीनमा कोरोना पैmलिँदा त्यसको नकारात्मक असर छ । सरकारले कोरोना पैmलिएका ५० भन्दा बढी देशका नागरिकलाई आगमनमा रोक लगाएको छ । यसबाट प्रत्यक्ष प्रभाव पर्ने पर्यटन हो । समग्र अर्थतन्त्रमा परेको असर आर्थिक वृद्धिदरमा पर्ने निश्चित छ । 

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पनि यसको संकेत गरेको छ । बैंकले कोरोनाबाट प्रभावित हुनसक्ने व्यवसायीलाई ऋणमा सहुलियत दिने बताएको छ । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता बहुपक्षीय संगठनले पनि कोरोनाका कारण अर्थतन्त्रमा परेको क्षति न्यूनीकरणका लागि रकम घोषणा गरेको अवस्थामा सरकारले यसको व्यवस्थापन गर्नुपर्छ । व्यवसायीहरूले पनि यो माग उठाउन थालेका छन् । अर्थतन्त्रलाई बिग्रन नदिनु राज्य र निजीक्षेत्र दुवैको दायित्व हो । यसमा परेको अप्ठ्योरा फुकाउनु राज्यको दायित्व हो । मुलुकमा कोरोनाको संक्रमण त फैलिएको छैन, तर एक प्रकारको त्रास फैलिएको छ । यो मौकामा बजारमा सीमित व्यापारीले अत्यावश्यकीय वस्तुको आपूर्तिमा अराजकता मच्चाएका छन् । यो व्यापारको नैतिकता होइन । यस्तो प्रवृत्तिले आम व्यवसायीको शिर झुक्ने अवस्था बन्नु हुँदैन । आपत्विपद्का बेला कम्तीमा मानवतालाई ख्याल राख्नुपर्छ । यसो हुन सकेमा निजीक्षेत्रको साख पनि उँचो हुन्छ । अहिलेको समय भनेको सम्भावित संक्रमणविरुद्ध सतर्कता र पूर्वतयारीको हो । साथै अर्थतन्त्रमा पर्न सक्ने जोखिम समाधानलाई पनि प्राथमिकताको सूचीमा राखिनुपर्छ । 

ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्