ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

९०० अंकले घट्यो डाउ जोन्स, विश्व शेयर बजार मिश्रीत

२०७६ चैत, ८  
अन्तरराष्ट्रिय
Image Not Found

चैत ८, न्यूयोर्क (अमेरिका) । यो हप्ताको शुरुदेखि अन्त्यसम्मै विश्व शेयर बजारमा कोरोना भाइरसको त्रास कायम रह्यो । अमेरिकालगायत विश्वका ठूला अर्थतन्त्रले आर्थिक गतिविधिलाई टेवा दिन अर्बौ डलरको स्टिमुलसको घोषणा गरेपनि लगानीकर्ता र शेयर बजारमा भाइरसको त्रास यथावत् रह्यो ।

भाइरसको संक्रमण रोक्न धेरैजसो देशले अत्यावश्यक बाहेक सबै खालका सेवा र आर्थिक गतिविधिमा रोक लगाएसँगै शेयर बजार तीव्र गतिमा ओर्लियो भने तेलको मूल्यमा पनि उच्च कमी आयो । शुक्रवार बजार बन्द हुँदा यूरोप हरियालीमा थियो, एसियाली शेयर बजार मिश्रीत रह्यो भने अमेरिकी बजार ओरालो लाग्यो । 

उक्त दिनको कारोबार बेञ्चमार्क अमेरिकी परिसूचक डाउ जोन्स ४ दशमलव ५५ प्रतिशत अर्थात् ९१३ दशमलव २१ अंकले घटी १९ हजार १७३ दशमलव ९८ अंकमा आयो । 
योसँगै यस हप्ताको कारोबारमा डाउ जोन्स १७ दशमलव ३ प्रतिशत घट्यो । शुक्रवारको कारोबारमा नास्डाक र एसएण्डपी ५०० पनि क्रमश : ३ दशमलव ७९ प्रतिशत र ४ दशमलव ३४ प्रतिशतले घट्यो ।
 

बजारमा देखिएको पछिल्लो सेल–अफले अघिल्लो दिनमा भएको वृद्धिसमेत गुमेको छ । पछिल्ला पाँचमध्ये चार हप्तामा शेयर परिसूचक रातोमा आएका छन् । यूरोपमा भने शुक्रवार बजार बन्द हुँदा सबै प्रमुख बजार हरियोमा आएका थिए ।

बेलायतमा फुट्सी शून्य दशमलव ७६ प्रतिशतले बढेर ५ हजार १९० दशमलव ७८ अंकमा उक्लियो । फ्रान्समा क्याक ४० र जर्मनीमा डीएएक्स क्रमशः ५ दशमलव शून्य १ प्रतिशत र ३ दशमलव ७ प्रतिशतले बढेर ४ हजार ४८ दशमलव ८ अंक र ८ हजार ९२८ दशमलव ९५ अंकमा पुग्यो । एशियामा बजार मिश्रीत रह्यो । 

जापानमा सार्वजनिक बिदाका कारण शुक्रवार शेयर बजार बन्द भएपनि सिंगापुरमा बजार रातोमा आयो । दक्षिण कोरियामा कोस्पी परिसूचक ७ दशमलव ४४ प्रतिशतले बढेर  १ हजार ५६६ दशमलव १५ अंकमा पुग्यो । 

हङकङमा हाङशेङ ५ दशमलव शून्य ५ प्रतिशतले बढेर २२ हजार ८०५ दशमलव शून्य ७ अंकमा आएर बन्द हुँदा चीनमा शाङहाई कम्पोजिट इन्डेक्स १ दशमलव ६१ प्रतिशतको वृद्धिसहित २ हजार ७४५ दशमलव ६२ अंक कायम भयो । 

ताइवानमा बेञ्चमार्क ताइवान वेटेड ६ दशमलव ३७ प्रतिशतले बढ्दा थाइल्याण्डमा सेट कम्पोजिट ७ दशमलव ९५ प्रतिशले बढेर १ हजार १२७ दशमलव २४ अंकमा आयो । अष्ट्रेलियामा पनि एएसएक्स २०० शून्य दशमलव ७ अंकले बढी ४ हजार ८१६ दशमलव ६ अंकमा आयो । भारतमा पनि बजार हरियोमा आएर बन्द भयो । 

कोरोना भाइरसले अमेरिका र विश्वका अन्य ठूला अर्थतन्त्र गहिरो मन्दीमा जाने चिन्ता लगानीकर्तामा बढेको छ । महामारी फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन् । 

भाइरसले उत्पन्न भएको आर्थिक क्षति कम गर्न हालैका दिन केन्द्रीय बैंकहरुले आपतकालीन उपायहरु चालेको भएपनि यो पर्याप्त नभएको बताउने धेरै छन् । तर घरपरिवार र उद्योगलाई टेवा दिन सरकारले थप अर्बौ डलर प्रवाह गर्ने अपेक्षा लगानीकर्तामा बढ्दा यी उपायहरु प्रभावहीन बनेका छन् ।

 ‘कोरोना भाइरसले अर्थतन्त्रलाई शिथिल बनाउँदैछ,’ एली इन्भेस्टमा प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले भनिन् । माग घटिरहेकै बेलामा तेलको उत्पादन बढाइएपछि कच्चा तेलको भाउ घटेको छ । यो अर्थतन्त्रका लागि दोहोरो झट्का भएको उनको भनाइ छ । 

विश्वभर एक पछि अर्को गर्दै अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने क्रम बढेको छ । यी उपायहरूले पनि तेलको माग थप घटाउने चिन्तामा तेलको अमेरिकी बेञ्चमार्क यूएस क्रुडको भाउ २१ प्रतिशतले घटी शुक्रवार सन्  २००२ को फेब्रुअरीयता पहिलो पटक प्रति ब्यारेल २० डलर भन्दा तल आयो । 

बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोना भाइरसको नयाँ संक्रमण रोकिनु पर्ने लगानीकर्ताहरू बताउँछन् । म्यानुफ्याक्चरिङ क्षेत्र, यात्रालगायत क्षेत्रमा ऊर्जाको माग घटेपछि हालैका हप्तामा तेलको भाउ तीव्र घटेको छ । 

यो महीनाको शुरुमा प्रतिब्यारेल ४५ डलर रहेको तेलको भाउ अहिले २० डलर आसपास आएको छ । साउदी अरब र रुसबीचको मूल्य युद्धले पनि तेलको भाउ घटाएको छ । 

पछिल्लो समय विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ११ हजार ८००माथि पुगिसकेको छ । विश्वव्यापी रूपमा संक्रमितको संख्या पनि २ लाख ८४ बढी मानिस छ । रासस/ एपी 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्