ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कम्पनी–सम्पत्तिको मालिक शेयरधनी होइन 

२०७६ चैत, ९  
लेख | दृष्टिकोण
NA
author avatar डा. अवतार न्यौपाने

कम्पनी कानूनअन्तर्गत दर्ता भएका कम्पनीको स्वतन्त्र अस्तित्व हुनाले कम्पनीले आफ्नो नाममा सम्पत्ति किनबेच तथा उपभोग गर्न पाँउछ । कम्पनीका संस्थापक वा शेयरधनीले आफूले चुक्ता गरेको वा चुक्ता गर्न कबुल गरेको रकमसम्म मात्र उनीहरूको दायित्व रहन्छ । कम्पनी दर्ता भइसकेपछि कम्पनीे र यसका शेयरधनीबीच फरकफरक हकअधिकारको सृजना हुन पुग्छ । कम्पनीले छूटै कानूनी व्यक्तित्वको मान्यता प्राप्त गरी कम्पनीले व्यक्तिसरह चलअचल सम्पत्ति किनबेच तथा भोग गर्न, कम्पनीले आफ्नो नामबाट नालिस गर्न र कुनै व्यक्तिले कम्पनीउपर नालिस दिन, कम्पनीले आफ्नो नामबाट करार गरी हकअधिकारको प्रचलन गराउन सक्छ । त्यसैले, कम्पनी एउटा स्वतन्त्र अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था मानिन्छ । 

कम्पनीले आफ्नै नाममा सम्पत्ति किनबेच तथा उपभोग गर्न सक्छ र कुनै एक शेयरधनीको मृत्युबाट कम्पनीको सम्पत्तिको हकअधिकारमा कुनै विवादसमेत हुँदैन । 

कम्पनी दर्ता भइसकेपश्चात् कम्पनीले कानूनको अधीनमा रही प्राकृतिक व्यक्तिसरह सम्पत्तिसम्बन्धी हकको प्रचलन गर्न सक्छन् । कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएका उद्देश्य प्राप्त गरी कम्पनीको कारोबार वा व्यवसाय सञ्चालन गर्न पूँजीको आवश्यकता पर्छ । कम्पनी संस्थापना गर्दाका अवस्थामा कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरिने प्रबन्धपत्रमा नै कम्पनीको शेयर पूँजी कति हुने हो सो कुरा अनिवार्य उल्लेख गरिएको हुन्छ । कम्पनीको प्रबन्धपत्रमा नै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र संस्थापकले चुक्ता गर्र्नु कबुल गरेको पूँजी उल्लेख गर्र्नुपर्छ । सर्वप्रथम संस्थापकले कम्पनीमा रकम जम्मा गर्छन् अर्थात् संस्थापकले शेयरबापत बुझाएको रकमबाट कम्पनीले कारोबार सञ्चालन गर्छ । कम्पनीले शेयरको बाहेक कम्पनीले ऋण वा डिबेन्चरद्वारा पनि पूँजी संकलन गर्न सक्छ । कम्पनीको नाममा रहेको सम्पत्ति शेयरधनी हुँदैन । जस्तो एकल शेयरधनी भएको कम्पनीमा कम्पनीको नाममा किनेको सम्पत्ति र एकल शेयरधनीको होइन । कम्पनीको नाममा रहेको सम्पत्तिको प्रयोग तथा उपभोग कम्पनी स्वयम्ले गर्छ, न कि त्यसका शेयरधनीले । तसर्थ कम्पनीको सम्पत्तिमा शेयरधनीको नियन्त्रण कायम राख्न सक्दैन त्यस्तो सम्पत्तिको उपभोग गर्न कम्पनी स्वतन्त्र हुन्छ ।

प्राइभेट फर्म तथा साझेदारी फर्मले सम्पत्ति किन्दाको अवस्थामा प्राइभेट फर्मका धनी वा साझेदारहरूका नाम उल्लेख गर्नुपर्छ । कम्पनी जस्तै प्राइभेट फर्म तथा साझेदार फर्मले आफ्नो नामबाट सम्पत्तिसम्बन्धी अधिकारको प्रयोग गर्न सक्दैन । प्राइभेट फर्मका धनीको मृत्यु भएमा वा साझेदार फर्मका साझेदारमध्ये कुनै एक साझेदारको मृत्यु भएमा त्यस्तो प्राइभेट फर्म र साझेदारी फर्मको स्वतः विघटन हुन्छ र त्यस्ता फर्मका सम्पत्ति तथा दायित्वसमेत फर्मका धनीका हकवाला वा साझेदारका हकवालाले नै बेर्होनुपर्छ । कतिपय अवस्थामा साझेदारी फर्मको आयबाट किनेको सम्पत्तिमा साझेदारी फर्म विघटनपश्चात् साझेदार तथा साझेदारका हकवालाबीच विवादसमेत सृृजना हुन सक्छ । तर, कम्पनीले आप्mनै नाममा सम्पत्ति किनबेच तथा उपभोग गर्न सक्छ र कुनै एक शेयरधनीको मृत्युबाट कम्पनीको सम्पत्तिको हकअधिकारमा कुनै विवादसमेत हुँदैन । कम्पनीको विघटन गर्दा लिक्वीडेटरले कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व यकिन गर्ने हुँदा यस सम्बन्धमा कम विवाद उत्पन्न हुने गर्छ । 

कम्पनीले विभिन्न वर्गमा निष्कासन गरेको शेयरहरूको हकअधिकारका सम्बन्धमा नियमावली उल्लेख गरी जारी गनुपर्छ । कम्पनीको शेयर पूँजीलाई अग्राधिकार शेयर र साधारण शेयरमा वर्गीकरण गरिन्छ । कम्पनीको साधारण शेयरभन्दा अगाडि लाभांश पाउने गरी बाँडफाँट गरिएको शेयरलाई अग्राधिकार शेयर भन्ने गरिन्छ । अग्राधिकार शेयर जारी गर्दाका अवस्थाका कम्पनीले शेयरधनीको अधिकारका बारेमा स्पष्ट शर्तहरू तोकी सोही शर्तबमोजिम अग्राधिकार शेयर बाँडफाँट गर्नुपर्छ । साधारण शेयरधनीभन्दा अगाडि लाभांश पाउने र कम्पनी खारेज हुँदाका अवस्थामा साधारण शेयरधनीभन्दा अगाडि भुक्तानी पाउनेजस्ता विशेष अधिकार निर्धारण गरी अग्राधिकार शेयर जारी गर्ने गरिन्छ । साधारण शेयरका स्वामित्वकर्ताले कम्पनी सञ्चालनमा भूमिका खेलेका हुन्छन् । कम्पनी नाफामा गएको अवस्थामा लाभांशमा समेत प्राप्त गर्छन् । साधारण शेयरमा लाभांशको दर निर्धारण गरिँदैन । कम्पनीले धेरै नाफा आर्जन गरेमा धेरै प्रतिशतका दरले लाभांश पाउँछ । यस्तो लाभांश नगद वा बोनस शेयरद्वारा प्राप्त गर्छन् ।

कम्पनीको सम्पत्ति आफूखुशी गर्न वा अंशबन्डाको विषय बनाउन नमिल्ने भनी सर्वोच्च अदालतबाट व्याख्या भएको छ । यो फैसलाबाट कम्पनीको सम्पत्तिको भोग कम्पनी स्वयंले गर्न पाउँछ, कम्पनीका शेयरधनीले आफूखुशी गर्न पाउँदैनन् भन्ने पुष्टि हुन्छ । 

सर्वोच्च अदालतले अञ्जुदेवी गुरुङसमेत विरुद्ध चन्द्रबहादुर गुरुङसमेत भएको अंश चलन मुद्दामा कम्पनीका रूपमा दर्ता भई निजीस्तरमा सञ्चालित विद्यालयहरू तथा ती विद्यालयको स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिगत सम्पत्तिसरह स्वामित्वको एकलौटी हक भोकको आफूखुशी भोग गर्ने, बेचबिखन गर्ने एवम् दानदातव्य गर्ने, एकलौटी अधिकार उपभोग गर्न नपाउने भन्दै कम्पनीको नाममा रहेका जायजेथा, सम्पत्तिमा एउटा व्यक्तिको रूपमा कम्पनीको आफ्नै हक हुने भएकाले कम्पनीका सञ्चालक तथा शेयरधनीहरूले कम्पनी ऐनलगायतको कानूनी व्यवस्था एवम् कम्पनीको प्रबन्धपत्र एवम् नियमावलीले प्रदान गरेको अधिकार र कर्तव्यको परिधिभित्र रही कम्पनी सञ्चालन गर्नुपर्ने हुन्छ । कम्पनीको सम्पत्ति आफूखुशी गर्न वा अंशबन्डाको विषय बनाउन नमिल्ने भनी सर्वोच्च अदालतबाट व्याख्या भएको छ । यो फैसलाबाट कम्पनीको सम्पत्तिको भोग कम्पनी स्वयम्ले गर्न पाउँछ, कम्पनीका शेयरधनीले आफूखुशी गर्न पाउँदैनन् भन्ने पुष्टि हुन्छ । 

पब्लिक कम्पनीको शेयर विक्री गर्न वा धितो बन्धक राख्न सकिन्छ । पब्लिक कम्पनीमध्ये सूचीकृत नभएका कम्पनीका हकमा सम्बद्ध कम्पनीको शेयर शाखामा उपस्थित भई अग्राधिकार शेयरको हक हस्तान्तरण गर्न सकिन्छ । तर, प्राइभेट कम्पनीको हकमा उक्त कम्पनीको प्रबन्धपत्र, नियमावाली वा सर्वसम्मत सम्झौताको अधीनमा रहेरमात्र शेयर हस्तान्तरण गर्न सकिन्छ । कम्पनी ऐन, २०६३ ले कम्पनीका शेयरधनीलाई आफ्नो हकहित संरक्षण गर्न सम्पत्तिसम्बन्धी अधिकार प्रदान गरी आफ्नो व्यक्तिगत सम्पत्ति संरक्षण गर्नका लागि कानूनी उपचार प्राप्त गर्ने अधिकार उल्लेख गरिएको छ । तर, कम्पनीको सम्पत्तिमा शेयरधनीको नियन्त्रण कायम नभई त्यस्तो सम्पत्तिको उपभोग गर्न कम्पनी स्वतन्त्र रहेको हुन्छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्