ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यापारचिह्नको नीस वर्गीकरण 

के छ वर्गीकरणको उपादेयता

२०७६ चैत, ९  
लेख | दृष्टिकोण
NA
author avatar मधुसूदन पौड्याल

व्यापारचिह्नको नीस वर्गीकरण, १९५७ व्यापारचिह्नको खोजतलास र दर्ता अभिलेखमा प्रयोग हुन्छ । यो विश्वका १५० जति मुलुकले व्यवहारमा लागू गरेको अन्तरराष्ट्रिय वर्गीकरण पद्धति हो । यो पद्धति १९५७ मा दक्षिण पूर्वी फ्रान्सको सुन्दर पर्यटकीय नगरी नीसमा अन्योचित अनरराष्ट्रिय सम्मेलनमा सहमत गरिएको सम्झौतामा आधारित सन्धिको उपलब्धि भएकाले यसको नाम नीस वर्गीकरण रहन गएको हो । वर्गीकरणको प्रयोग गर्ने मुलुक धेरै भए पनि हालसम्म यस सन्धिमा हस्ताक्षर गर्ने पक्षधर मुलुक १३६ रहेका छन् । नेपाल सन्धिको पक्षधर नभए पनि विसं २०५३ सालदेखि व्यापारचि≈नको व्यवस्थापनमा नीस वर्गीकरण लागू गर्दै आएको छ । 

केही चिह्नहरू जस्तो सुपरिचित चिह्न र भौगोलिक संकेत जस्ता चिह्नहरूले व्यापक संरक्षण पाउँछन् तर व्यापारचिह्नले निश्चित वर्गमा मात्र (दर्ता गरिएको वर्गमा) संरक्षण पाउँछन् ।

व्यापारचिह्न दर्ता गर्दा सम्बद्ध वस्तु र सेवाको वर्ग निर्धारण गर्नु र अझ सो वर्गमा आफ्नो व्यापारचिह्नको स्थान सुरक्षित राख्नु चुनौतीपूर्ण कार्य हो । व्यापारचिह्नको संरक्षणको दृष्टिकोणले चि≈नलाई सही वर्गमा दर्ता गर्नु महत्त्वपूर्ण कदम हो । अन्तरराष्ट्रिय वर्गीकरणको मूलभूत प्रयोजन पनि व्यापारचिह्नको दर्ता नै हो । विभिन्न राष्ट्रले भोगेका समस्या तथा वर्गीकरण कार्यान्वयनमा देखिएको वाधा व्यवहारहरू र ती राष्ट्रका सुझावलाई समेत दृष्टिगत गरी नीस युनियनले वर्गीकरणलाई अद्यावधिक गर्दै लैजान्छ । वर्गीकरणमा २०१९ मा गरिएको एघारौं संस्करण हो । समग्र नीस वर्गीकरणमा वस्तुका ३४ र सेवाका ११ वर्ग गरी जम्मा ४५ वर्ग रहेका छन् । यी वर्गमा ११,००० को हाराहारीमा वस्तु र सेवाको सूची समावेश गरिएको छ । 

विश्व बौद्धिक सम्पत्ति संगठनले हरेक वर्ष वर्गीकरणको सूचीलाई अद्यावधिक गर्दै वर्गअनुसारका वस्तु र सेवाहरू तथा वस्तु र सेवाअनुसारका वर्गहरू भएका सूचीहरू दुई खण्डमा प्रकाशित गर्दै जान्छ । वस्तुका वर्गहरू वैज्ञानिक र क्रमबद्ध रहेका छन् । अनुभवी व्यवसायीले कुन वस्तु कुन वर्गमा पर्छन् भनी अनुमान गर्न सक्छन् । जस्तो वर्ग एकदेखि पाँचसम्म विभिन्न रासायनिक वस्तुका वर्ग पर्छन् । वर्ग एकमा कोरा प्रकृतिका कृषि तथा औद्योगिक रसायन पर्छन् भने वर्ग पाँचमा प्रशोधित प्रकृतिका मानव तथा पशुप्राणीको स्वास्थ्य उपचारका औषधिहरू पर्छन् । वर्ग ६ देखि १५ सम्म पूरा वा आंशिक रूपमा धातु पदार्थमा आधारित सरसामग्री पर्छन् । वर्ग ६ मा धातुजन्य कोरा प्रकृतिका वस्तुहरू पर्छन् । यसपछिका वर्गमा बढी परिष्कृत वस्तुहरू जस्तो वर्ग १२ मा सवारीसाधन पर्छन् । वर्ग १६ देखि एक्काइससम्म गैरधातु पदार्थबाट बनेका वस्तु पर्छन् । जस्तो १६ मा कागज र त्यसमा आधारित सामान पर्छन् भने एक्काइसमा प्लास्टिकका भान्छा तथा घरायसी प्रयोजनका सामानहरू पर्छन् । 

वर्ग २२ देखि २८ सम्म रेसा तथा कपडाजन्य पदार्थ र तिनमा आधारित सरसामग्रीहरू पर्छन्, जस्तो वर्ग २२ मा कोरा प्रकृतिका कपडा र रेसा पदार्थ पर्छन् भने वर्ग २८ मा विभिन्न खेलकुदमा प्रयोग हुने सरसामग्री पर्छन् । वर्ग २९ देखि ३४ सम्म भोजन र सेवनका लागि प्रयोग गरिने विभिन्न वस्तु पर्छन् । जस्तो वर्ग २९ मा माछा ,मासु, दूध, फलफूल तरकारीजस्ता वस्तु पर्छन् भने वर्ग ३४ मा धूम्रपान सेवनकर्ताले प्रयोग गर्ने वस्तु पर्छन् । यथार्थमा कुनै वस्तु खास कुन वर्गमा पर्छ भन्ने कुरा निरूपण गर्न विश्व बौद्धिक संगठन (बिपो) को वेबसाइटमा गएर वस्तु र सेवाको वर्गीकरण तालिकामा उल्लिखित वस्तुहरूको सूची हेर्न सकिन्छ । अथवा उद्योग विभागको परामर्श लिन पनि सकिन्छ । कुनै वस्तुको जगेडा पार्टपुर्जा वा सहयोगी वस्तु पनि मुख्य वस्तु परेको वर्गमा नै पर्छ । जस्तो वर्ग ३४ मा सुर्तीजन्य पदार्थ पर्छ भने त्यसको सेवन गर्दा चाहिने सलाई पनि वर्ग ३४ मा नै पर्छ । 

वस्तुहरूको तुलनामा सेवाको संख्या थोरै भएकाले ३५ देखि ४५ सम्मका ११ वर्गहरूमात्र सेवाक्षेत्रका लागि सुरक्षित राखिएको छ । जस्तो वर्ग ३५ मा विज्ञापन र व्यवस्थापन सेवा पर्दछन् भने वर्ग ४५ मा व्यक्तिगत प्रकृतिका तथा कानूनी र सामाजिक सेवा कार्य पर्छन् । व्यापारचिह्न व्यवस्थापनमा वर्गले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । नयाँ आवेदनकर्ताका लागि कुनै मुलुकमा कसैको नाममा सो प्रस्तावित चिह्न पहिले नै दर्ता रहेको छ छैन भनी खोजतलास गर्ने आधार वर्गीकरण नै हो । वर्गीकरण नभएको भए खोजतलास असम्भव नभए पनि ज्यादै जटिल र गाह्रो हुने थियो । फेरि दर्ता गर्ने भनेको निश्चित वर्गमा नै हो । सुपरिचित चिह्नले जस्तो एउटा ट्रेडमार्कले धरै वर्गमा संरक्षण पाउँदैन र पाए पनि त्यो अति खर्चिलो हुन्छ । दर्ता गरिसकेको चिह्नका प्रयोगकर्ताले संरक्षण प्राप्त गर्न पनि वर्गीकरणकै सहयोग चाहिन्छ । 

केही चिह्न जस्तो सुपरिचित चिह्न र भौगोलिक संकेतजस्ता चि≈नहरूले व्यापक संरक्षण पाउँछन् । तर, व्यापारचिह्नले निश्चित वर्गमा मात्र (दर्ता गरिएको वर्गमा) संरक्षण पाउँछन् । दोस्रो कुरा स्वदेशमा वा विदेशमा कुनै प्रतिस्पर्धीले सो चिह्नको नक्कल गरेर समान प्रकारका वस्तु वा सेवाको कारोबार गरेका छन् छैनन् भनी रेखदेख वा खोजतलास गर्ने उपकरण पनि वर्गीकरण नै हो । व्यापारचिह्नको व्यवस्थापन गर्ने सरकारी निकायले पनि वर्गीकरणविना व्यवस्थापन गर्न नसक्ने भएकाले यो व्यवस्थापकीय उपकरण पनि हो । जस्तो क्याटलग तयार पार्न, फाइलहरू खोज्न, चि≈नहरूको खोजतलास गर्न तथा दर्ता, नवीकरण, नामसारी आदि सम्पादन गर्न पनि वर्ग हेर्नुपर्ने हुन्छ । वर्गीकरणका प्रयोगकर्तामा सदस्य राष्ट्रहरू र गैरसदस्य राष्ट्रसमेत गरी विश्वका १५० मुलुक, बिपो, क्षेत्रीय बौद्धिक सम्पत्ति कार्यालयहरूमा अफ्रिकन बौद्धिक सम्पत्ति संगठन, अफ्रिकन क्षेत्रीय बौद्धिक सम्पत्ति संगठन, बेनुलक्स, र युरोपेली संघ आदि छन् । कुनैकुनै मुलुकको आफ्नै राष्ट्रिय वर्गीकरण भए पनि त्यसलाई उनीहरूले अन्तरराष्ट्रिय वर्गीकरणसँग मिलान गर्ने (हार्माेनाइज) गर्छन् । 

कुनैकुनै ख्यातिप्राप्त वा सुपरिचित चिह्नको मान्यता पाएका व्यापारचिह्नको सबै वा धेरै वर्गमा फराकिलो गरी संरक्षण पाउने कानूनी मान्यता हुन्छ । यस्ता चिह्नको उपस्थितिले गर्दा लक्षित व्यापारचिह्नसँग मेल खाएमा त्यो दर्ता नहुन पनि सक्छ ।

व्यापारचिह्नका प्रयोगकर्ताले कुनै मुलुकमा आवेदन गर्नुपर्दा पहिले नै कुनकुन वर्गमा दर्ता गर्ने भन्ने कुरा निधो गर्नुपर्छ । नीस वर्गीकरणको पालना गर्ने मुलुकमा पनि कहिलेकाहीँ एउटा र अर्को मुलुकले मान्यता दिएको संस्करण फरक पर्न सक्छ । कुनैकुनै वस्तु एउटा संस्करणमा एउटा वर्गमा परेको पनि अर्काे संस्करणमा बेग्लै वर्गमा पनि परेको हुन सक्छ । कहिलेकाहीँ मुलुकअनुसारको कानूनको व्यवस्था र लचकताले पनि फरक पार्न सक्छ । त्यसैले अन्तरराष्ट्रिय आवेदन गर्दा यस्ता कुरा विचार गर्नुपर्छ र सबै पक्ष विचार गरेर आवेदन दिने र विवरण हेरफेर गर्ने नगर्ने कुराको निधो गर्नुपर्छ ।
 
आवेदन गर्दा अर्काे विचार पुर्‍याउनु पर्ने कुरा संरक्षणको दायरा हो । कुनैकुनै ख्यातिप्राप्त वा सुपरिचित चिह्नको मान्यता पाएका व्यापारचि≈नको सबै वा धेरै वर्गमा फराकिलो गरी संरक्षण पाउने कानूनी मान्यता हुन्छ । यस्ता चि≈नको उपस्थितिले गर्दा लक्षित व्यापारचिह्नसँग मेल खाएमा त्यो दर्ता नहुन पनि सक्छ । धेरैजसो मुलुकको कानूनले खास वस्तुमा प्रयोग गरिने व्यापारचि≈नलाई बढी शुल्क तिरेर १ भन्दा बढी वर्गमा दर्ता गर्ने अनुमति दिन्छन् । प्लास्टिकको बाल्टीलाई वर्ग २१ मा र वर्ग १७ मा पनि दर्ता गर्न सकिन्छ । बच्चाले लगाउने छालाका ज्याकेट वर्ग १८ मा र वर्ग २५ मा पनि दर्ता गर्न सकिन्छ । यस्तो अवस्थामा दुवै वर्गका लागि आवेदन गरेर बढी फराकिलो संरक्षण प्राप्त गर्न सकिन्छ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्